८ वैशाख २०८१ शनिबार
विचार

अर्थपूर्ण भ्रमण

पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीको दुईदिने औपचारिक नेपाल भ्रमण आफ्ना समकक्षी केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिने औपचारिकतामा मात्र सीमित रहेन । दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप उचाइ दिनसमेत यसले महत्त्वपूर्ण योगदान गरेको छ। नयाँ सरकार गठनलगत्तै भएको उच्चस्तरीय भ्रमणले नेपाल संक्रमणकालीन अवस्था पार गरी स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न थालेको सन्देशसमेत प्रवाहित गरेको छ। आन्तरिक द्वन्द्व व्यवस्थापन नभई घरमा पाहुनाको आगमन नभएजस्तै अवस्था अहिले हाम्रो मुलुकका सन्दर्भमा समेत चरितार्थ भएको छ। संविधान जारी भएपछिको सबै तहको निर्वाचन सम्पन्न भएसँगै सरकार गठनसमेत भएपछि नेपालप्रति सबैको उत्सुकता प्रकट भइरहेको छ। त्यसमा पनि पुरानो बहुपक्षीय मञ्च दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) रहे पनि त्यो ‘मृत’ अवस्थामा रहेको जस्तो स्थिति छ। बिस्तारै यस क्षेत्रका मुलुकहरूले यसको सक्रियताप्रति आफूलाई उन्मुख गराउन थालेका छन्। नेपालले राजनीतिक स्थिरताको गन्तव्य पक्रिएको बेलामा छिमेकीहरूको पनि उत्तिकै उत्सुकता र सद्भाव रहेको छ । सरकार नबन्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले समेत नेपालको भ्रमण गरिसकेकी छन्। उनले भाबी प्रधानमन्त्रीका रूपमा त्यही बेला ओलीलाई बधाई दिनुका साथै भारतको सद्भावसमेत प्रकट गरिसकेकी थिइन् ।  

अहिलेको भूराजनीतिक पृष्ठभूमिमा पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । भारत र चीनजस्ता दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालको आफ्नै कूटनीतिक महत्ता रहेको छ । द्वन्द्व र आन्तरिक अवस्थाका कारण नेपालले आफूलाई अन्तर्राष्ट्रिय कूटनीतिमा सक्रिय बनाउन यसबीच केही अलमल भए पनि अब त्यो स्थिति फेरिने पर्याप्त संकेत पनि देखिन थालेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले यहाँ अन्य कुनै सभा–सम्मेलनमा सहभागी नभए पनि राष्ट्रपति विद्यादेवी भण्डारी र आफ्ना समकक्षी केपी शर्मा ओलीसँग भेटवार्ता गरी द्विपक्षीय सहयोगका बहुआयामिक पक्षमा छलफल गरेका छन् । सार्क सदस्य मुलुक पाकिस्तान दूरीका हिसाबले पनि नेपालबाट टाढा छैन । नेपाल र पाकिस्तानबीच १९६० मार्च २९ मा कूटनीतिक सम्बन्ध गाँसिएपछि दुवैले एकअर्कालाई उच्च प्राथमिकतामा राखेका छन् । तैपनि उच्चस्तरीय भ्रमणको शृंखला भने रोकिएको थियो । पाकिस्तानी प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण २४ वर्षपछि सम्पन्न भएको हो। तत्कालीन पाकिस्तानी प्रधानमन्त्री बेनजिर भुट्टोले १९९४ मेमा नेपालको भ्रमण गरेकी थिइन् । त्यसयता पाकिस्तानका एक राष्ट्रपति र तीन प्रधानमन्त्रीले सार्क शिखर सम्मेलनको सिलसिलामा मात्र नेपाल भ्रमण गरेका हुन् । पाकिस्तानले औपचारिक भ्रमणका हिसाबले नेपाललाई महत्त्व दिएर अहिले भ्रमण गरेको महसुस सबैले गरेका छन् । त्यतिमात्र होइन, अहिलेको भूराजनीतिक पृष्ठभूमिमा पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । भारत र चीनजस्ता दुई शक्ति राष्ट्रको बीचमा रहेको नेपालको आफ्नै कूटनीतिक महत्ता रहेको छ । द्वन्द्व र आन्तरिक अवस्थाका कारण नेपालले आफूलाई अन्तर्राष्ट्रिय कूटनीतिमा सक्रिय बनाउन यसबीच केही अलमल भए पनि अब त्यो स्थिति फेरिने पर्याप्त संकेत पनि देखिन थालेका छन् । 

२०४६ सालपछि नेपाल राजनीतिक हिसाबले घटनाप्रधान रह्यो । जनआन्दोलन २०६२/६३ पछि राजतन्त्र अन्त्य भई कूटनीतिक हिसाबले नेपालको राजनीतिक वर्गले चाहिने जति अन्तर्राष्ट्रिय प्रभाव पार्न सकेको थिएन । तर, यसपटकको निर्वाचनमा देखिएको जनस्तरको सक्रिय सहभागिता, बलियो सरकार बन्न लागेको अवस्था र संक्रमणकाल अन्त्यको सन्देशले पनि परिवर्तनलाई नेपालको राजनीतिक नेतृत्वले थामेर अघि बढ्ने हैसियत बनाइसकेको बुझाइ अन्तर्राष्ट्रिय क्षेत्रमा हुन थालेको छ। र, यहाँ उदाएका राजनीतिक खेलाडीसँगको संलग्नतालाई अन्तर्राष्ट्रिय क्षेत्रले पनि महत्त्व दिन थालेका छन्। नेपालमा नयाँ प्रधानमन्त्रीलाई बधाई दिनकै निम्ति भनेर यो तहको उच्चस्तरीय भ्रमण हुनु आफैंमा महत्त्वपूर्ण हो। २०४६ सालको राजनीतिक परिवर्तनपछि यो तहको उच्चस्तरीय भ्रमण बधाई दिनकै निम्ति भएको पहिलोपटक नै हो । यसले आपसी संलग्नता र कूटनीतिक सम्बन्ध विस्तारका निम्ति भविष्यका लागि समेत एउटा आधार प्रदान गर्नेछ । नयाँ सरकार बनिसकेपछिको अहिलेको अवस्थामा भ्रमणका कार्यक्रमहरू तय हुन थालेका छन् । यस्ता उच्चस्तरीय भ्रमण भइरहनु यस क्षेत्रको गतिशीलताका निम्ति अत्यावश्यक छ । अहिलेको विश्व व्यवस्थामा कूटनीति आर्थिक पक्षसँग पनि उत्तिकै सरोकार राख्ने विषय भएको छ । यस किसिमको संलग्नतालाई आर्थिक कूटनीति अघि बढाउने र नेपाली वस्तुको निर्यातका निम्ति भूमिका खेल्न पनि उपयोग गर्न सकिन्छ । नेपालप्रति पाकिस्तानले देखाएको सद्भावलाई सरकारले उपयोग गर्ने तत्परता राख्न पनि सक्नुपर्छ।

प्रकाशित: २३ फाल्गुन २०७४ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App