८ वैशाख २०८१ शनिबार
अन्य

नयाँ साथी बनाउन होली

होली, रंगको पर्व । आपसमा रंग छ्यापेर मनाइने होली बिहीबार पहाड र शुक्रबार तराईमा धुमधामले मनाइयो । होली एकअर्कालाई रङ लगाउने मात्रै होइन, नयाँ–नयाँ साथी बनाउने अवसर पनि बनिदिन्छ । ‘ह्याप्पी होली’ भन्दै रंग दलिदिँदा नचिनेकाबीच पनि मित्रता गाँसिन सक्छ। 

होली पुरानो मनमुटाव हटाउने तथा नयाँ मित्रता कायम गराउनेमा मात्रै सीमित छैन । होलीले जीवनको रंग देखाउँछ, अर्थात् युवकयुवतीबीच प्रेमिल सम्बन्धमा परिणत गराइदिन्छ । त्यहीमध्ये पर्छन्, ओखलढुंगाका नरेन्द्र पौडेल र सिन्धुलीकी सिर्जना खड्का (नाम परिवर्तन)।

नरेन्द्रले कलेज पढ्दा सिर्जनालाई मनपराउँथे, तर सिर्जनाले उनलाई बेवास्ता गर्थिन् । कलेजका साथी मिलेर होली खेल्दा नरेन्द्रले अबिर भन्दै सिर्जनाको सिउँदोमा सिन्दुर लगाए । त्यसपछि भने सिर्जनाले नरेन्द्रलाई पनि मायाले हेर्न थालिन् । ‘केटा मान्छेले सिन्दुर लगाइदिएपछि माया बढ्दोरहेछ,’ सिर्जनाले भनिन्, ‘त्यसपछि नै हो मैले नरेन्द्रलाई मनपराउन थालेको।’

होली पुरानो मनमुटाव हटाउने तथा नयाँ मित्रता कायम गराउनेमा मात्रै सीमित छैन । होलीले जीवनको रंग देखाउँछ, अर्थात् युवाबीच प्रेमिल सम्बन्धमा परिणत गराइदिन्छ ।

होलीले नरेन्द्र र सिर्जना जस्ता धेरै जोडीको जीवनमा रंग भरिदिएको छ । साथीभाइ एकआपसमा नजिक भएर होली मनाउँदा मनलाई नजिक बनाइदिने गरेको अनुभव सुनाउँछन्, पेप्सीकोलाका अशोक बराल । ‘साथीहरू भेला भएर रंग दल्दै खुसी साटासाट गरेर होली मनाउँदा सम्बन्ध कसिलो हुन्छ,’ बरालले भने । आफ्नो प्रेमी–पे्रमिकासँग होली खेल्दा माया प्रगाढ हुने कुरा स्विर्काछन् उनी । ‘विवाह गर्दा सिन्दुर लगाउनुपर्छ,’ उनले भने, ‘विवाहअगाडि नै होलीको अवसर पारेर सिन्दुर सिउँदोमा हाल्दा भने माया बढ्छ।’ 

भक्तपुरकी तस्बिरा सुवेदीलाई भने होलीले जीवनकै रंग भर्छ जस्तो लाग्दैन । होली पर्व भएकाले होलीमा रमाउँदा सम्बन्ध जोडिन्छ भनेर सोच्नु पनि बेकार रहेको सुवेदी बताउँछिन् । ‘चाड पर्वमा रमाइलो गर्दा जे पनि हुन्छ नि,’ उनले भनिन्, ‘होलीमा अरुले सिउँदोमा सिन्दुर हाल्दियो भन्दैमा माया बढ्ने भए त सबैसँग सम्बन्ध गासिँन्थ्यो होला।’ 

