७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘उपेन्द्र यादवको नेतृत्वमा फोरम दुई दिनभित्रै सरकारमा’

काठमाडौं – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले एक/दुई दिनभित्रै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने विश्वास दिलाएका छन्। उनले भने, ‘संविधान संशोधनको लागि विभिन्न धारा/उपधारामा संशोधन गर्ने प्रतिबद्धता आउँदैछ, हामी दुईदिनभित्रै सरकारमा सहभागी हुन्छौं।’

बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा फोरम नेपाल सरकारमा सहभागी हुने जानकारी दिए। उनले भने, ‘हो, उपेन्द्रजीकै नेतृत्वमा फोरम सरकारमा सहभागी हुन्छ, हिजो पार्टीले सरकारमा जाने निर्णय समेत गरिसकेको छ।’

उनले प्रदेश नम्बर २ लाई समृद्ध बनाउनको लागि आफूले दत्तचित्त भएर काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। मुख्यमन्त्री राउतले भने, ‘मुख्यमन्त्रीको रुपमा मैले सपथ लिएकै दिन केही प्रतिबद्धता जनाएको थिएँ, सोही अनुसार म जनताको सेवामा उत्रिनेछु, मेरो पहिलो प्राथमिकता भनेको नै सुशासन कायम गर्दै प्रदेशलाई व्यापक विकासको माध्यमबाट समृद्ध बनाउनु हो, यसको लागि म सँग सक्षम टिम छ।’

त्यस्तै उनले आफूले हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको उल्लेख गर्दै प्रधानमन्त्रीबाट आफूलाई पूर्ण सहयोग रहने प्रतिबद्धता आएको पनि जनाए। उनले थपे, ‘प्रधानमन्त्रीज्यूसँग मेरो बडो सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो, उहाँले जस्तोसुकै सहयोग गर्नपनि म तयार छु भन्नुएको छ।’

प्रकाशित: २३ फाल्गुन २०७४ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App