coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘वुमन स्टार’को अन्त्य

गत साता दुबईमा बाथटबमा डुबेर मृत्यु भएकी भनिएकी श्रीदेवी बलिउडकी नायिका मात्र थिइनन्, सन् १९६३ मा जन्मिएकी उनी यस्ती भारतीय सुपरस्टार थिइन्, जसले तीनवटा ठूला फिल्मी उद्योगहरू कलिउड, टलिउड र बलिउडमा राज गरेकी थिइन्।

कलिउडमा तामिल, टलिउडमा तेलगु र बलिउडमा हिन्दी भाषाका फिल्म बन्छन् । उनले अधिकांश कन्नड र मल्यालम सिनेमामा समेत कलाको जादु देखाएकी थिइन्।पितृसत्तात्मक भारतीय चलचित्र व्यापारमा महिलाले यति धेरै तहल्का मच्चाउन सक्नु निकै कठिन हो । यस्तो अवस्थामा पनि श्रीदेवी एक्लैले त्यस्तो उचाइ हासिल गरिन्, जुन अरु कुनै महिला कलाकारले प्राप्त गर्न सकेनन् । भारतका विभिन्न राज्य तथा भाषाका सिमानारूपी बाधालाई चिर्दै उनी बक्स अफिसमा सफल चलचित्र दिन र ‘स्टार्डम’ कायम राख्न सफल भइन् । पुरुष भएकै कारण भारतीय चलचित्र उद्योगका धेरै पुरुष कलाकारले पाउने प्राथमिकतालाई पनि उनले चुनौती दिइन्।

गत साताको उनको असामयिक निधनले भारतीय चलचित्र उद्योग अहिले शोकमा छ । चलचित्र उद्योग मात्र नभई भारत स्वन्त्रता इतिहासपछि बिरलै देखिने ऐक्यबद्धता समेत आमभारतीयमा देखिन पुगेको छ ।
‘मेरो प्रेरणाको स्रोत अब रहिनन्,’ बलिउडकी अर्की शीर्ष स्टार विद्या बालनले आइतबार ट्विट गर्दै भनेकी थिइन् । श्रीदेवीसँग करिब दुई दर्जन चलचित्रमा सँगै काम गरेका उनीभन्दा वरिष्ठ कलिउडका कमल हसनले लेखे, ‘मैले एक किशोरी श्रीदेवीदेखि चामत्कारिक महिला श्रीदेवीसम्मको जीवन देखेको छु, उनी स्टार बन्नका लागि योग्य थिइन् ।’भारतीय पत्रिका ‘द हिन्दु’ले सन् १९७० को दशकमा श्रीदेवी बालिका हुँदा सँगै काम गरेका कन्नड कलाकार लीलाभाथीले भावुक हुँदै भनेको कुरा पनि हालै छापेको छ । ‘उनी हाम्रै अगाडि उदाउँदै गइन् र अहिले हाम्रै अगाडि अस्ताइन्,’ उमेरले आठ दशक नाघेका उनले भनेका छन्।

गत शनिबार दुबईमा उनको निधन भएको खबर सार्वजनिक भएलगत्तै भारतमा रहेका उनका फ्यानहरू र कलाकारहरू मात्र होइन, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र विभिन्न राज्यका मुख्यमन्त्रीहरू समेतको श्रद्धाञ्जली बर्सिएको थियो ।सन् १९६३ अगस्ट १३ मा जन्मिएकी श्रीदेवीको न्वारानको नाम श्री अम्मा यांगर आयापन थियो, पछि उनले ‘श्रीदेवी’ मात्र राखिन् र त्यही नामले चर्चा बटुलिन्।

उनले तीन सयभन्दा बढी फिल्ममा अभिनय गरिन्, जसमध्ये धेरै निर्माण ८० र ९० को दशकमा बलिउडमा भएका थिए । १९८३ को ‘मवाली’, १९८४ को ‘तोफा’, १९८६ को ‘नगिना’, १९८७ को ‘मिस्टर इन्डिया’, १९८९ ‘चाँदनी’, १९९१ को ‘लम्हे’ र १९९३ को ‘गुमराह’ उनी अभिनीत निकै चर्चित बलिउड फिल्म हुन् । यिनै फिल्मले श्रीदेवीलाई बलिउडमा स्थापित नायिका बनाएको थियो ।श्रीदेवीले सन् १९६० को दशकमा तमिल र मल्यालाम भाषाको चलचित्रमा बाल कलाकारका रूपमा अभिनय सुरु गरेकी थिइन् । कलिलो उमेरमै परिपक्व कलाकारजस्तो भूमिका निर्वाह गरेको देखेर उनलाई निर्देशकको मागमा परेकी थिइन्।

