coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माउ पार्टीमा फर्किंदा ‘फलिफाप’

दाङ – पहिलो संविधानसभा निर्वाचनमा पार्टीलाई जिताउन अहम भूमिका निर्वाह गरेका माओवादी पूर्वी रुकुमका नेता पूर्ण घर्तीको राजनीतिक अजेन्डा त्यसको चार वर्षपछिसम्म उही रहेन । चार वर्षपछि भएको पछिल्लो संविधानसभा निर्वाचन (२०७०) मा उनी फरक लाइनमा उभिए । माओवादीबाट विभाजित मोहन वैद्य समूहमा सामेल भएका घर्तीको प्रमुख अजेन्डा नै बन्यो ‘चुनाव बहिस्कार’ । ‘निर्वाचन ठीक होइन’ भन्ने पार्टीगत सिद्धान्तलाई आत्मसाथ गरेका उनी निर्वाचन फेल गराउने अभियानमा सक्रिय बने । यहीबीचमा मोहन बैद्य समूह विभाजित बन्यो । घर्तीको मुड पनि फेरियो । 
नेता रामबहादुर थापाको समूहमा सामेल भएर पुनः पुरानै घर (माओवादी) मा फिरेका घर्तीका लागि ‘घर फिर्ता’ उनको राजनीतिक यात्रामै सबै भन्दा बढी फलिफाप सावित भइदियो । थापा समूहमा सामेल भएर बैद्यलाई छोडेका उनी माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार चुनिए । निर्वाचनमा विजयी माला पहिरिएका उनै घर्ती अहिले प्रदेश ५ को सभामुख चुनिए ।  ‘उहाँका लागि राजनीतिक यात्रामै सबैभन्दा ठूलो फलिफाप नै भएको हो,’ एक माओवादी नेताले भने, ‘सोझो अर्थमा भन्दा पुरानो घर उहाँका लागि भाग्यदाता भइदियो ।’ 

वैद्य समूहबाट पुरानो घर फिरेको ठूलो हिस्सा मात्रै हैन, माओवादीबाट विभक्त भएर अन्य पार्टी निर्माणमा लागेकालाई पनि अहिले पुरानो घर निकै उपलब्धिमूलक बनेको छ।

वैचारिक मतभेदका कारण माउ पार्टीलाई लात हानेर अर्कै समूहमा सहभागी माओवादी नेताहरूको ठूलो हिस्सा अहिले पुरानै घर फर्कियो । यति मात्रै हैन, एक दर्जन भन्दा बढी नेतालाई अहिले पुरानो घर निकै फलिफापसमेत भइदिएको छ । ‘मुड चेन्ज’कै कारण केही नेता हेभिवेटको सूचीमा पर्न सफल भएका छन्। 

यीमध्येका अर्का नेता हुन् रामबहादुर थापा । पछिल्लो संविधानसभा निर्वाचन बहिस्कारवादीमध्ये दोस्रो बरियताका नेता थिए थापा । मोहन बैद्य समूहका शीर्ष नेता थापाको बैद्यसँग राजनीतिक सहयात्रा लामो समय टिक्न सकेन । पुरानै घर फिरेका उनका लागि पनि घर फिर्ता अहोभाग्य सावित भइदियो । पुरानो घर प्रवेशसँगै राष्ट्रियसभा सदस्य बनेका थापा अहिले सरकारको महत्त्वपूर्ण मानिने गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने हैसियतमा पुगेका छन् । उनी वर्तमान सरकारमा गृहमन्त्री बनेका छन्। 

रोल्पाका कुलप्रसाद केसीका लागि पनि पुरानो घर फिर्ता नसोचेकै शुभ बनिदियो । पार्टीभित्रका कुशल संगठनकर्ताका रूपमा चिनिने केसी पनि रामबहादुर थापासँगै मोहन वैद्यलाई छोडेर पुरानो घर फिर्ता भएका थिए। रोल्पाबाट प्रदेशसभा सदस्यका लागि माओवादीबाट उम्मेदवार बनेका उनी प्रदेशसभा सदस्यमा विजयी बने । प्रदेश ५ को मुख्यमन्त्रीका बलियो दाबेदारका रूपमा प्रस्तुत भएका उनी अहिले आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । यो प्रदेशको सरकारमा माओवादीको नेतृत्वकर्ताका रूपमा रहेका उनका लागि पनि पुरानो घर नै  बरदान बनेको छ।   

