coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आर्थिक विकास र समृद्धिमा एकै मत

काठमाडौं – नयाँ संविधानअनुसार निर्वाचित प्रतिनिधिसभाकोे पहिलो बैठकलाई सम्बोधन गर्दै दलका शीर्ष नेताले आर्थिक विकास र समृद्धिको अजेन्डामा जोड दिनुपर्ने धारणा राखेका छन्।

प्रतिनिधिसभामा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शीर्ष नेताले मुलुकलाई विकास र आर्थिक समृद्धितर्फ उन्मुख गराउन बहस केन्द्रित हुनुपर्ने बताएका हुन्। शीर्ष नेताहरूको सम्बोधनसँगै प्रतिनिधिसभामा विकास र समृद्धिको अजेन्डाले बहसका रुपमा प्रवेश पाएको छ। 

यसअघिका संसद् बैठकमा राजनीतिक विषयमा मात्रै छलफल केन्द्रित गर्दै आएका दलका नेताले भने यसपटक पहिलो बैठकमै मुलुकलाई आर्थिक विकास र समृद्धितर्फ लैजानुपर्नेमा विशेष जोड दिएका छन्। सम्बोधन गर्ने सबैजसो नेताले आर्थिक समृद्धि र विकास अजेन्डामा सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

एमालेतर्फबाट धारणा राख्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको संविधान र शान्तिप्रक्रियालाई विश्वले प्रशंशा गरेको उल्लेख गर्दै राजनीतिक स्थिरता कायम हुँदै गएको बताए । ‘वाम गठबन्धनले सरकार बनाउन बहुमत पाएको छ, राजनीतिक स्थिरता पनि कायम हुँदै गएको छ, अबको अजेन्डा आर्थिक विकास र समृद्धिको हो, हुनुपर्छ,’, नेता नेपालले भने, ‘त्यसैले आर्थिक समृद्धि र विकासमा सबैको ध्यान जानुपर्छ, यसमा  हातेमालो गर्नुपर्छ।’ 

नेपालले तराई–काठमाडौं द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णदेखि जनकपुर, पशुपति र लुम्बिनीजस्ता क्षेत्रलाई धार्मिक  पर्यटनका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । राजनीतिक स्थायित्व तथा आर्थिक विकास र समृद्धिका लागि जनताले वाम गठबन्धनलाई सरकार बनाउन मत दिएको उल्लेख गर्दै उनले जनताको विश्वास र चाहना सरकारले पूरा गनुपर्ने बताए । ‘झन्डै दुईतिहाइ मत ल्याएको वाम गठबन्धनले अब अहंकार देखाउनुहुन्न र प्रतिपक्षमा रहेको कांग्रेसले पनि निराशा र असहयोगी व्यवहार देखाउनुहुन्न’, नेपालले भने, ‘अब मुलुकलाई कसरी आर्थिक उन्नति र विकासको दिशामा लैजाने सबैले आआफनो ठाउँबाट सोच्नुपर्छ ।’ नेपालजस्तो हावापानी र प्राकृतिक स्रोतले सम्पन्न देश कमै भएकाले सबै दत्तचित्तले लागे केही वर्षमै कायापलट हुने नेपालको भनाइ थियो।

बैठकलाई सम्बोधन गर्दै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाईं दिँदै मुुलुकको आर्थिक विकास र समृद्धिमा  सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
‘जलस्रोत र पर्यटनबाट देशले आर्थिक समृद्धि हासिल गर्न सक्छ, त्यसका लागि स्वदेशी र विदेशी लगानीको वातावरण बनाउनुहोस्,’ सरकारलाई सुझाव दिँदै देउवाले भने, ‘विरोधका लागि विरोध कांग्रेसले गर्दैन, आर्थिक विकास, समृद्धि र उन्नतिका लागि पूरापूर सहयोग गर्नेछ ।’ उनका अनुसार जलस्रोत र पर्यटनलाई प्राथमिकता दिएर अघि बढ्नसके मुलुकले चाँडै काँचुली फेर्न सक्नेछ। देउवाले शान्ति प्रक्रियाका बाँकी कार्यभार सम्पन्न गर्न पनि कांग्रेसले सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। 

