८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

परमाणु निर्माणमा पुनर्विचार गर्न सकिने

दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा कार्यालयका प्रमुख चुङ इवी–योङ (बायाँ) लाई भेट्दै उत्तर कोरियाली नेता किम जोङ–उन । तस्बिर : रोयटर्स

सोल– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सुरक्षाको सुनिश्चितता हुन्छ भने परमाणु अस्त्र निर्माणको कार्यमा पुनर्विचार गर्न सकिने बताएका छन्।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनका विशेषदूतसँग राजधानी प्योङयाङमा भएको भेटवार्ताका क्रममा उनले आफ्नो देशको सुरक्षाको प्रत्याभूति भए आफूहरुले सञ्चालन गरिरहेको परमाणु अस्त्र निर्माणको कार्यक्रममा पुनर्विचार गर्न सकिने बताएका हुन् । भेटवार्ताका क्रममा परमाणु अस्त्रको उत्पादन र यसले कोरियाली प्रायद्वीपमा पारेको प्रभावका बारेमा कुराकानी भएपछि किमले यस्तो धारणा राखेको बताइएको छ । कुराकानीमा परमाणु अस्त्रको परित्याग गर्ने बारेमा आगामी दिनमा खुलेरै छलफल गर्न पनि तयार हुन सक्ने संकेत उत्तर कोरियाली नेता किमले दिएको जनाइएको छ।

किम उत्तर कोरियाको शासन सत्तामा आएपछि पहिलो पटक र एक दशकभन्दा बढीको समयपछि दुई देशबीच भएको वार्तामा आगामी महिना शिखर बैठक गर्ने विषयमा पनि सहमति भएको बताइएको छ । उत्तर कोरियाको भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनका विशेषदूतले यस विषयमा जानकारी दिएका हुन् ।

मंगलबार स्वदेश फर्कनु अघि आफ्नो दुई दिने उत्तर कोरियाली भ्रमणका क्रममा दक्षिण कोरियाली राष्ट्रिय सुरक्षाका प्रमुख चुङ इवि–योङ र अनुसन्धान विभागका प्रमुख सन हुनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनसँग भेटवार्ता गरेका थिए । पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पुर्‍याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाएका थिए।

उत्तर र दक्षिण कोरियाबीच जतिसक्दो चाँडो वार्ताको वातावरण तयार पार्न विशेषदूत प्योङयाङ गएको दक्षिण कोरियाले बताएको छ । दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूतसँगको भेटवार्तालाई उत्तर कोरियाले पनि महत्वपूर्ण भनेको छ ।  

 यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको शीतकालीन ओलम्पिक्स खेलकुदमा उत्तर कोरियाली प्रतिनिधिको सहभागिताले दुई देशबीचको सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ । शीतकालीन ओलम्पिक्सको आयोजना पछि यी दुई देशबीचमा गएको करिब चार वर्षपछि पहिलो पटक उच्चस्तरीय प्रतिनिधिमण्डबीच भेटवार्ता सुरु भएको छ ।

किमको सन्देश अमेरिका पुर्‍याइने
यसैबीच उत्तर कोरियाली नेता किम जोङ–उनको व्यक्तिगत सन्देशलाई दक्षिण कोरियाका दूतहरुले यसै साताको अन्त्यतिर वासिङ्टनमा हुने भेटवार्ताका क्रममा अमेरिका पुर्‍याउने भएका छन् । दुई कोरियाली प्रतिनिधिबीच विरलै हुने भेटवार्ताका क्रममा सोमबार साँझ प्योङयाङमा भएको कुराकानीमा किमले दक्षिण कोरियाली विशेष दूतलाई अमेरिकाका लागि खुला सन्देश हस्तान्तरण गरेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

किमको सन्देश लिएर दक्षिण कोरियाली दूतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्छन् वा भेट्दैनन् भन्ने विषयमा भने अझै प्रष्ट भइसकेको छैन ।अमेरिका र प्योङयाङबीच यस अघिको वार्ताका बारेमा केही सार्वजनिक भएका छैनन् र उत्तर कोरियाले पनि यस विषयमा केही बोलेको छैन।

