coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

‘सातदोबाटो–गोदावरी सडकखण्ड विवादित छ’

गजेन्द्र महर्जन, मेयर गोदावरी नगरपालिका

नगरप्रमुखकोे जिम्मेवारी निभाइरहँदा कस्तो महसुस भइरहेछ ?

जिम्मेवारी बोध भइरहेको छ । एक हिसाबले खुसी पनि लागिरहेको छ । लामो समयदेखि दुःख पाउँदै आएका नगरवासीको थोरै भए पनि समस्या हल गर्न पाएको छु । जनता र राज्यबीच बसेर विकासका काम गर्न पाएको छु । यसले निकै दायित्वबोध पनि गराएको छ । स्थानीय तहको चुनाव नहुँदासम्म कर्मचारीले सकभर जनताको अत्यावश्यक काम गर्न समेत पन्छिने वा विभिन्न बहानाबाजी गरेर छल्ने गर्थे । जनप्रतिनिधि आएपछि कर्मचारीको व्यवहारमा पूर्ण रूपमा परिवर्तन आएको छ । जनप्रतिनिधि आएपछि जनताले सरल र सहज ढंगले सेवा पाइरहेका छन् । कानुन अभावमा केही कार्यसम्पादन गर्न असहज त पक्कै छ ।

नगरप्रमुख भएपछि नगरपालिकाभित्र के के काम गर्नुभयो ?
विगतमा पूरा नभएका, जनताले प्रत्यक्ष दुःख पाएका र मैले चुनावताका आश्वासन दिएका कामको थालनी गरिसकेको छु । ललितपुर गोदावरी क्षेत्रको मुख्य समस्या खानेपानी र सडक हो । यो क्षेत्रमा लामो समयदेखि खानेपानीको हाहाकार छ । नगरवासीहरू ट्वाइलेट जाने पानीसम्म किन्न बाध्य छन् ।

मैले चुनावका बेला मुख्य अजेन्डा नै यसैलाई बनाएको थिएँ । अहिले म नगरवासीको घर–घरमा धारो पुर्‍याउनका लागि खटेको छु । खानेपानीको बन्दोबस्त गर्ने काम भइरहेको छ।ललितपुर जिल्ला अस्पताल पाटन अस्पतालभित्र खुम्चिएर बसेको थियो, अहिले हामीले बज्रबाराहीमा सारेर २५ शड्ढयाको बनाएका छौँ । त्यस्तै, नगर क्षेत्रको शिक्षालाई सुधार गर्न हामीले निजी र सामुदायिक उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने योजना पनि यसै वर्षबाट थालेका छौँ ।

सातदोबाटो–गोदावरी सडकखण्ड चौडा बनाउने विषय विवादित छ । सरकारले उचित मुआब्जा नदिएको भन्दै स्थानीयले अवरोध गरेका छन् । अन्य कुराको रोकतोक नभएको भए मैले यो क्षेत्रका सडक मर्मत गरिसक्थेँ ।

जग्गा प्लटिङ र वन फँडानीले गोदावरी क्षेत्रमा भएका खानेपानीका पुराना मुहान् सुक्दै छन्, खानेपानीका लागि के योजना छ ?
हो, पहिले–पहिले यो क्षेत्रका मुहान्ले पूरै ललितपुरलाई खानेपानी पुग्थ्यो । अहिले यही क्षेत्रमै खानेपानीको हाहाकार छ । हामीले अहिले पानी आइरहेका केही मुहान, खोला र बोरिङ प्रयोग गरी घरघरमा खानेपानी पुर्‍याउने काम थालेका छौँ । त्यसका लागि डिप बोरिङ गर्ने र गोदावरीनजिकै पर्ने कोना खालाको पानी ल्याउन ड्याम तयार पार्ने काम भइरहेको छ । अबको केही महिनामै खानेपानीको समस्या हल हुन्छ ।

गोदावरी नगरपालिका जोड्ने मुख्य सडकखण्ड बेहाल छ, सडक मर्मततर्फ तपाईंको ध्यान किन गएन ?
हाम्रो नगरपालिकामा कालोपत्रे भत्किएर अधिकांश सडक लथालिंग छन् । सहज रूपमा हिँडडुल गर्न समेत अप्ठेरो भइरहेको छ । अहिले नगरपालिकाका अधिकांश सडकको अवस्था यस्तै छ । तर, यसमा हाम्रो मात्रै दोष छैन । हामीले त गर्ने भनेरै आवाज उठाउँदै योजना बनाएका छौँ, तर अदालतको स्टे–अडरका कारण अहिलेसम्म मेरो क्षेत्रका कुनै पनि सडक मर्मत गर्न पाइएको छैन । सरकारले स्थानीयलाई मुआब्जा नदिएकाले पनि यस्तो समस्या आएको हो । सातदोबाटो–गोदावरी सडकखण्ड चौडा बनाउने विषय विवादित छ । सरकारले उचित मुआब्जा नदिएको भन्दै स्थानीयले अवरोध गरेका छन् । अन्य कुराको रोकतोक नभएको भए मैले यो क्षेत्रका सडक मर्मत गरिसक्थेँ ।