पहिलो निर्वाचनमा कांग्रेस नेता खुमबहादुर खड्कालाई पराजित गर्दै संविधानसभा प्रवेश गरेका माओवादी नेता ईन्द्रजीत थारू पनि दोस्रो संविधानसभा निर्वाचनमा भने बहिस्कारवादी नेताका रूपमा उभिए । मोहन वैद्य समुहको केन्द्रीय नेता बनेका ईन्द्रजीतले दाङमा चलेको बहिस्कारवादी अभियानको नेतृत्व नै लिए । राजनीतिक प्रशिक्षणमा ‘पोख्त’ मानिने थारू अहिले प्रदेशसभा सदस्य चुनिए । उनका लागि पनि पुरानो घर फिर्ती सुखद हुन पुग्यो । फलिफाप भइदियो। माओवादी फिर्तासँगै उनी पनि दाङ क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित भए। 

थारूसँगै २०६४ मा निर्वाचित माओवादी नेतृ दामा शर्मालाई पनि पुरानो घर फलिफाप बन्यो । साविक क्षेत्र नम्बर २ बाट ०६४ मा संविधानसभा प्रवेश गरेकी उनी पनि ०७० को निर्वाचनमा भने मोहन निर्वाचन बहिस्कार अभियानमा थिइन्। तर अहिले माओवादीमा फिर्ता भएसँगै उनी पनि प्रदेशसभा सदस्य चुनिएकी छिन् । समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेकी उनी प्रदेश ५ माओवादी केन्द्रकी सचेतकसमेत हुन् । पछिल्लो संविधानसभा निर्वाचनसम्म बहिस्कार नीतिमै लागेका प्रदेश ६ का नरेश भण्डारी अहिले यो प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको कुर्सीमा छन्। उनी पनि रामबहादुर थापा समूहसँगै माओवादी केन्द्रमा फिर्ता भएका थिए । बाँकेका आइपी खरेल पनि ‘मुड चेन्ज’ पछि फलिफाप भएका अर्का नेता हुन् । पुरानो घर फिर्तासँगै उनले पनि प्रदेशसभा सदस्य बन्ने अवसर पाएका छन्।   
यति मात्रै हैन, पुरानो घर फिर्ता केही जोडीलाई नै फलिफाप भएको छ । यसमध्यको एक जोडी हो देव गुरुङ र यशोदा सुवेदीको । वैद्य समूहबाट पुरानो घर फिरेका उनीहरू अहिले दुबैजना प्रतिनीधिसभा प्रवेशको अवसर प्राप्त गरेका छन्।

वैद्य समूहबाट पुरानो घर फिरेको ठूलो हिस्सा मात्रै हैन, माओवादीबाट विभक्त भएर अन्य पार्टी निर्माणमा लागेकालाई पनि अहिले पुरानो घर निकै उपलब्धिमूलक बनेको छ। मातृका प्रसाद यादव लामो समयपछि पुनः आफ्नै पुरानो घरमा फिर्ता भए । माओवादीबाट अलग्गिएर नयाँ माओवादी पार्टीको ‘जन्मदाता’ उनी पनि लामो समय आफ्नै संगठनमा टिक्न सकेनन् । माउ पार्टीमै फिर्ता भएका यादवका लागि पनि केन्द्रीय सरकारमै मन्त्री बन्ने गतिलो अवसर खुला भयो । उनी अहिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन्।  

यसैगरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट पुरानो घर फिरेका नेताको पनि भाग्य चम्केको छ। नयाँ शक्तिका धरोहरमध्येका एक देवेन्द्र पौडेल पनि पुरानो घर फिर्तासँगै सांसद बनेका छन्। उनी प्रतिनीधिसभा सदस्य बनेका छन्। माओवादी केन्द्रका उम्मेदवार उनी बाग्लुङबाट प्रतिनिधिसभा सदस्य बनेका हुन्  । यीबाहेक अन्य थुप्रै नेता पनि पुरानो घर फिर्ताका कारण फाइदामा परेका छन् । ‘यस्ता थुप्रै नेता पुरानो घर फिर्तासँंगै राजनीतिक उचाइमा पुग्न सफल हुनु भएको छ,’ माओवादी नेता निर्मल आचार्यले भने, ‘यसर्थ पुरानो घर उहाँहरूका लागि झनै प्रिय बनेको छ।  

प्रकाशित: २३ फाल्गुन २०७४ ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App