उनी साथीसँगको सम्बन्ध भने प्रगाढ हुने बताउँछिन् । बिहीबार होली खेल्नकै लागि भक्तपुरबाट वसन्तपुर पुगेकी उनले पनि केही समयमै धेरैलाई साथी बनाएकी थिइन् । ‘होली खेल्ने क्रममा चिनेका–नचिनेका सबैलाई रंग दलिन्छ,’ उनले भनिन्, ‘जसले गर्दा नचिनेको साथीहरूसँग पनि चिनजान गर्ने मौका पाइन्छ ।’ आजकाल एक चिनजानमै सामाजिक सञ्जालबाट सम्बन्ध गाँस्न सजिलो हुने भएकाले पनि होलीले साथी जोड्ने गरेको अनुभव उनीसँग छ । अघिल्लो वर्ष होली खेल्ने क्रममै चिनेका साथी अहिले सामाजिक सञ्जालमार्फत उनीसँग नजिक छन्। 

होलीको बेलामा एक अर्काबीच नजिक हुन सजिलो हुने अनुभव छ, जोरपाटीका सरोज न्यौपानेको। ‘हामीले चिनेको एकजना साथी हुन्छ, उसले चिनेको धेरैजना साथी हुन्छन्,’ न्यौपानेले भने, ‘साथीका साथीहरूसँग चिनजानमा होलीको अघिपछि धेरै समय लाग्छ भने होलीको दिन एक दुई घन्टामै उनको स्वभाव बुझ्न सकिन्छ ।’ उनको अनुभवमा पनि होलीले एकअर्काबीच सम्बन्ध नजिक गराउँछ । तर, होलीले मायालु नै जुराउँछ जस्तो चाहिँ उनलाई पनि लाग्दैन। ‘चिनजानपछि सम्बन्ध मायालुमा परिणत हुन सक्ला,’ उनले भने, ‘त्यही दिन चिनजान भएर त्यही दिन माया बस्छ भन्ने पक्कै हुन सक्दैन।’ 

पहिल्यैदेखि चिनजान भएर मनको कुरा व्यक्त गर्न नसकेकाका लागि मायालु सम्बन्ध बनाउन सहज हुने अनुमान उनको छ । होलीमा शारीरिक स्पर्श गर्न मिल्ने भएकाले मायानुभूति हुन सक्ने उनी बताउँछन्। 

रत्नराज्य कलेजमा स्नातकोत्तर अध्ययनरत सन्ध्या भट्टराई भने सम्बन्ध नजिक बनाउन नसक्नेका लागि पनि होलीको महŒव रहेको बताउँछिन् । ‘होलीमा माया मिसिएको हुन्छ, यसमा शंका छैन,’ उनी भन्छिन्, ‘मनपरेकी केटीलाई प्रेमिका बनाउन नसक्नेले समेत मायानुभूत गराउँछन् ।’ उनका अनुसार मनपरेकी केटीलाई माया साट्न नपाएपछि होलीको अवसरमा सिउँदोमा सिन्दुर हालिदिएर रहर पूरा गर्ने केटा समेत छन्। 

यसरी स्वार्थ राखेर होली खेल्नुचाहिँ विकृति रहेको उनी बताउँछिन् । होली रंगको पर्व भए पनि होलीको दिन मैले फलानो केटीलाई सिन्दुर हालेँ भनेर हल्ला गर्दै हिँड्नु गलत रहेको उनको धारणा छ। 

उनका अनुसार मनपरेकी केटी तर विवाह गर्न नपाएपछि ‘मलाई तिम्रो सिउँदो रंग्याउने मन हो, विवाह गरेर जीवन काट्न नसके पनि होलीमै भए पनि सिउँदो रंग्याउँछु’ भन्दै केटाले आफ्नो बेहोरा देखाउँछन् । ‘होलीको दिन होस् वा अरु दिन केटा मान्छेले केटीको सिउँदोमा सिन्दुर हाल्दैमा फरक त केही पर्दैन,’ उनले भनिन्, ‘तर पनि किन केटाहरू त्यस्तो सोच्छन्, मलाई अचम्म लाग्छ ।’

प्रकाशित: १९ फाल्गुन २०७४ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App