सन् १९७० दशकको सुरुवाततिरै उनले मल्यालम भाषाको चलचित्र ‘पुमबट्टा’मा खेलेको बालकलाकारको भूमिकामा उनले उत्कृष्ट बाल कलाकारको केराता स्टेट फिल्म अवार्ड जितेकी थिइन् । यो चलचित्रमा उनको शीर्ष भूमिका थियो । त्यो नै उनको पहिलो अवार्ड यात्रा थियो । उनले जीवनका पाँच दशक अभिनय यात्रामै बिताइन् । श्रीदेवीले पाँच भाषाका दुई सय ५० भन्दा बढी चलचित्र र केही टेलिभिजन सिरियलमा समेत काम गरिन्।

सन् १९७० को दशकमा उनी तमिल र तेलगु चलचित्रमा व्यस्त भइन् । सन् १९७० र १९८० को दशकमा ती भाषाका चलचित्रमा उनको राज नै चल्यो । त्यो अवधिमा उनले केही कन्नाड र करिब दुई दर्जन मल्यालम भाषाका चलचित्रमा अभिनय गरिन्।

किशोरी अवस्थामै उनले के बालाचन्दरको तमिल भाषाको चलचित्र ‘मुन्द्रु मुडिचु’मा सकुशल अभिनय गरेकी थिइन् । सन् १९७६ मा बनेको यो चलचित्रमा उनले प्रेमीको मृत्युका लागि जिम्मेवार एक पुरुषको बदला लिने महिलाको भूमिका निभाएकी थिइन् । जुन अहिलेसम्म पनि उनको उत्कृष्ट चलचित्रका रूपमा सम्झना गरिन्छ।

सन् १९८२ मा बालु महेन्द्रको निर्देशन बनेको तमिल भाषाकै अर्को चलचित्र ‘मुन्द्राम पिराइ’मा उनले कार दुर्घटनापछि ‘रेट्रोग्रेड एम्नेसिया’बाट पीडित महिलाको भूमिका निर्वाह गरिन् । यो चलचित्र व्यापारिक रूपमा निकै सफल भयो, जसले उनको करिअरमा महत्वपूर्ण परिवर्तन ल्यायो । त्यही चलचित्रको कथा लिएर महेन्द्रले सन् १९८३ मा हिन्दी भाषामा श्रीदेवी र कमल हसनलाई राखेर ‘सद्मा’ बनाए । ‘सद्मा’ले हिन्दी भाषामा पनि निकै चर्चा पायो।

अन्य भाषाका चलचित्रमा बलिउड प्रवेश गरेकी श्रीदेवीलाई ‘सद्मा’ले उत्तर भारतका दर्शकमाझ चिनाएको थियो । उनले त्यस फिल्ममा देखाएको बहुमुखी प्रतिभाले धेरैलाई आकर्षित गर्‍यो । बलिउड प्रवेशपछि उनी अभिनीत पहिलो चलचित्र सोल्वा सावन थियो । त्यसपछि अर्को चलचित्र ‘हिम्मतवाला’ ले निकै तहल्का पिट्यो । चलचित्रको गीत र नृत्य यति धेरै हिट भयो कि त्योभन्दा अगाडि सायदै गीत र नृत्य त्यसरी हिट भएका थिए ।सन् १९८० को दशक उनका लागि धेरै भाषाको चलचित्रमै काम गरेर बित्यो । सन् १९९० मा उनले धेरै समय हिन्दी भाषाका चलचित्रमा काम गरेर बिताइन् । त्यो समयमा उनले थोरै मात्र अन्य भाषाका चलचित्रमा काम गरिन् ।

बलिउडमा काम गर्न सुरु गर्दा उनी केही भड्किला खालका प्रोडक्सनहरूमा संलग्न भइन्, जसलाई आलोचकले ‘बी ग्रेड’का प्रोडक्सन भन्ने गर्थे । तर, उनका अघिल्ला ‘हिट’ चलचित्रकै कारण उनलाई बलिउडको पहिलो महिला सुपरस्टार भन्न थालिएको थियो । उनले बिस्तारै ख्याति कमाउँदै र आफूलाई बजारमा स्थापित गराउँदै लगिन्।

