१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दर्शकको स्वाद मसलामै

काठमाडौं– नयाँ वर्ष २०७५ आउन अब करिब एक महिना बाँकी छ । नयाँ वर्ष आउन लाग्दा २०७४ मा रिलिज भएका फिल्महरुको व्यावसायिक हिसाबकिताब गर्ने काम सुरु भइसकेको छ।

यो वर्षको वैशाखदेखि फागुनसम्मको फिल्मको सूची नियाल्दा आधा दर्जन बढी फिल्मले मात्र सफलताको स्वाद चाख्न पाएका छन् । बाँकी फिल्म फ्लप भएका छन् । सफलताका पाएका फिल्मको फ्लेबर सबैको एकै किसिमको छ अर्थात सबै मसलेदार नै छन्।

असारमा रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु’देखि हाल प्रदर्शन भइरहेको फिल्म ‘कान्छी’सम्म आइपुग्दा प्रायः मसालेदार फिल्मले मात्र लगानी रिकभर गरेको पाइन्छ । धेरै प्रदर्शन र कमले मात्र सफलता पाउनुले पनि दर्शकको रुचि कस्ता फिल्ममा छ भन्ने प्रष्ट दखाउँछ।पछिल्लो समयमा मसालेदार फिल्मले सफलता पाइरहेको कुरामा निर्माता तथा निर्देशक आकाश अधिकारी सहमत छन् । ‘नेपाली फिल्ममा कोहीले एउटा फ्लेबरको फिल्म बनाएर सफलता पाउँदा त्यही फ्लेबरको फिल्म बनाउनेको ताँती लाग्छ।

फिल्म निर्माताहरू दर्शकलाई फरक स्वादको फिल्म दिनुपर्छ अथवा उनीहरुको स्वाद फेर्नुपर्छ भन्नेतिर ध्यान नै दिँदैनन,’आकाश भन्छन्,‘दर्शकलाई मसलेदार फिल्म मनपर्छ भन्ने कुरा रिलिज भएर सफलताको स्वाद चाखेका फिल्मलाई हेरे पुग्छ । जुन फिल्ममा दर्शकले रोमान्स, एक्सन, कमेडी विषयलाई पाउँछन्, तिनै फिल्मले सफलता पाएको उदाहरण हामीसँगै छन्।’

हाल रिलिज भइरहेको फिल्म ‘कान्छी’का निर्देशकसमेत रहेका आकाशले ‘कान्छी’ले दिनभरी खेती किसान गर्नेदेखि पारिवारिक काममा व्यस्त हुने विशेषत ग्रामीण समुदायका दर्शकलाई हलमा तान्न सफल भएको दाबी गरे । ‘हिन्दी सिरियल हेर्ने एउटा सर्कललाई पारिवारिक फ्लेबरको फिल्म ‘कान्छी’ ले हलसम्म तान्न सफल भएको मेरो ठम्याई छ ,’उनले भने , ‘अहिले फरक धारका फिल्म त बनिरहेका छन्।

तर ती फिल्मले आफूलाई उम्दा साबित गर्न सकेनन् । जसकारण दर्शकले ‘कान्छी’जस्ता मसलेदार पारिवारिक फिल्ममा आफूलाई आबद्ध गराए ।’ उनले जुन जन्राका फिल्म बनाए पनि दर्शक बाँध्ने किसिमको भएमा मात्र सफलताको स्वाद चाख्ने जनाए । संसारभरका फिल्ममा दर्शकले मूलधारका फिल्मप्रति ध्यान दिइरहेको उल्लेख गर्दै आकाशले समय–समयमा मसलेदारमा पनि नयाँ प्रयोग गरिनुपर्नेमा जोड दिए।

 यो वर्ष ८० हाराहारीमा फिल्म प्रदर्शन भए पनि ‘घामपानी’ ‘म यस्तो गीत गाउँछु’, ‘प्रेमगीत २’, ‘ए मेरो हजुर २’, ‘दुई रुपैंयाँ’, ‘छक्का पन्जा २’, ‘फाटेको जुत्ता’, र ‘कान्छी’ले मात्र नाफा  कमाएको आँकलन छ । उल्लेखित फिल्मको सूची हेर्दा सबै फिल्म मसालेदार रहेको देख्न सकिन्छ । रोमान्स, एक्सन, कमेडी फ्लेबरका यी फिल्मले दर्शकलाई राम्रै मनोरञ्जन दिए।

फिल्म समीक्षक तथा निर्देशक दीपेन्द्र लामा मसालेदार फिल्म मात्र चले भन्ने कुरामा सहमत राख्दैनन् । ‘जुनसुकै फिल्ममा पनि मसला त हुन्छ । हामीले हेर्दै आएका हरेक फिल्ममा केही न केही मसला हुन्छन्,’उनी भन्छन्,‘मसलाकै कारण फिल्म चल्यो भन्न मिल्दैन । निर्देशकको खुशी, कलाकारको अभिनयलगायतले पनि फिल्मको सफलता र असफलताको चित्रण गर्छ । कालोपोथी र सेतो सूर्य जस्ता वास्तविक कथाका फिल्मलाई पनि दर्शकले मनपराएका छन्।’

पारिवारिक र सामाजिक विषयका फिल्म चल्नुमा गीतको लोकप्रियता पनि प्रमुख कारक रहेको दीपेन्द्रको बुझाई छ । ‘कतिपय फिल्महरू गीतको लोकप्रियताकै कारण पनि चलेका छन् । कतिपय फिल्मले प्रोमोसनमा तडक भडक गरेर पनि फिल्म चलाएका छौं  ,’उनले भने ,‘एउटा फिल्म चल्यो भन्दैमा त्यही फ्लेबरका फिल्म बनाउनले फिल्म बिग्रिएका छन् । एउटा फिल्म चलेपछि अर्को फिल्म अलिक फरक किसिमले बनाउन सके त्यसमा पनि दर्शक तानिन सक्छन्।’

फिल्म चल्नु र राम्रा हुनु फरक कुरा हुन् । व्यवसायिक रुपमा सफल भएका फिल्मले निर्माताको गोजी भरे पनि सफल भनिएका कुनै पनि फिल्मले समीक्षक र बौद्धिक दर्शकबाट ताली पाएनन् । कुनै समय थियो राजेश हमालले यसैगरी निर्माताको गोजी भरिदिन्थे तर त्यही कालखण्ड आजभोलि नेपाली फिल्मका लागि अनुत्पादक भएको टिप्पणी गरिन्छ । ‘मसला’ फिल्म चल्ने रैछ भनेर पहिले झैं एकै खालका फिल्म बनाउने हो भने भोलि यो समय पनि हमालको कालखण्ड झैं अनुत्पादक हुने निश्चित छ।

 

प्रकाशित: २३ फाल्गुन २०७४ ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App