coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

तन्नेरी होली हंगामा

काठमाडौंको वसन्तपुर क्षेत्र अनुहारमा विभिन्न थरीका रंग पोतिएका युवाले खचाखच भरिएको थियो । परम्परागत पोसाकको साटो उनीहरूले ‘ह्याप्पी होली’ लेखिएका टिसर्ट लगाएका थिए।

बिहीबार दिउँसो वसन्तपुर दरबार क्षेत्र पुग्दा सेतो टिसर्टमा सजिएका युवायुवती एकअर्कालाई अबिर लगाइदिँदै रमाइरहेका थिए । कोही ठेलमठेल गर्दै अघि बढ्न खोज्दै थिए भने कोही नाच्न र गाउन मस्त थिए ।देशका अन्य पहाडी क्षेत्रसहित बिहीबार राजधानीमा पनि होली मनाइयो । होलीमा बालबालिकादेखि वृद्धवृद्धा समेत सहभागी भए । तर वसन्तपुर पुग्दा लाग्थ्यो, होलीमा युवायुवतीले जस्तो रमाइलो अन्यले सायदै गरे।

‘ह्याप्पी होली लेखिएका टि–सर्ट’ लगाएर भद्रकालीबाट वसन्तपुरतर्फ लाग्ने युवायुवतीको जमात ठूलो थियो । त्यही मेसोमा भेटिए भक्तपुर कौशलटारका रमेश बस्नेत । उनले वसन्तपुर क्षेत्रमा आएर होली मनाउन थालेको तीन वर्ष भएको सुनाए । ‘अरु ठाउँमा भन्दा वसन्तपुर नै रमाइलो लाग्छ, उपत्यकाका तीन जिल्ला र विदेशी पर्यटक यहाँ आउँछन्,’ उनले भने, ‘त्यसैले पनि वसन्तुरमा होली खेल्न रमाइलो लाग्छ ।’
अनेकौँ रङ अनुहारमा लगाएर रमाउँदै गरेका कृष्ण थापाले पनि होलीको मुकाम बनाए वसन्तुपरलाई नै । उनको अनुभवमा पछिल्ला वर्षमा काठमाडौं र बाहिरबाट आएकाले पनि वसन्तपुर क्षेत्रमै पुगेर होली मनाउने गरेका छन् । ‘अन्य ठाउँमा भन्दा वसन्तपुरमै रमाइलो लाग्छ,’ उनले भने, ‘सबै साथीहरू यहीँ आउने भएकाले म पनि आएको हुँ ।’

होलीको अवसरमा विभिन्न चोक–चोकमा सांगीतिक कार्यक्रम आयोजना गरिएका थिए । सरकारले राजधानीलगायत पहाडी जिल्लामा सार्वजनिक विदा दिएको थियो ।बिहीबार पहाडी क्षेत्र र उपत्यकाका सहरमा उल्लास र रमाइलोका साथ होली मनाइएको हो ।होली एकआपसमा स्नेह र सद्भाव बाँड्ने पर्वका रुपमा विकास हुँदै गएको संस्कृतिविद् चुण्डा बज्राचार्यले बताइन्।

‘होलीमा रमाउने प्रायः युवा नै हुन्छन्,’ उनले भनिन्, ‘पहिले–पहिले अलि पाका व्यक्ति होली खेलेको देखिन्थ्यो अहिले ठ्याक्कै उल्टो भएको छ, होलीमा लगभग युवा मात्रै समावेश छन् भन्दा फरक नपर्ला ।’
उनका अनुसार नेपालमा होलीको सुरुवात कहिले भएको भन्ने यकिन इतिहास भने छैन । तर, फागु पर्वको रूपमा होली मनाउने प्रचलन सयौँ वर्ष अघिदेखि चलिआएको हो । ‘होली विभिन्न रङ, अबिर र लोला खेली देशैभर मनाइन्छ,’ उनले भनिन्, ‘यसले आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिएको छ ।’

होलीलाई लक्षित गरेर उपत्यकामा पाँच हजार सुरक्षाकर्मी खटाइएको थियो । उपत्यकाका वसन्तपुर, टुँडिखेल, नयाँ बानेश्वर, चक्रपथलगायत मुख्य क्षेत्रमा बिहीबार होली मनाउनेको भीड थियो ।होलीलाई लक्षित गर्दै रङ बेच्न बस्नेले दिनमा १५ हजार आम्दानी भएको बताउँछन् । ‘दुई दिनमा कम्तीमा पनि ३० हजार रुपैयाँ कमाइन्छ,’ बिहीबार वसन्तपुर चोकमै विभिन्न थरीका रङ बेच्न बसेको उद्दत झाले भने, ‘यो रङ बिहारबाट ल्याउँछौँ ।’ उनले होलीमा रातो, सेतो, पहेँलो, हरियो, नीलोलगायत रङ धेरै बिक्ने गरेको सुनाए । ‘तिहारमा जस्तै होलीमा पनि धेरै थरीका टीका बिक्री हुन्छ,’ उनले भने, ‘अझ होलीमा राम्रो व्यवसाय हुन्छ ।’

होलीमा प्रयोग गर्ने कमसल र बढी तौल भएको टीकामा मिसाइएका सिसाका टुक्राले मानव स्वास्थ्यमा असर पार्ने चिकित्सक बताउँछन् । व्यवसायीले तौल बढाउन सिसाको प्रयोग गर्ने गरेको बताइन्छ । यस्ता रङबाट भने बच्नुपर्ने चिकित्सकको सुझाव छ ।

 

प्रकाशित: १८ फाल्गुन २०७४ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App