coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

‘सडक विस्तारमा स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्छ’

प्रेमलाल श्रेष्ठ, वडाध्यक्ष
नागार्जुन नपा–३

वडाध्यक्ष भएपछि जनताले महसुस गर्ने गरी के काम गर्नुभयो ?
रत्नपार्क, कारखाना चोक आदेश्वर हुँदै इचंगुनारायणसम्म माइक्रोबस सेवा पहिलोपटक सञ्चालन गरेका छौँ । चिसापानी, इचंगुनारायण, सत्तल चौर, धोलुंगे, चौतारा पुल, हल्चोक, रातोमाटे, वडा कार्यालयवरिपरि र पाँचधारालगायत टोलमा स्थानीयवासी, संघसंस्था र विद्यालयको सहयोगमा सरसफाइ एवंजनचेतनामूलक कार्यक्रम सम्पन्न गर्‍यौँ । स्वयम्भू वनस्थलीसम्मको चक्रपथ सरसफाइ कार्यक्रममा हामीले वडाको तर्फबाट प्रतिनिधित्व गरेका थियौँ ।

वडा कार्यालयपछाडि सेफ्टी ट्यांकी मर्मत गरेका छौँ । इचंगुनारायण मन्दिरको दक्षिणतर्फ सत्तल निर्माण गर्न सहयोग गरेका छौँ । यस वर्षको इचंगुनारायण मेला सफल पार्न हामीले धेरै सहयोग गर्‍यौँ । चिसापानी, लक्जोल, तीनधारा, पाँचधारा, क्रिस्टल एकेडेमीसँगैको बाटो र ककपिट टोलको बाटो ढलान कार्य सम्पन्न गरिसकेका छौँ । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय, बंगलामुखी विशेष कार्यदलसँगको समन्वयमा वडा कार्यालयदेखि मूल सडक, स्वयम्भू चक्रपथसम्मको बाटो मर्मत गरेका छौँ । सत्तल चौर र चिसापानी कुवा गैह्री चौरस्थित खेलकुद मैदानको स्तरोन्नति गरियो । रातोमाटे टोलमा डोजर लगाई बाटो सम्याउने र सरसफाइ गर्ने काम गरिसकेका छौँ । विभिन्न संघ–संस्थाले आयोजना गरेका स्वास्थ्य शिविरमा वडा कार्यालयले सहकार्य गरेको छ ।

वडाबासीले धुलोधुवाँको समस्या कहिलेसम्म झेल्नुपर्ने हो ?
वडामा धुलोधुवाँले गम्भीर समस्या निम्ताइरहेको छ । धुलोधुवाँ नियन्त्रणका लागि वडा कार्यालयले सडक विभाग, डिभिजन सडक कार्यालय, नगरपालिका र प्रदेश सांसदसँग समन्वय गरेर योजना बनाइरहेको छ । सम्भवतः धुलोधुवाँलाई छिटै नियन्त्रणमा ल्याउनेछौँ ।

वडाका प्रायः सडक बिग्रेका छन्, कहिलेसम्म बनाउनुहुन्छ ?
वडामा भएका मुख्य सडकलाई व्यवस्थित गर्न नगरसभाबाट मापदण्ड पारित गरिसकेका छौँ । वडा कार्यालयले भत्किएका र खाल्डा परेका सडकको नियमित अनुगमनका साथै मर्मतसम्भारको प्रारम्भिक काम थालेका छौँ । स्वयम्भू चक्रपथबाट इचंगुनारायण मन्दिर हुँदै रामकोट जाने बाटो नौ मिटर चौडाइ कायम गर्न नक्सापास मापदण्ड लागू भइसकेको छ । साथै बाटो विस्तारसम्बन्धी काम छिटो गर्न निरन्तर पहल गरिरहेका छौँ । स्वयम्भूदेखि इचंगुसम्म बाटोमा जथाभावी पार्किङ, फुटपाथ पसल, निर्माण सामग्री थुपार्न नपाइने निर्णय गरी प्रभावकारी कार्यान्वयन गरेका छौँ ।

सडक विस्तार गर्दा कसैको व्यक्तिगत घर–जग्गा परेमा उनीहरूलाई उचित क्षतिपूर्ति र मुआब्जा दिनुपर्छ भन्ने वडा कार्यालयको जोडदार माग छ । त्यसका लागि पटकपटक सरोकारवाला पक्षसँग छलफल गरिरहेको छु ।

