coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सेरेनाको पुनरागमन

टेनिसमा पुनरागमन गरेकी सेरेना विलियम्स चीनकी झाङ सुईविरुद्ध सट प्रहार गर्दै। तस्बिर : एपी

न्युयोर्क – भेनस विलियम्सले आफ्नो अभ्यास गर्ने जोडीबारे सूचना प्रवाह गर्दै उनको खेल सदाको जस्तै रहेको बताइन् । सेरेना विलियम्सको पुनरागमन र उनको लयमा कुनै कमी छैन।

‘उनीसँग बल छ । उनलाई कसरी खेल्ने भन्ने थाहा छ,’ सेरेनाबारे भेनसले भनिन्, ‘हो, अविश्वसनीय खेल ।’ विलियम्स दिदिबहिनी सोमबार राति ‘टाइब्रेक टेन्स’ प्रतियोगितामा चर्चामा रहे । ८ महिला सहभागी टाइब्रेकर टेन्स प्रतियोगितामा प्रयाजसो खेलिने सेटभन्दा फरक १० अंकको टाइब्रेकर खेल हो । पहिलो खेल जितेकी सेरेना सेमिफाइनलमा पराजित भइन् । युक्रेनकी एलिना स्भिटोलिनाले प्रतियोगिता जितिन् । १७ ‘स्ट्रेट’ अंक बटुलेकी स्भिटोलिनाले भेनस, कोको भान्डेवेग र चीनकी झाङ सुईलाई पराजित गरेकी थिइन् । विजेता स्भिटोलिनाले २ लाख ५० हजार अमेरिकी डलर पुरस्कार जितिन्।

सेप्टेम्बर १ मा छोरी जन्माएकी सेरेना यो वर्ष एकल प्रतिस्पर्धा गरेको यो पहिलो हो । उनी डब्लुटिए टुरको तयारीमा छिन् । २३ पटककी ग्रान्ड स्लाम विजेता सेरेनाले ‘वग म्यागजिन’सँगको अन्तर्वार्तामा छोरी जन्मिएपछि उनको फोक्सोमा सानासाना रगत जम्न थालेको बताएकी थिइन्।

उनले यसअघि गत महिनाको फेड कप युगलमा खेलेकी थिइन् । सेरेनाले २०१७ मा अस्ट्रेलियन ओपनको उपाधि जितेपछि एकल प्रतियोगिता खेलेकी छैनन् । अस्ट्रेलियन ओपनको फाइनलमा सेरेनाले दिदी भेनसलाई हराएकी थिइन् । सेरेनाले पुनः खेल्न पाउँदा खुसी लागेको र भविष्यका लागि उत्साहित भएको बताइन्।

‘मलाई लाग्छ सबैसँग उच्च आकंक्षा हुनुपर्छ,’ हारपछि कोर्टमै लिइएको अन्तर्वार्तामा विलियम्सले भनिन्, ‘कसैले विश्वास नगरे पनि तपाईंले आफूलाई विश्वास गर्नुपर्छ ।’ प्रशिक्षक प्याट्रिक मोउराटोग्लुले यस वर्षको बाँकी तीन ग्रान्ड स्लामका लागि सेरेना धेरै उत्साहित रहेको बताएका छन् । मोउराटोग्लुले सेरेनाको लगावमा कुनै परिवर्तन नभएको प्रतिक्रिया दिए।

सरेनाको खेलबारे ३७ वर्षीया भेनसले भनिन्, ‘पक्कै पनि उनले निकै राम्रो खेलिरहेकी छिन् । उनलाई कसरी खेल्नुपर्छ थाहा छ । कोर्टमा उनले आफ्नो स्वाभाविक लयमा खेलिरहेकी छिन् । त्यसैले धेरै चिन्तित हुनुपर्दैन।’

युरोप र अस्ट्रेलिया गरी पाँच संस्करण भइसकेको टाइब्रेक टेन्स प्रतियोगिता पहिलो पटक अमेरिकामा आयोजना भएको हो । बाँकी प्रतियोगीहरू रोमानियाकी सोरना सिर्सटिया र स्लोभाकियाकी ड्यानिला हन्तुचुभा थिए । हन्तुचुभाले गत वर्ष संन्यास लिएकी थिइन्।

प्रतियोगितामा सबैभन्दा शीर्ष वरीयताकी स्भिटोलिनाले जितपछि भनिन्, ‘यो वर्षमा पहिलो प्रतियोगितागिता जित्नु मेरा लागि राम्रो सुरुआत हो । अफ सिजनमा गरिने कामबाट खेलमा फर्किनु निकै कठिन हुन्छ । त्यसैले मेरा लागि यो शुभ संकेत हो कि म सही दिशामा अघि बढिरहेकी छु । म धेरै खुसी छु।’

 

प्रकाशित: २३ फाल्गुन २०७४ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App