७ वैशाख २०८१ शुक्रबार
विचार

नारी दिवसको औचित्य

आज अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमात्र हैन, संसारभर हर्षोल्लाससाथ मनाउने क्रम जारी छ । त्यसो त, यो दिवसका अवसरमा महिला हक र अधिकारबारे चर्चा भइरहेका दुई साता बितिसकेको छ । यस अर्थमा हजारौं संख्यामा नारी छलफलमा ब्यस्त छन् । गोष्ठी र सेमिनारका मञ्चमा उभिएर आफ्ना धारणा निर्भिकरूपमा पस्किरहेका छन् । आफ्नो देशका सरकार वा सरोकारवाला निकायलाई महिलालाई कम नआँक्न चेतावनी दिइरहेका छन् । भनौँ, एकप्रकारले नारीमय भइरहेका छन् यतिबेला विश्वका प्रायः सबै महत्त्वपूर्ण मञ्च।

नारी, महिला, आमा, छोरी, दिदी, बहिनी, काकी, साली, अर्धाङ्गिनी, सहस्र नामले चिनिएका छन् नारी । तर यस्ता नाम सतहीमात्र हुन् नारीका । वास्तवमै नारी को हुन् भनेर थाहा पाउन इतिहासका पाना पल्टाउनु पर्छ । जहाँ नारी सरस्वती, महाकाली, लक्ष्मी, दुर्गा आदिका रूपमा आफ्नो शक्ति प्रदर्शन गर्न सक्षम भएका थिए । हो, वास्तवमा नारीको शक्ति यिनै नामले प्रतिनिधित्व गर्छन् । अर्थात नारी हिम्मत र आँटका प्रतिमूर्ति हुन् भन्ने गतिला र ज्वलन्त प्रमाण पनि बनेका छन् यी नाम । तर हामी यी नाममा गर्व गर्न सकिरहेका छैनौँ आज।

कर्मकाण्डी दायराबाट बाहिर ननिकाल्ने हो भने नारी दिवसले पनि उही डायनोसारको नियति भोग्ने निश्चित छ किनकि समयानुसार चल्न/भिज्न नसक्ने कुनै तत्त्व आजसम्म यस धर्तीमा टिकिरहेको इतिहास छैन।

नारीबिनाको संसार सम्भव छ ? कल्पनै पनि कठिन छ । नारी नै नहुने हो भने यो समाज के हुन्थ्यो होला ?कसैले सोचेको छ ? शायद यही शाश्वत सत्य बुझेरै होला, विश्वमै नारीको महिमा सबैले स्वीकारेकै छन् । तर पनि पितृसत्तात्मक समाजले नारीलाई हेर्ने सोचमा भने केही खोट अझै भेटिन्छन्। जस्तो–नारीलाई उनको वास्तविक शक्ति छायाँमा पार्दै यौन, सौन्दर्य, अशक्त, उच्शृंखल आदि विशेषण जोडेर त्यहीरूपमा हेरिनु यिनै खोटयुक्त सोचका उदाहरण हुन्।

यही कारण त हो, नारी जतासुकै बलात्कृत हुन्छे, आफन्त भनिनेबाटै समेत अपहेलित हुन्छे, परम्परा जोगाउने नाममातिरस्कृत हुन्छे, संस्कार बिगार्न नहुने बहानामा अपमानित हुन्छे । अनि कुलको इज्जत बचाइदिनुपर्ने बाध्यताका नाममा बहिष्कृत हुन्छे । तर पनि नारी बाँच्नका लागि अनेकौँ संघर्ष गर्छे, प्रतिकार गर्छे रपलपलमा अपमान र हिंसाको विष पिउन पनि पछि पर्दिन । हो, नारीको क्षमता यहीँ आएर उजागर हुन्छ । सहनशीलता यही क्षणमा प्रदर्शन हुन्छ ।समाजले भिराइदिएका कुनै पनिउपमाबाट कत्ति पनि विचलित हुन्न ।घर÷परिवारदेखि समाज हुँदै सिंगो मुलुकसम्मलाई चुनौती दिन्छे, आफ्नो क्षमतामार्फत।