नगरपरिषद्मा कस्ता योजना अघि सार्नुभएको छ ?
वडाको दिगो विकासका लागि सम्पूर्ण क्षेत्रलाई समेट्ने गरी नगरपरिषद्मा योजना तथा कार्यक्रम पेस गरेको छु । इचंगुनारायण मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्न प्रस्ताव पेस गरेको छु । वडा कार्यालयले दीर्घकालीन योजनाका रूपमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमुनि साइकलिङ मार्ग निर्माण, विष्णुदेव मन्दिर निर्माण गर्ने योजना बनाएको छ । त्यसको साथै पुलहरू निर्माण, फ्री वाइफाई जोन, ज्येष्ठ नागरिक वाचनालय, कम्प्युटर तालिम, युवाका लागि व्यायाम सामग्री खरिद गर्ने लगायत योजना अघि सारेको छु।

सडक विस्तारका मुद्दा किन अघि बढ्न सकेका छैनन् ?
सडक विस्तार एक अति महत्वपूर्ण विषय हो । यसका लागि नेपाल सरकारका सम्बन्धित निकायसँग आवश्यक सहकार्य गरिरहेका छौँ । सडक विस्तार गर्दा कसैको व्यक्तिगत घर–जग्गा परेमा उनीहरूलाई उचित क्षतिपूर्ति र मुआब्जा दिनुपर्छ भन्ने वडा कार्यालयको जोडदार माग छ । त्यसका लागि पटकपटक सरोकारवाला पक्षसँग छलफल गरिरहेको छु । चरणबद्ध छलफल गर्नुपरेको र समयमा सुनुवाइ नभएकाले केही ढिला भएको हो । सडक विस्तारलाई हामीले पहिलो प्राथमिकता दिएका छौँ र चाँडै नै नौ मिटर चौडाइको बाटो विस्तार हुँदै छ ।

वडालाई कस्तो बनाउँदै हुनुहुन्छ ?
वडालाई स्वच्छ, सफा र समृद्ध बनाउने हाम्रो लक्ष्य छ । इचंगुनारायण मन्दिर, हल्चोक भैरव, वीर भगवती आदि सम्पदालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहल गरिरहेका छौँ । यो वडालाई नगरकै नमुना बनाउने लक्ष्य साथ काममा संलग्न छौँ ।

वडामा इचंगुनारायणलगायत महत्वपूर्ण धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा छन्, त्यसको प्रवर्द्धनमा के योजना छ ?
उपत्यकाका चार नारायणमध्ये एक इचंगुनारायण मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्न युनेस्कोलाई अनुरोध गरिरहेका छौँ । यसको विकासका लागि गुरुयोजना बनाइरहेका छौँ । मन्दिर परिसरमा नयाँ भवन निर्माणाधीन छन्, एउटा सत्तल बनाइसकेका छौँ । केदारनाथ बद्रीनाथ, वीरभगवती र विष्णुदेवी मन्दिर संरक्षण संवद्र्धनका लागि आवश्यक काम भइरहेको छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पदयात्राका लागि जान सजिलो होस् भनेर हाइकिङ मार्ग बनाउने हाम्रो सोच छ । पर्यटकको सुविधालाई ध्यानमा राख्दै स्वयम्भूदेखि चिसापानीसम्म नौ मिटर फराकिलो बाटो बनाउने योजना पनि बनाएका छौँ ।

वडामा गरिब, बेरोजगार र सीमान्तीकृत वर्ग पनि छन्, उनीहरूको जीवनस्तर सुधार्न के योजना छ ?
गरिब, बेरोजगार र सीमान्तीकृत वर्गलाई विकासको मूलधारमा ल्याउन सीप सिकाएर आत्मनिर्भर बनाउनुपर्छ भन्ने हाम्रो मान्यता छ । त्यसैअनुरूप यी वर्गलाई लक्षित गरी होमस्टे, कम्प्युटर, फेल्ट आदि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेका छौँ । ती तालिम सिकेर उनीहरूले आफ्नै व्यवसाय गरी जीवन निर्वाह गर्न सक्छन् ।
वडामा विकास निर्माणको अवस्था कस्तो छ ?
विकास निर्माणको काम समयमै सम्पन्न नहुने समस्या व्याप्त छ । विकास निर्माणलाई अझै प्रभावकारी बनाउन म आफैँ खट्ने गरेको छु । कहिलेकाहीँ त श्रमदान समेत गरेको छु । विकास निर्माणको हरेक योजनाको अनुगमन गर्दै आइरहेको छु । वडावासीले विकास निर्माणका धेरै नै माग गरिराखेका छन् । तर, वडा कार्यालयसँग सीमित स्रोतसाधन र बजेट भएकाले समस्या भइरहेको छ ।
प्रस्तुति :माधव अधिकारी

 

प्रकाशित: १८ फाल्गुन २०७४ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App