coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मध्य सहरमा ज्यानमारा पुल

पोखरा लेखनाथ महानगरको ४ र ५ वडालाई जोड्ने फिर्के खोलामाथिको पुल। तस्बिरः नागरिक

पोखरा- गत पुस १० गते राति साढे ११ बजे पोखरा लेखनाथ महानगरपालिका–४ फिर्केपुलमा मोटरसाइकल दुर्घटना हुँदा म्याग्दीको मंगला गाउँपालिका–५ का १९ वर्षीय तिलकबहादुर थापाको ज्यान गयो। थापाले चलाएको बा ३९ प ३०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका थापाको उपचारका क्रममा ज्यान गएको थियो।

मंगलबार राति साढे १० बजे त्यही फिर्केपुलमा मोटरसाइकल दुर्घटना हुँदा वर्ष २७ का ऋषिकेश पहारीको पनि ज्यान गयो । पहारीले चलाएको ग११ प६१२३ नम्बरको मोटरसाइकल दुर्घटनामा परी चालक पहारीको ज्यान गएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार त्यही दुर्घटनामा परेर मोटरसाइकलको पछाडि बसेका विमल थापा घाइते भए । उनको उपचार भइरहेको छ।

माथिका दुई दुर्घटना एउटै पुल (फिर्के) मा भएका हुन् । पोखरा सहरभित्रको व्यस्त सडकमा पर्ने पोखरा लेखनाथ महानगर– ४ र ५ वडा जोड्ने फिर्के पुल अहिले सबैभन्दा बढी दुर्घटनास्थल बनेको छ । प्रहरीका अनुसार पछिल्लो ६ महिनामा त्यही पुलमा करिब एकदर्जन दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर दुईजनाको ज्यान गइसकेको छ । अरू केही घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका मुद्दा शाखाका सई नरहरि अधिकारीले तीव्र गतिमा हुइँकिएका सवारी अचानक पुलमा आइपुग्दा झुक्किएर दुर्घटनामा पर्ने गरेको बताए ।

‘पुलको दुवैतिर फराकिलो सडक छ । फराकिलो सडकमा तीव्र गतिमा हुइँकिएका सवारी एक्कासि साँघुरो पुलमा पुग्दा नियन्त्रणबाहिर जान्छन्,’ अधिकारीले भने, ‘एक्कासि साँघुरो मुखमा पुग्दा दुर्घटनामा पर्छन् ।’ उनका अनुसार रातिको समयमा त्यहाँ बढी दुर्घटना हुने गरेको छ ।

जिरोकिलोमिटरदेखि विन्ध्यवासिनीसम्म सडक फराकिलो बनेर पूर्ण रूपमा सञ्चालनमा आएको करिब ६ महिना मात्र भएको छ । करिब तीन किलोमिटर सडक २४ मिटर फराकिलो भएपनि त्यसकै मध्यभागमा ६ मिटर चौडापुल छ । जुन पुल सडक विस्तार हुँदा पनि फैलिन सकेन ।

५० मिटर लामो पुलको दुवैतिर फराकिलो सडक छ । तर, जब तीव्र गतिमा हुइँकिएका सवारी पुलमा पुग्छन्, अचानक साँघुरो मुखमा पुग्दा रोकिन नसक्दा दुर्घटनामा पर्ने गरेका छन् ।

‘दुईतिरबाट हुइँकिएका सवारी एक्कासि पुलमा पुग्छन्, अनि अचानक रोकिन खोज्दा दुर्घटनामा परेका छन्,’ कास्कीका प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्री भन्छन्, ‘दुवैतिर सडक फराकिलो बन्यो, तर पुलले आकार बढाएन।’

फराकिलो सडकमा हुइँकिएका सवारी अचानक साँघुरो पुलमा पुग्दा नियन्त्रण गुमाएर दुर्घटनामा पर्ने गरेका छन् । ‘फिर्के पुल हाम्रा लागि टाउकोदुखाइ बन्ने गरेको छ । दिनहुँजसो साना–ठूला दुर्घटना हुने गरेको छ,’ उनले भने, ‘एकैनासको सडक ठानेर तीव्र गतिमा सवारी कुद्छन् । अनि एक्कासि साँघुरो पुलको मुखमा पुग्दा नियन्त्रणमा आउनै सक्दैनन् ।’

