६ वैशाख २०८१ बिहीबार
शिक्षा

विद्यामन्दिरलाई ब्रिटिस वेलफेयरको साथ

बागलुङ – भूकम्पबाट क्षतिग्रस्त विद्यामन्दिर माविको भवन निर्माणका लागि ब्रिटिस वेलफेयर स्कीमले साथ दिएको छ। जिल्लाकै जेठो विद्यालयको रुपमा रहेको विद्यामन्दिर माविको भूकम्पले भवन क्षतविक्षत बनाएपछि पुनः निर्माणका लागि अभियान सञ्चालन गरिएको थियो। 

अभियन अन्तर्गत ब्रिटिस वेलफेयरले  विद्यालयको आठ कोठे भवन निर्माणका लागि सघाएको विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले बताए। ‘करिब एक करोड ३५ लाखको लागतमा ब्रिटिस वेलफेयरले आठकोठे भवन निर्माण थालेको छ,’ आचार्यले भने,  असार मसान्तसम्म भवन बनिसक्छ।’ 

नेपालमा भूकम्प गएलगत्तै बेलायती सेनाका भूतपूर्व सैनिकको घर निर्माण थालेको वेलफेयर स्कीमले अहिले विद्यालय भवनको निर्माणका लागि समेत सहयोग गर्न थालेको वेलफेयरका सव ईन्जिनियर लक्ष्मण मल्लले बताए। ‘आठ कोठा भवन र पाँच कोठाको शौचालय निर्माणमा वेलफेयरले सघाएको हो,’ सव ईन्जिनियर मल्लले भने, ‘यो वर्षको जून महिनासम्म निर्माण सकेर हस्तान्तरण गर्छौं।’

वेलफेयरले लेवर कन्ट्रयाक्टमा लिएर काम गरिररहेको उनले बताए। ‘हामीले गर्ने सहयोगको सबै काम हाम्रै मातहतबाट हुन्छ,’ उनले भने, ‘हामी आफैले काम सम्पन्न गरेर सम्बन्धीत निकायलाई हस्तान्तरण गर्ने हो।’ नेपाल पुनःनिर्माण प्राधिकरणको सबै मापदण्ड पूरा गरेर भवन निर्माण थालिएको उनले बताए। ‘पुनःनिर्माण प्राधिकरणबाट भवन पारित भएपछि हामीले निर्माण थालेका हौं,’ उनले भने, ‘नेपाल सरकारको भवन निर्माण सम्बन्धी सबै प्रक्रिया पूरा गरेको काम सुरु भएको छ।’ 

निर्माणाधीन भवनको शुक्रबार ब्रिटिस वेलफेयर स्कीमका डेपुटी डाईरेक्टर जोन ह्वाईटले अवलोकन गरेका छन्। निर्माणाधीन भवनको अबलोकनसँगै उनले विद्यालय परिवारसँग समेत छलफल गरेका थिए।

करिब ७० वर्ष पहिले निर्माण भएको विद्यालय भवन भूकम्पले तहस नहस पारेपछि विभीन्न दाताहरुको सहयोगमा निर्माण थालिएको भवन निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारीले बताए। ‘भूकम्पले पूरै भवन क्षति पु-याएपछि विभीन्न ठाउँमा सहयोगका लागि पुग्यौ,’ उनले भने, ‘गतवर्ष लगाएको महायज्ञबाट पनि करिब पाँच करोड रुपैयाँ संकलन भयो। यी यस्तै सहयोगहरुबाट भवन निर्माणका काम सुरु भएको छ। 

अबको एक वर्ष भित्र भवन निर्माणका सबै काम सक्ने तयारीमा रहेको समेत उनले बताए। ‘ब्रिटिस वेलफेयरको भवन असारसम्म सकिने भन्ने छ, जिल्ला शिक्षा कार्यालयको ६० लाख र विद्यालयको १० लाख गरी ७० लाखमा महिला छात्रावासको ढलान सकिसकेका छौं,’ उनले भने, ‘महायज्ञबाट संकलित रकमबाट पनि भवनका काम चलिरहको छ।’ 

विद्यालयको भवन निर्माणसँगै गुणस्तरीय शिक्षाका लागि पहल गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताए। ‘एक वर्षमा भौतिक संरचना निर्माणका काम सबै सकिन्छ,’ उनले भने, ‘त्यसपछि उच्च शिक्षाका लागि स्नातक तह धौलागिरिमा नभएका विषयमा सञ्चालन गर्ने सोचाई बनाएका छौं। यहाँको खुला विद्यालयलाई पनि व्यवस्थित गराउने योजना छ।’ अहिले विद्यामन्दिर माविमा एक हजार तीन सय बढी विद्यार्थीले अध्ययन गर्दै आईरहेका छन्। 

प्रकाशित: १८ फाल्गुन २०७४ १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App