सन् १९९६ मा प्रोड्युसर बोनी कपुरसँग बिहे गर्दासम्म उनका चलचित्रहरू बक्स अफिसमा चम्किन छाडिसकेका थिए । सन् १९९७ मा ‘जुदाइ’ हिन्दी चलचित्र हिट भएपछि उनले चलचित्र क्षेत्रबाट १५ वर्षका लागि विश्राम लिइन् । श्रीदेवीले त्यस समय आफूलाई सकेसम्म मूलधारबाट टाढा राख्न खोजिन् । दर्शकले भने उनलाई बिर्सन सकेनन्।

सन् १९९७ मा घरगृहस्थी सम्हाल्न बलिउडबाट ओझेल परेकी श्रीदेवी ४९ वर्षको उमेरमा २०१२ मा गौरी सिन्धेद्वारा निर्मित फिल्म ‘इंग्लिस भिंग्लिस’बाट ‘कम ब्याक’ भइन् । दर्शकले उनलाई सोही चलचित्रबाट पुनः स्वागत गरे । यो चलचित्रमा उनले अंग्रेजी नजानेर बारम्बार श्रीमान् र छोरीबाट गिज्याइएकी एक महिलाको भूमिका निभाएकी छिन् । आफन्तको बिहेमा अमेरिका पुगेकी उनले अंग्रेजी सिक्नका लागि गरेको संघर्षलाई पर्दामा उतारिएको छ।

उनले सन् २०१५ मा तमिल चलचित्र ‘पुली’मा अभिनय गरिन् । गत वर्ष निर्माण भएकोे चलचित्र ‘मम’मा उनले बलात्कारपीडित एक युवतीकी आमाको भूमिका निर्वाह गरेकी छन्, जुन उनका लागि ठूलो पर्दाको अन्तिम प्रस्तुति हुन पुग्यो।

महिला ‘स्टार’लाई कमजोर पुरुष सहकर्मीलाई दिइने जत्तिको सम्मान पनि बलिउडमा दिइँदैन । तर, त्यही चलचित्र उद्योगमा श्रीदेवीले भने महिला स्टारका रूपमा ठूलो सम्मान पाइन् । त्यसको श्रेय उनको अभिनयको बहुआयामिक र असाधारण खुबी, सुन्दरता, बेजोड नाच र गम्भीर एवं चुलबुले दुवै भूमिका निर्वाह गर्न सक्ने क्षमतालाई जान्छ । उनको यो क्षमताले बलिउडमा कतिपय पुरुष कलाकारको दाँजोमा महिला कलाकार अब्बल छन् भन्ने मान्यतालाई एक हिसाबले स्थापित समेत गराएको थियो।

श्रीदेवीको अभिनय र नाच जति प्रखर थियो, उत्तिकै उनको सुन्दरता पनि । उनको आँखामा देखिने गहन भावना ‘इंग्लिस भिंग्लिस’ चलचित्रको एक पात्रले भनेको ‘दूधको बादलमा दुई थोपा कफी’ जस्तै थियो ।
अभिनय र सुन्दरताको समिश्रण एवं विलक्षण प्रतिभाले गर्दा नै श्रीदेवी एक स्थिर ‘स्टार’ रहिन्, जो फिल्म सेटका क्यामेरामा सधै चम्किइन् । तर, मिडियासँगको अन्तक्र्रियामा भने उनी टाढा भागिन् । श्रीदेवी निकै लजालु थिइन् । बलिउडमा सामान्य मानिने फिल्मकर्मीले आयोजना गर्ने पार्टीबाट टाढै रहनका लागि उनी नामुद थिइन्।

अन्तर्वार्ता लिने व्यक्तिका लागि उनी सधैँ एउटा चुनौती थिइन् । उनको निजी सम्बन्धका कारण पनि सायद उनी मिडियाबाट टाढा रहन्थिन् । श्रीदेवीले दुई सन्तानका पितासँग विवाह गरेकी थिइन् । त्यसबारे मिडियामा गरिएको टिप्पणीले पनि उनलाई पत्रकारसँग संगत कम गर्न उत्प्रेरित गरेको हुन सक्छ ।
उनले चलचित्र उद्योगमा फर्कनका लागि पटकपटक प्लास्टिक सर्जरी गरेको हल्ला पनि आउने गथ्र्यो । यस्ता विवादास्पद कुरा र हल्लादेखि उनी वाक्क थिइन् सायद । त्यसैले त उनी पत्रकारसँग स्वतन्त्र रूपमा कुरा गर्न र हिमचिम बढाउन चाहन्नथिन् ।
(एजेन्सीको सहयोगमा)

 

प्रकाशित: १९ फाल्गुन २०७४ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App