रातिको समयमा सबैभन्दा बढी दुर्घटना हुने गरेको उनले बताए । ‘साना सवारी झनै बढी दुर्घटनामा पर्ने गरेका छन्। मोटरसाइकल नियमित जसो दुर्घटनामा परिरहन्छन्,’ खत्रीले भने ।सडक साँघुरो भएको संकेत दिनेगरी चिह्न राखेपनि चालकले त्यसको मेसो नपाउँदा नियन्त्रण गुमाएर दुर्घटनामा पर्ने गरेको उनले बताए ।

‘मादक पदार्थ सेवन गरेर चलाउँदा झनै बढी जोखिम छ,’ उनले भने, ‘सडकसँगै पुल पनि विस्तार भएको भए यो अवस्था आउने थिएन । फिर्के पुल काल बनेर आएको छ ।’

पोखरामा सबैभन्दा फराकिलो बनेको यो सडक अहिले सर्वाधिक दुर्घटना हुने खण्डको रूपमा चिनिएको उनले बताए । ‘पुलमा मात्र नभई अन्यत्र फराकिलो सडकमा पनि सवारी दुर्घटनामा पर्ने गरेका छन्,’ उनले भने ।

सरकारले लामो समय लगाएर जिरो किलोमिटर–विन्ध्यवासिनी खण्ड ६ लेन बनाएको थियो । तर, फिर्केखोलामाथिको साँघुरो पुल भने बनेको थिएन । त्यही पुल अहिले दुर्घटनाको मुख्य कारक बनिरहेको छ ।

डिभिजन सडक कार्यालय पोखराका प्रमुख प्रेम खत्रीका अनुसार सडक डिजाइन हुँदा नै पुल बनाउन पाएको भए यस्तो दुर्घटना हुँदैनथ्यो । ‘बाटो र पुल सँगसँगै डिजाइन भएर बनाएको भए यो अवस्था आउने थिएन । सडक फराकिलो बन्यो तर पुल साँघुरै रह्यो,’ उनले भने, ‘त्यही पुलले अहिले दुर्घटना निम्त्याइरहेको छ ।’

तीव्रगतिमा रहेका सवारी एक्कासि साँघुरो ठाउँमा पुग्दा रोकिन नसक्दा दुर्घटनामा परेको हुनसक्ने उनले बताए । सडकमा दुर्घटना नहोस् भनेर सांकेतिक चिह्न राखेपनि चालकले बेवास्ता गर्दा दुर्घटनामा परेको हुनसक्ने उनले बताए।

खत्रीका अनुसार ५० मिटर लामो र ६ मिटर फराकिलो यो पुल विस्तारको तयारीअनुसार डिजाइन भइसकेको छ। हालको पुल अहिलेकै अवस्थामा रहेर त्यसको दायाँ र बायाँ २–२ लेन थपिने गरीपुल फराकिलो बनाउने तयारी भइरहेको छ ।

दायाँबायाँ थपिएपनि एकअर्कासँग तीनवटा पुल जोडिनेछैनन् । तीनवटा पुलको बीचमा केही भाग खालि रहनेछ। अहिले चल्तीमा रहेको पुल पूरै भत्काएर बनाउन नमिल्ने भएकाले दुईतिर थपिने उनले बताए।

‘दायाँबायाँ आधुनिक किसिमका पुल थपिनेछन् । त्यसको डिजाइन अन्तिम चरणमा पुगेको छ,’ उनले भने । उनका अनुसार त्यही पुलसँगै रहेको खानेपानी पाइप र सिँचाइको नाली हटाउन ढिलाइ भएकाले कामले गति नलिएको हो । तर, अबको एकमहिनाभित्र पुलको टेन्डर आह्वान हुँदैछ । उनका अनुसार करिब १७ करोड रुपैयाँ लागतमा पुल बन्नेछ।

‘दुवैतिर २–२ लेन थपिँदा पुल करिब २० मिटर चौडाको हुनेछ,’ खत्रीले भने, ‘पुल बनाउन केही जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले प्रक्रिया चलिरहेको छ ।’ उनका अनुसार पुल तयार पार्न करिब दुई वर्ष लाग्नेछ । यही सडक पार गरेर पोखराबाट धवलागिरी अञ्चलका विभिन्न जिल्लामा जाने सवारी पनि सञ्चालन हुन्छन् । त्यसले गर्दा पनि पुल व्यस्तमध्येमा पर्छ।

 

 

प्रकाशित: १८ फाल्गुन २०७४ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App