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा ठूलो राजनीतिक परिवर्तन भइसकेकाले अब विद्रोह र आन्दोलन आवश्यक नभएको बताए । ‘अबको लडाइँ विकास र समृद्धिको हो, यो लडाइँमा सहभागी हुन सबैसँग अपिल गर्छु,’ दाहालले भने, ‘प्राकृतिक स्रोत र साधनलाई प्रयोग गरी उन्नति हासिल गर्नुपर्नेछ, विदेसिएका युवालाई स्वदेश फर्काउनुपर्नेछ, यो अभियानको सुरुवात गर्नुपर्नेछ।’ भारत र चीनपरस्त नभई नेपाल परस्त भएर देशको आर्थिक विकास र समृद्धिमा लाग्नुपर्ने पनि उनले बताए। 

दाहालले पूर्वाधार निर्माणमा केपी ओली नेतृत्वको सरकारले तीव्रता दिनुपर्ने बताए । राजमार्ग, बाटाघाटो, जलविद्युत्, पर्यटन, रेल्वे, अन्तर्राष्ट्रिय विमानस्थल निर्माणजस्ता कार्यलाई प्राथमिकतामा राख्न उनले सरकारलाई सुझाए। 
राजपाका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले पनि आर्थिक विकास र समृद्धिको अजेन्डामा समर्थन जनाउँदै हुम्ला र कर्णालीको भोकमरी विकाससूचक नभएको टिप्पणी गरे । ‘कर्णालीमा भोकमरीले कुनै नेपाली नमरोस्, सिटामोल नपाएर कुनै पहाडका मानिस नमरुन, यो हामी चाहन्छौं,’ महतोले भने, ‘रेमिट्यान्सले अब देश चल्दैन, युवालाई यहीं काम गर्ने वातावरण बनाउनुपर्छ, यहीं रोजगारी सिर्जना गर्नुपर्छ ।’ उनका अनुसार हिमाल, पहाड र तराई–मधेसका प्राकृतिक स्रोतसाधन अत्यधिक प्रयोग गरेर विकास निमार्णलाई गति दिनुपर्छ। 

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति र आर्थिक अजेन्डामा राज्यको एउटै नीति र दृष्टिकोण हुनुपर्नेमा जोड दिए । ‘राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीति र आर्थिक विकास र समृद्धिका अजेन्डा राष्ट्रहितमा हुनुपर्छ र यी विषयमा सबैको समान दृष्टिकोण बनाउनु जरुरी छ’, यादवले भने, ‘पार्टीअनुसार अलगअलग धारणा बनाउनुहुन्न, समान धारणा बनाउनुपर्छ, जो आजसम्म भएको छैन।’ 

उदारीकरण र निजीकरणका नाममा सरकारी कलकारखाना बिक्री गर्दा रोजगारीका लाखौं अवसर गुमेको दाबी गर्दै उनले विगतमा बेचिएका कलकारखाना पुनःसञ्चालन नीति बनाउन यादवले माग गरे । ‘बहुउपयोग भूमि नीति बनाउनु पर्छ, कृषियोग्य जमिनमा प्लटिङ रोक्नेदेखि जलस्रोत र पर्यटन विकाससम्मका दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ,’ यादवले भने, ‘विकासको मूल रहस्य भनेको शिक्षा हो, शिक्षानीतिमा व्यापक फेरबदल गरिनुपर्छ ।’  
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले आर्थिक समृद्धि र विकासको अजेन्डालाई मूर्तरुप दिन भ्रष्टाचार न्यूनीकरण र सुशासनमा जोड दिनुपर्ने बताइन् । ‘यो सरकारसँग जनताको विश्वास र भरोसा छ, यसलाई तोडने काम नगरियोस्,’ पौडेलले भनिन, ‘तपार्इं (वाम गठबन्धन) ले यसअघि गरेका प्रतिबद्धताका कारण जनताले मत दिएका हुन्, विकास र समृद्धि अबको अजेन्डा बन्नुपर्छ भन्नेमा हाम्रो पार्टीको समर्थन रहन्छ।’ 

नेमकिपाका प्रेम सुवालले ५ खर्ब ५५ अर्ब रुपैयाँबराबरको सामान आयात हुँदा मुलुकबाट जम्मा ४१ अर्ब रुपैयाँको मात्र मालसामान निर्यात भएको तथ्यांक पेस गर्दै व्यापार घाटा सन्तुलनमा ल्याउ ठूला दलको ध्यानाकषर्ण गराए । उनले भने, ‘अनावश्यक क्षेत्रमा खर्च कटौती गर्न सरकार हिच्किचाउनु हुन्न।’ 