सरकारलाई घचघच्याउने र अड्किएका काम गर्ने वातावरण मिलाउने जिम्मा तपाईंहरूकै होइन र ?
हो, तर विकास निर्माणका सबै काम माथिल्लो निकायसँगै ठोक्किन्छन् । मुआब्जाकै कुरा गर्दा, सरकारले नगरपालिकालाई बजेट छुट्याएको छ भने हामीले वितरण गर्ने हो । जुन शीर्षकमा बजेट आउँछ, त्यही शीर्षकमा खर्च गर्ने हो । स्थानीय सरकार भन्दैमा हाम्रो मनपरी चल्दैन । माथिल्लो निकायको मापदण्ड हेरेर काम गर्नुपर्ने हुन्छ ।

गोदावरी क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भइरहेको छ, रोक्ने कस्तो योजना छ ?
नगर क्षेत्रभित्र ठूलो मात्रामा सार्वजनिक जग्गा अतिक्रमण भइरहेको छ । बस्ती वरपरका केही भू–माफियाले सार्वजनिक जग्गा मिचेर आफ्नो स्वामित्वमा ल्याएका छन् । कतिपयले व्यक्तिगत जग्गा खण्डहर पारेका छन् । नगरपालिकाले अतिक्रमण भएका सार्वजनिक जग्गालाई आफ्नो मातहत ल्याउने प्रयास गरिरहेको छ । तर, निजी जग्गा भएका व्यक्तिलाई प्लटिङ नगर भन्ने अधिकार हामीलाई कानुनले दिएको छैन ।

नगर क्षेत्रमा अस्तव्यस्त सहरीकरण र जग्गा प्लटिङ भइरहेको छ नि ?
पहिले–पहिले गोदावरी क्षेत्र गाउँजस्तै थियो । अहिले अस्तव्यस्त भयो । यो सबै सहरीकरण र अनधिकृत जग्गा प्लटिङले पारेको असर हो । नगरपालिकाको अनुमतिविना जग्गा प्लटिङलाई रोक लगाउन र मापदण्डलाई कडाइ गर्न हामीले सक्छौँ ।

नगरपालिकालाई कस्तो बनाउने सपना देख्नुभएको छ ?
नगरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, खानेपानी र सडकको व्यवस्था गर्ने, व्यायामलगायत अन्य धेरै सुविधाका लागि पार्क निर्माण गर्ने, युवा तथा महिलालाई आर्यआर्जनमूलक सीप सिकाउनेलगायत योजना अघि सारेको छु । मेरो कार्यकालभित्र नगरपालिका र नगरवासी धेरै सुध्रिएको महसुस सबैले गर्नेछन् ।

पछिल्लो समय तपाईंको क्षेत्रमा ढुंगाखानीको विवाद चुलिएको छ, नगरप्रमुखले नै अवैध खानीहरू सञ्चालनको अनुमति दिएको भन्ने नगरवासीको आरोप छ नि ?
यो कुरा नितान्त गलत हो । हामीले अवैधानिक रूपमा सञ्चालन भएका खानी बरु बन्द गरिरहेका छौँ । केही समय भूकम्पपछिको पुनर्निर्माणमा सहयोग मिलोस् भनेर खुला छाडेका थियौँ, तर दुरुपयोग भएको थाहा पाएपछि बन्द गरेका छौँ । जनप्रतिनिधिहरू आउनुअघि बरु धेरै अवैध खानी थिए, ती अहिले बन्द भएका छन् । अहिले ललितपुरमा अनुमतिबाट सञ्चालन भएका २४ वटा खानी र क्रसर उद्योगहरू छन् ।
गोदावरीलाई पर्यटकीय क्षेत्रका रूपमा लिइन्छ, यसको प्रवदर्धनमा कस्ता योजना अघि सार्नुभएको छ ?
यो क्षेत्रलाई उपत्यकाकै फरक मानिन्छ । यहाँ सम्म ठाउँ र पार्क धेरै छन् । अन्तभन्दा हरियाली पनि छ । यसलाई कायम राख्न नगरपालिकाले वन फँडानी गर्न नदिने, खानेपानीका मुहान सफा राख्ने, सडक विस्तार गर्ने, पार्कहरू बनाउनेलगायत योजना अघि सारेको छ । यसका लागि हामीले आन्तरिक आम्दानी पनि बढाउने प्रयास गरिरहेका छौँ ।

कसरी बढाउँदै हुनुहुन्छ, आन्तरिक आम्दानी ?
मुख्यतः ठुल्ठूला करदातालाई करको दायरामा ल्याउने र पर्यटकको संख्या बढाउने किसिमका काम थालेका छौँ । हामीले कर संकलनलाई कडाइ गरेसँगै तीन महिनामा चार करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । करको दायरामा आउन नमानेका र दर्तैविना व्यवसाय गरेकाहरू अहिले दर्ता गर्न र कर तिर्न नगरपालिकामा आइरहेका छन् ।  
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २१ फाल्गुन २०७४ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App