coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

खोल्सामा फक्रिएको फूल

टिष्टुङको अध्याय रिट्रिट रिसोर्टमा विकेन्ड मनाउनेको भिड लाग्छ । कुनाको खोल्सामा पनि रिसोर्ट चलाउन सकिन्छ भन्ने उदाहरण पस्केका छन् अर्जुनसिंह ठकुरीले । 

पहाडी भुगोलमा रिसोर्ट खोल्न चाहनेहरु सामान्यतः हिमाली दृश्य देखिने ठाउँ रोज्छन् । तर, टिष्टुङका अर्जुनसिंह ठकुरीले जन्मथलोको एउटा कुना रोजे । दुई वर्ष अघि त्यहाँ उनले करिब २ करोड रुपैयाँ खर्चेर ओम अध्याय रिट्रिट रिसोर्ट खोले । आज लगानी ७ करोड रुपैयाँ पुगिसक्यो । त्यहाँ शुक्रबारका दिन डेढ सय जना हाराहारीमा नेपालीको चहलपहल हुन्छ । उनीहरु एक रात बसेर फर्किन्छन्।  

रिसोर्टमा १८ कोठा, ४५ वटा टेन्ट, सेमिनार हल, डाइनिङ लगायत संरचना छन् । पच्चीस सय रुपैयाँको प्याकेजमा वेलकम ड्रिंक्स, डिनर, बेड र ब्रेकफास्ट सुविधा हुन्छ । टेन्टमा बस्दा प्याकेज मुल्य दुई सय रुपैयाँ सस्तो पर्छ । 
झट्ट हेर्दा चिटिक्क देखिन्छ रिसोर्ट क्षेत्र । त्यहाँ १८ जनाले रोजगारी पाएका छन् । त्यहाँ मिलेसम्म स्थानीय उत्पादन प्रयोग गरिन्छ । रिसोर्टले १२ रोपनी जमिन चर्चेको छ । त्यहाँ ठकुरीको थप १४ रोपनी जमिन छ। 

उनले पुख्र्यौली जमिन सदुपयोग गरेका । रिसोर्टको लोकप्रियतासँगै हौसिएका छन् उनी । ‘स्विमिङ पुल बनाउँदैछौं । आउँदो वर्ष १८ कोठा थप्नेछौं’, ३६ वर्षे ठकुरी भन्छन्, ‘१० रोपनी जमिनमा बर्ड फार्मिङ पनि सुरु गर्दैछौं ।’ 
सरकारले पाल्न इजाजत दिएका बट्टाई, कालिज लगायत चरा पाल्ने उनको योजना । चरा हेर्न र मासु खान तिनको प्रयोग गरिनेछ।

अचेल उनको रिसोर्टमा पुग्नेहरु कोही सुस्ताउँछन् । कोही पुल खेल्छन् । कोही पढ्छन् । अनि कोही वरपरका इन्द्रसरोवर, दामन, किवि फार्म, चित्लाङ, मुलाबारी, बज्रबाराही र कुन्छालतिर डुल्छन् । रिसोर्टमै स्पा र कोल्ड वाटर थेरापीको मज्जा पनि लिन्छन्।   

कुनामा रिसोर्ट खोल्नु आफैंमा दुस्साहस होइन त ? किन जोखिम मोले ठकुरीले ? 
‘व्यापारीहरु जोखिम मोल्न चाहँदैनन् । म उद्यमी हुँ’, ठकुरी भन्छन्, ‘उद्यमीहरु जोखिम मोलेरै नौलो काम गर्न चाहन्छन् । त्यही भएर मैलें जन्मथलोमा रिसोर्ट खोलेको हुँ ।’

पेशाले उनी कम्प्युटर इन्जिनियर हुन् । काठमाडौंमा सफ्टवेयर कम्पनी ‘एक्सेस किज’ चलाउँछन् । त्यहाँ ८५ जना कम्प्युटर इन्जियनर व्यस्त हुन्छन् । उनीहरु विश्वका ४२ वटा देशका लागि सफ्टवेयर बनाउँछन्। 

ठकुरी प्रायः काठमाडौंमा बस्छन् । आइटीमा रम्छन् । उनले सन् २००८ मा कम्प्युटर इन्जिनियरिङ गरेका हुन् भने त्यसको दुई वर्षपछि कम्पनी खोलेका । नयाँ सोच र नयाँ पनले काम गरेमा सफलता हात लाग्ने उनको अनुभव छ । 
उनले गाउँको रिसोर्टमा स्थानीयलाई रोजगारी दिएका छन् । टिष्टुङलाई चिनाउन उनको रिसोर्टले योगदान पुर्‍याउँदैछ । त्यहाँको भिडभाड देखेर रिसोर्ट बनाउने भन्दै वरपर धमाधम जमिन किन्नेहरु बढ्दैछन्।   

काठमाडौंको व्यस्त जीवनशैलीबाट हयाङआउट हुन अध्याय उपयुक्त छ । परिवार वा साथीसँग त्यहाँ रमाउन सकिन्छ । रिसोर्टसम्मै बाइक, जीप र कार लान सकिन्छ । 

प्रकाशित: १९ फाल्गुन २०७४ ०४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App