बैठकमा बोल्ने अधिकांशले आर्थिक विकास र समृद्धिको अजेन्डामा आफूलाई केन्द्रित गरेका थिए। 

समृद्धिको अभियानमा प्रवेश गर्नुअघि संविधान संविधान संशोधसँगै समृद्धि अभियान 
प्रमुख राजनीतिक दलले आर्थिक समृद्धि र विकासका लागि जाहेर गरेको प्रतिबद्धतामा ऐक्यबद्धता जनाउँदै मधेसकेन्द्रित दलले संविधान संशोधन अजेन्डालाई तत्काल सम्बोधन गर्न माग गरेका छन्।

प्रतिनिधिसभा बैठकमा तराई–मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका नेताले संविधान संशोधनमा जोड दिए । समृद्धिको अभियानमा प्रवेश गर्नुअघि संविधान संशोधन अनिवार्य भएको बताए।

राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महत्तोले राजनीतिक द्वन्द्व निवारणका लागि संविधान संशोधन पहिलो सर्त रहेको बताए । ‘यो विवाद बढाउने समय होइन, यो आर्थिक विकास र समृद्धिसहित देशलाई जोडने समय हो,’ महत्तोले सरकारप्रति लक्षित गर्दै भने, ‘जनताको माग अनुसार सबैको संविधान बनाउनका लागि सशोधन गर्नुहोस्, त्यसका लागि छात्ती ठूलो बनाउनुहोस्।’ 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिँदै संशोधनका लागि ठूलो छात्ती बनाउन आग्रह गरेका हुन् । ‘हुम्ला र जुम्ला बस्नेलाई यो देशप्रति जति प्रेम छ मधेसका जनतालाई पनि उत्तिकै छ, यो गहिरो सम्बन्धलाई ख्याल गरियोस्,’ महतोले भने, ‘कसैलाई अपमान गर्ने तरिकाले अभिव्यक्ति नदिनुस्।’ 

उनले राष्ट्रवादको परिभाषा नश्लीय आधारमा नभई विविधताको नजरमा हुनुपर्ने तर्क गरे । ‘सांसदको सपथको दिन सदनमा जुन साँस्कृतिक र धार्मिक विविधता देखियो, त्यहीं नै खासमा नेपाल होे,’ महतोले भने, ‘यो मातृभूमिप्रति मधेसी जनताको असिम प्रेम छ, यो प्रेमलाई मूलधारमा समावेश गरिनुपर्छ।’ 

गोरखा र सिन्धुपाल्चोकमा भूकम्प र पहिरो जाँदा जसरी मधेसलाई दुख्छ त्यसैगरी सर्लाही र सिरहामा आगलागी हुदाँ काठमाडौं र पहाडलाई दुख्ने खालको सम्बन्ध बनाउन पनि महतोले सरकारलाई आग्रह गरे।

संघीय फोरमका अध्यक्ष उपेन्द्र्र यादवले संविधान जारी गर्दा काठमाडौंमा दीपावली र मधेसमा ‘ब्लाकआउट’ भएको विषय सम्झनुपर्ने भन्दै संशोधनमा जोड दिए । ‘संविधानका राम्रा पक्ष छन् । जस्तै गणतन्त्र, संघीयता, समावेशी र धर्मनिरपेक्षताजस्ता राम्रा विषय हुन,’ यादवले भने, ‘संशोधन र परिमार्जनमार्पmत त्रुटी र कमजोरी सुधार गर्दै जाऔं, जानुपर्छ ।’ अक्षर तलमाथि गर्न नहुने तर्क राखे संविधान असफल हुने चेतावनी पनि यादवले दिए।

संविधान संशोधनमा पार्टीको धारणा राख्दै कांग्रेस सभापति शेरबहादुर देउवाले समर्थन जनाउने प्रतिबद्धता व्यक्त गरे। ‘प्रधानमन्त्रीज्यूले संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको सुन्दा खुसी लागेको छ, संविधान संशोधनमा सफलता मिलोस्’, देउवाले भने, ‘हिजो राष्ट्रहितका पक्षमा संविधान संशोधन छैन भन्ने नै आजा संशोधनका पक्षमा देखिएकाले समर्थन जनाइन्छ।’ 

प्रकाशित: २३ फाल्गुन २०७४ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App