coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कस्तो छ बोक्सीको घर?

काठमाडौं- रवि कस्तो राम्रो छ

सबैलाई मद्दत गर्छ

ठूलो मान्छे बन्नुपर्छ भन्छ

म पनि ठूलो मान्छे बन्छु

रवि जत्रै

तर रवि त मजत्रै छ (खितिति..हाँस्छे)

अ..अंग्रेजी पढाउने गुरुजत्रै...

एउटी भर्खरै फक्रन खोजेकी फूलजस्ती किशोरी आफैसँग संवाद गर्दै, खेल्दै कुद्दै जब घर पुग्छे। तब थाहा पाउँछे उसको बिहे हुँदैछ।

'आज मेरो बिहे गरिदिने रे, त्यो जुंगे दाईसँग,' घरमा आएका पाहुनातिर लक्षित गर्दै उसले पिपलको पातसँग कुरा गर्छे। 'आमा म बिहे गर्दिनँ, त्यो जुंगे दाइसँग त झन् गर्दै गर्दिनँ,' ऊ लाडे पल्टँदै बोल्छे, 'बरु त्यो रविसँग बिहे गर्दिनुस् न, मलाई सप्पै कुरा सिकाउँछ।'

रवि उसको स्कुले सहपाठी। उसलाई मन पर्छ। दृश्य बदलिन्छ। अँध्यारो रात। किर्थोको किरकिर अँध्यारो चिर्ने कोशिसमा। नजिकै पिपलको बोट। सुनसान अन्धकारले झन् डरलाग्दो देखिन्छ माहोल। हरर फिल्ममा जस्तै। धिपधिप उज्यालो अँध्यारोबीच जिंग्रिंग कपालकी एक महिला एक्कासि देखिन्छे। नजिक हुनेहरुको सातो जान्छ।

म बोक्सी हुँ बोक्सी

तन्त्रमन्त्र गर्न सक्छे

तेरो बच्चालाई कप्लकै खान सक्छे

तेरो लोग्नेलाई पुक्लुक्कै ढाल्न सक्छे।

फेरि उही पहिलेकै दृश्यमा फिर्छ नाटक। यसपछि के होला? जिज्ञासा मेट्नका लागि मण्डला थिएटरमा चलिरहेको नाटक 'बोक्सीको घर' हेर्नुपर्ने हुन्छ।

दर्शकको जिज्ञासा मेटाउने छिन् नाटकमा एकल अभिनय गरेकी सरिता गिरीले। उनले हरेक पात्र सजीव पार्न हिम्मत गरेकी छन्। सानी बालिका, जुंगेदाइ, मायालु रवि, घरकी आमा, निष्ठुर सासुससुरो अनि बोक्सी। यी सबै पात्रमा उनै एक्ली सरिताले अभिनय गरेकी छन्।

नाटकको सुरुवात जति तर्साउने खालको छ, त्यसको अन्त्य उतिकै कारुणिक छ। समाजमा मान्छेको मनमा बोक्सीको छाप कसरी बसेको छ त्यो प्रष्ट्याउने जमर्को लेखक तथा निर्देशक सुलक्षण भारतीले नाटकमार्फत् गरेका छन्। उनले नाटकमा बोक्सी हाम्रो समाजमा छ वा छैन भन्ने देखाउन खोजेका छन्।  पिपलको बोटमुनि बोक्सी बनेर बस्न वाध्य महिलाहरुको बाध्यता छोटो समयमै ओकल्न खोजिएको छ। लगभग पचास मिनेटको नाटक सकिएको दर्शकले चाल पनि पाउँदैनन्।

सानासाना विषयलाई जोड्ने प्रयास गर्दा कहिलेकाहीँ असन्तुलन देखिए पनि संवादले नाटकको भावलाई भत्किन दिँदैन। एउटै पात्रले धेरै पात्रको अभिनय गर्न पक्कै सजिलो काम होइन। सरिताले पात्र र परिवेश बुन्न हरप्रयास गरेकी छन्। मञ्चमा उत्रेदेखि अन्त्यसम्म उनी छाइरहन्छिन्।

दर्शक अब के होला भन्ने खुल्दुलीमा रहेकै बेला नाटक सकिन्छ। ‘सकिएको हैन होला,' दर्शकहरु अँध्यारोमा कानेखुसी गर्छन्, ‘बाँकी छ होला, बसुम न एकछिन।' त्यसपछि के हुन्छ? नाटकको सस्पेन्स नै त्यसपछि छ।

शुक्रबारदेखि मञ्चन भएको 'बोक्सीको घर' नाटक आगामी भदौ १२ सम्म चल्नेछ।

प्रकाशित: ३ भाद्र २०७३ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App