भन्न त भनिन्छ– नारी र पुरुष समान हुन् । तर व्यवहार फरक छ।यही पक्षपाती व्यवहारकै कारण नारी धेरै पछि पारिएका छन् ।खासमा नारी कमजोर हैनन् न त अक्षम नै हुन् । खेतीपातीदेखि घर व्यवहार र घरभित्रदेखि घरबाहिरसम्मको काममा उत्तिकै डट्न सक्ने मान्छे पनि कहीँ कमजोर हुन्छ ? हुनै सक्दैन । तर पितृसत्ताको जलपमा रुमलिइरहेको समाजलेउनको कामको उचित मूल्याङ्कन नगर्दा महिला कमजोर देखिएका भने अवश्य हुन् ।आमाको भूमिकादेखि राष्ट्र प्रमुखसम्ममा आफूलाई कुशल र सफल सावित गरिसकेका महिला कसरी कमजोर हुन्छन् ? वास्तवमा यस्तै भ्रम चिर्न पनि नारी दिवस जस्ता चेतनामूलक दिनहरू आवश्यक पर्ने हुन्।

आजको दिनसम्म नारीले धेरै सहे ।सधैँ आफ्नो परिवारलाई प्राथमिकता दिए । आफ्नो जिम्मेवारीप्रति हरदम संवेदनशील बने । आफ्नो दायित्व बुझ्नेमात्र हैन, त्यसलाई अंगीकार गर्न पनि कहिल्यै पछि परेनन् ।अनि पुरुषलाई माथि उठाउन सधैँ आफ्नो ठाउँबाट योगदान गरिरहे । अब भने महिलाले आफ्नो क्षेत्र अलि फराकिलो पार्नेबारे सोच्नुपर्ने बेला आएको छ । अर्थात आफ्नो अस्तित्व, पहिचान र शक्तिलाई पनि ख्याल गर्नुपर्ने भएको छ।

आफूले सहँदै आएका अपमान छिमोल्ने, आफूहरूलाई अघि बढ्नबाट रोक्न खडा गरिएका पर्खाल भत्काउने,नारीविरुद्ध नियोजितरूपमा फैलाइएका अफवाह मेट्नेर विश्वस्तरीयमात्र नभई आफ्नै राष्ट्रले व्यवस्था गरेका हक अधिकारसमेत लिन अग्रसर हुने दिनका रूपमा नारी दिवस मनाउन सक्नुपर्छ । केही मानिस कुनै रेस्टुरेन्टमा जम्मा हुने, केहीबेर छलफल गर्ने र मुख मीठो बनाएर जिब्रो फड्कार्दै निस्कने पाराले मात्र अबका नारी दिवस मनाउनुको औचित्य पुस्टि हुन सक्दैन। आफूमाथि अविरल थोपरिएका अन्याय÷अत्याचारविरुद्ध धावा बोल्ने र अरुमाथि भइरहेका यस्तै घटनाको डटेर सामना गर्न सहयोग पुर्‍याउने दिनका रूपमा पनि यस्ता दिवसलाई लिन सक्नुपर्छ । तबमात्र दिवस मनाउनुको औचित्व सावित हुनेछ।

नारीमा प्रशस्तहिम्मत र आँट छ। तर कतिपय अवस्थामा उनीहरू आफ्नो यो शक्ति पनि थाहा नपाएर ‘आफ्नै नाभिको सुगन्ध खोज्न जंगलभर भौतारिने कस्तुरी’ कोअवस्थामा भेटिन्छन्। त्यस्तो अवस्थाबाट मुक्ति पनि नारी दिवसको लक्ष्य र गन्तव्य दुवै हुनुपर्छ। त्यसो हुन सकेमात्र नारीले अधिकारबाट सुशोभित हुने अवसर पाउँछन्। अनि नारी दिवस मनाउनुको अर्थ पनि प्रमाणित हुन्छ । हैन, यसलाई कर्मकाण्डी दायराबाट बाहिर ननिकाल्ने हो भने नारी दिवसले पनि उही डायनोसारको नियति भोग्ने निश्चित छ किनकि समयानुसार चल्न÷भिज्न नसक्ने कुनै तत्त्व आजसम्म यस धर्तीमा टिकिरहेको इतिहास छैन । यिनै वाचाका साथ धूमधामसँग नारी दिवस मनाइरहनुभएका सम्पूर्णमा नारी दिवसको हार्दिक शुभकामना ! निर्देशक, नेपाल रिपब्लिक मिडिया aakriti72@gmail.com

प्रकाशित: २४ फाल्गुन २०७४ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App