८ वैशाख २०८१ शनिबार
अर्थ

२० विमानस्थलमा इन्धन डिपो छैन

काठमाडौं – नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट हवाई इन्धन रक्सौल–सिमरा हुँदै ढुवानी गरेर ट्यांकरबाट काठमाडौं ल्याउँछ । काठमाडौं–सिमरा रुटमा उडान भर्ने हवाई जहाजले चाहेर पनि सिमरा विमानस्थलमा हवाई इन्धन भर्न पाउँदैनन्। 

आयल निगमले सिमरा विमानस्थलमा हवाई इन्धनको सुविधा नदिँदा विमान कम्पनीहरुले काठमाडौं मै इन्धन भर्ने गरेका छन्। 

सिमरामात्र होइन चितवनको भरपुर उडान गर्ने जहाजले पनि फर्किंदा चाहिने इन्धन काठमाडौंमै भरेर जानुपर्छ । निगमले भरतपुरमा पनि इन्धन डिपोको व्यवस्था गरेको छैन।

ती विमानस्थलमा हवाई इन्धन डिपो नहुँदा निगमले ती विमानस्थलकै छेउबाट ढुवानी गरेर हवाई इन्धन काठमाडौं ल्याउँछ । त्यहाँ उडान भर्ने हवाई कम्पनीले काठमाडौंमै इन्धन भरेर ती गन्तव्यमा उडान भर्छन् ।  यसले निगम र हवाई कम्पनी दुवैको खर्च बढेको छ।

सिमरा र भरतपुरमात्र नभएर मुलुकभर सञ्चालनमा रहेका २९ मध्ये नौवटा विमानस्थलमा मात्र निगमले हवाई इन्धन बिक्री गर्दै आएको छ । २० वटा विमानस्थलमा हवाई इन्धन डिपो नहुँदा हवाई कम्पनीहरुले सम्बन्धित एयरपोर्टमा जाँदाआउँदाको इन्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बोकेरै जानुपर्ने बाध्यता छ।

उडानको चाप रहेका विमानस्थलमा पनि हवाई इन्धनको व्यवस्था नहुँदा समस्या भएको नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक महेन्द्र खनालले बताए । ‘गन्तव्य विमानस्थलमा तेल हाल्न पाए उक्त तौल बराबर जहाजले यात्रु र कार्गो लैजान सक्छन्,’ खनालले भने, ‘धेरै उडान भएका विमानस्थलमा पनि हवाई इन्धन डिपो नहुँदा कठिनाइ भएको छ ।’ व्यापारिक रुपमा विमान कम्पनीलाई घाटा भएको खनालले बताए।

काठमाडौंमा सात हजार सात सय १०, विराटनगरमा दुई सय ८०, भैरहवा ५६, पोखरा ६४, नेपालगन्ज दुई सय ८०, सुर्खेत ६० र धनगढीमा ४५ किलोलिटरको क्षमता छ । मुलुकभर आठ हजार चार सय ९९ केएल हवाई इन्धन भण्डारण क्षमता भएको निगमले जनाएको छ । भद्रपुर र मन्थलीमा अस्थायी रुपमा हवाई इन्धन भर्ने व्यवस्था मिलाएको छ । 
सिमरा विमास्थल बारा, भरतपुर, जनकपुर, चन्द्रगढी झापा, दाङ, डोल्पा, जुम्ला, भोजपुर, बाजुरा, खानीडाँडा खोटाङ, मनाङ, फाप्लु सोलुखुम्बु, रामेछाप, रुकुम चौरजहारी, रुकुम सल्लेरी, रुम्जाटार ओखलढुंगा, रारा मुगु, सिमिकोट हुम्ला, ताप्लेजुङ, तेन्जिङ हिलारी सोलुखुम्बु र तुम्लिङटार विमानस्थल संखुवासभामा हवाई इन्धन डिपो छैन।

हवाई इन्धन डिपो विस्तार गर्नुपर्ने आवश्यकता रहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले स्वीकारे। ‘हवाई उडानको चाप भएका विमानस्थलमा इन्धन डिपो बनाउनु पर्नेछ,’ उनले भने, ‘त्यसको लागि तयारी गरिरहेका छौं । सिमरामा डिपो बनाए हवाई इन्धन ढुवानीको डेढ रुपैयाँ जोगिन्छ,’ भट्टराईले भने, ‘कतिपय अतिआवश्यक विमानस्थलमा पनि बनाउन सकेका छैनौं ।’  जनकपुर, सिमरा, भरतपुर, दाङ लगायत विमानस्थलमा इन्धन डिपो बनाउन निगमले पनि गृहकार्य गरिरहेको जनाएको छ ।

निगमको इन्जिनियरिङ क्षमता क्षीण हुँदै गएकाले पनि व्यवस्थापनमा कठिनाइ भएको भट्टराईले बताए । विमानस्थलमा हवाइ इन्धनको डिपो बनाउन नागरिक उड्डयन प्राविधिकरणको पनि तत्परता चाहिने निगमले जनाएको छ । ‘डिपो बनाउन जग्गा आवश्यक पर्छ,’ उनले भने, ‘जग्गा दियो भने काम अघि बढाउन तत्पर छौं।’

सबै विमानस्थलमा डिपो जरुरी नभएको निगमको भनाइ छ । कम उडान हुने र कच्ची धावनमार्ग भएका ठाउँमा आवश्यक रहेको भट्टराईले बताए । ‘कतिपय विमानस्थलमा गाडी पुगेको छैन,’ उनले भने।

डिपो विस्तारसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि नयाँ रिफ्युलर जोड्ने तयारी गरेको छ। अहिले हवाई इन्धन खपत पनि बढेको भट्टराईले बताए। ‘अहिले अधिकतम दैनिक सात लाख लिटरसम्म इन्धन बिक्री भइरहेको छ,’उनले भने, ‘इन्धन डिमाण्ड निकै बढेको छ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेशी १०, अन्तर्राष्ट्रिय २० एयरलाइन्सका दैनिक एक सय ८० हवाईजहाजले इन्धन भर्ने गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक करिब पाँचदेखि सात लाख लिटर इन्धन खपत हुन्छ। 
चारवटा रिफ्युलरको लागि टेन्डर आह्वान गरेको प्रवक्ता विरेन्द्र गोइतले बताए । आइटाको निर्देशन अनुसार निगमले डिपोमा पुरानो प्रविधिलाई स्तरोन्नति गर्दै  फिल्टरेसन सिस्टम परिवर्तन गर्ने तयारी गरेको छ । ‘हवाईजहाजमा इन्धन भर्न अत्याधुनिक फिल्टरसहितको प्रविधि प्रयोग गर्न लागिएको छ,’ उनले भने, ‘अहिलेको सिस्टम फेरेर अन्तर्राष्ट्रिय मापदण्डको बनाउन लागिएको हो ।’ यसमा सुधार गरेपछि युरो मापदण्ड अनुसार इन्धनको गुणस्तर सुधार हुनेछ। 

प्रकाशित: २० फाल्गुन २०७४ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App