८ वैशाख २०८१ शनिबार
कला

एकल साँझ गर्दै रेखा

काठमाडौं– गीत ‘सिमसिमे पानीमा’को लेखन, संगीत र गायनबाट सांगीतिक यात्रा शुरु गरेकी गायिका रेखा शाह पहिलोपटक एकल साँझमा सुनिने भएकी छन् । गायनमा २५ वर्ष पुरा गरेको मौका पारी आगामी फागुन २४ गते बिहीबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजधानीमा गीतसहित रेखा प्रस्तुत हुन लागेकी हुन्।

रेखाको संस्था रेखा शाह फाउन्डेसनको आयोजनामा हुन लागेको कार्यक्रम उनले नारीको सम्मानार्थ गर्न लागेको बताइन् । ‘कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ,’उनले भनिन्,‘मार्च महिना नारी विशेष महिना हो । म आफै लैंगिक विषयको विद्यार्थी हुँ।

त्यसकारण नारीको सम्मानका निम्ति पनि कार्यक्रम गर्दैछु ।’ उनले कमजोर आर्थिक अवस्था भएका बालबालिकाको शिक्षादिक्षामा सहयोग गर्दै आइरहेको फाउन्डेसनले विभिन्न क्षेत्रका आधा दर्जन नारीहरूलाई नगद र ताम्रपत्रले सम्मानसमेत गर्ने बताइन्।

२०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत गायनमा ‘सिमसिमे पानीमा’ले प्रथम स्थान प्राप्त गरेपछि सांगीतिक क्षेत्रमा स्थापित भएकी गायिका शाह शास्त्रीय संगीतकी विद्यार्थी पनि हुन् । शास्त्रीय संगीतमा सिनियर डिप्लोमा अध्ययन गरिरहेकी उनले ‘द लाइन’, ‘आकृति’, ‘स्मृति’जस्ता एल्बमहरू प्रकाशन गरेकी छिन् । उनले गाएका ‘तिमीलाई केही हु“दै नहोस्’, ‘एक दिन तिमी फर्कि आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लै’, ‘पोखुँ भने’ लगायतका गीत चर्चित छन्।

एकल कार्यक्रममा रेखाले आफ्नासहित शान्ति ठटाल, डेजी बराइली, अरुणा लामा, नारायण गोपाल, तारादेवी, सरोज गोपाललगायतका गायक–गायिकाका डेढ दर्जन गीत सुनाउनेछिन् । कार्यक्रममा उनलाई ‘द लिजेन्ड व्यान्ड’ले वाद्यवादनमा र युगल गायनमा सुरजकुमार थापाले साथ दिनेछन्।

 

प्रकाशित: २३ फाल्गुन २०७४ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App