८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

घट्दै बालविवाह

सांकेतिक फोटो

लन्डन– बाल विवाहको संख्यामा विश्वभर उल्लेख्य मात्रामा कमी आएको संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी नियोग (युनिसेफ)ले जनाएको छ।

पछिल्लो दशकमा विश्वभर दुई करोड ५० लाख बाल विवाह रोकिएको युनिसेफले अनुमान गरेको छ ।पछिल्लो दशकमा चारमध्ये एक महिलाले १८ वर्षभन्दा पहिले विवाह गर्ने गरेकोमा अहिले त्यो संख्या घटेर पाँचमध्ये एक महिलामा आइपुगेको उसले उल्लेख गरेको छ।

दक्षिण एसियाली मुलुकहरुमा उल्लेख्य मात्रामा बाल विवाहको संख्या घटेको युनिसेफले बताएको छ । भारतमा किशोरीहरुलाई राम्रो शिक्षादिक्षा दिएर र बाल विवाह गर्दा हुने हानीका बारेमा सचेतना कार्यक्रम सञ्चालन गरेर बाल विवाहमा कमी ल्याइएको युनिसेफले बताएको छ । उसका अनुसार हाल बाल विवाह सम्बन्धी ठूलो समस्या अफ्रिकी मुलुकमा रहे पनि इथोपियाले भने एक तिहाईले बाल विवाहको संख्या घटाएको छ।

युनिसेफकी प्रमुख लैंगिक सल्लाहकार अन्जु मल्होत्राले बाल विवाहका कारण महिलाको जीवनमाथि हुने नकारात्मक प्रभाव जमाउने बाल विवाहको कटौतीको कुनै पनि समाचार सुखद् भए पनि यस विषयमा थुप्रै काम गर्न बाँकी रहेको बताइन् ।‘बाल्य अवस्थामा नै महिलालाई विवाह गर्न  जब बाध्य पारिन्छ उनले दीर्घकालीन समस्या भोग्छिन्,’ उनले बताइन्।

‘उनको विद्यालय शिक्षा पूरा गर्ने सम्भावना घट्छ भने श्रीमान्बाट हुने दुव्र्यवहार बढ्छ र गर्भावस्थाका बेला जटिलता भोग्नुपर्छ । त्यसैगरी बाल विवाहका कारण सामाजिक असरका संख्या त अनगिन्ती नै छन् र गरिबी बढ्ने सम्भावना पनि उत्तिकै रहन्छ,’ उनले बताइन् ।युनिसेफको रिपोर्ट अनुसार बाल विवाहको समस्या अफ्रिकातर्फ सरेको छ र त्यहाँ जनसंख्या वृद्धिलाई नियन्त्रण गर्नका लागि थप अभियानको आवश्यकता रहेको छ।

विश्वभर हुने तीन वटा बाल विवाहमध्ये एउटा बाल विवाह अफ्रिकामा हुने गरेको युनिसेफले बताएको छ । जुन संंख्या पाँच दशक अघि विश्वभर हुने पाँच वटा बाल विवाहमा एउटा मात्रै उक्त क्षेत्रमा हुने गरेको थियो ।
संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यअन्तर्गत विश्व नेताहरुले सन् २०३० सम्ममा विश्वभरबाट बाल विवाह अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: २३ फाल्गुन २०७४ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App