किम जोङ–उनले वासिङ्टसँग वार्ता गर्न चाहेको र भेटपछि आफू परमाणु हतियार कार्यक्रम परीक्षण स्थगित गर्न पनि तयार रहेको दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूत चुङले मंगलबार स्वदेश फर्केपछि बताएका हुन् ।

‘वार्तामा भएका सम्पूर्ण विषयवस्तु हामी सञ्चारमाध्यम सामू सार्वजनिक गर्न सक्दैनौं तर हामीसँग उत्तर कोरियाका थप धारणा छन् जसलाई अमेरिका भ्रमणका क्रममा हामी अमेरिकी अधिकारीसमक्ष राख्ने छौं,’ उनले बताए।

यस अघि प्योङयाङ भ्रमणमा आएका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनका विशेष दूतलाई उत्तर कोरियाली नेता किमले सौहार्दपूर्ण रूपमा स्वागत गरेको उत्तर कोरियाली समाचार एजेन्सीले केसिएनएले सोमबार बताएको थियो।

उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई स्थगित गर्दै अमेरिकासँग वार्ता गर्न तयार रहेको विषय बाहिरिएपछि यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्सुकतापूर्वक लिएको बिबिसीले उल्लेख गरेको छ ।

उत्तरको गोप्य सन्देशमा के छ?
उत्तर कोरियाली शासक किम जोङ–उनसँग पहिलो पटक भेटर फर्किएका दक्षिण कोरियाली अधिकारीहरुले बोल्दा अत्यन्तै सतर्कतापूर्ण रूपमार कूटनीतिक भाषाको प्रयोग गरेका छन्।

उनीहरुले किमले अमेरिकालाई पठाएको सन्देश कत्तिको महत्वपूर्ण छ वा कसलाई सम्बोधन गरिएको छ भन्नेबारेमा पनि केही बताएका छैनन् । उता, दक्षिण कोरियाली विशेष दूतसँग भेटवार्ता गर्ने बारेमा अमेरिकी राष्ट्रपति कार्यालयले प्रस्ताव गरेको बैठकका बारेमा सम्पर्कमा नै रहेको अमेरिकी विदेश मन्त्रालयले मंगलबार जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर र दक्षिण कोरियाबाट आइरहेका पछिल्ला समाचार अत्यन्तै सकारात्मक रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले प्योङयाङ परमाणु अस्त्र कार्यक्रम स्थगित गरेर वार्तामा बस्नेबारेमा गरको प्रस्ताव इमान्दार भएर गरेकोमा आफू विश्वस्त रहेको बताएका छन् । उनले अमेरिकाले उत्तर कोरियाप्रति लिएको नीति र प्रतिबन्धको फलस्वरुप प्योङयाङबाट यस्तो प्रस्ताव आएको पनि बताएका छन्।

उत्तर कोरियाली शासक किम जोङ–उनका सौतेनी दाजु किम जोङ–नामको गत वर्ष मलेसियामा भएको हत्या रासायनिक आक्रमणका कारण भएको निष्कर्ष निकाल्दै यसै साता मात्रै पनि अमेरिकाले प्योङयाङविरुद्ध थप प्रतिबन्ध लगाएको थियो । अमेरिकाले किम जोङ–नामको हत्यामा उत्तर कोरियाकै संलग्नता रहेको निरन्तर रूपमा आरोप लगाउँदै आए पनि प्योङयाङले भने आफ्नो संलग्नता अस्वीकार गर्दै आइरहेको छ ।

उत्तर कोरिया किन नरम बन्दै छ?
तीव्र गतिमा आणविक हतियार तथा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्दै आइरहेको उत्तर कोरियाले एकाएक किन वार्ताको राजनीति गरिरहेको छ भन्ने विषयमा ठ्याक्कै भन्न सक्ने अवस्था भने छैन।

अमेरिकासँग वार्ता गर्न उत्तर कोरिया तयार रहेको दक्षिण कोरियाले बताए पनि उत्तरले भने यस विषयमा मुख खोलेको छैन । केही अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरुले भने उत्तर कोरियाले वार्ताको नाटक गरेर थप आणविक हतियार कार्यक्रमलाई विकसित बनाउन खोजिरहेको हुनसक्ने आरोप लगाउँदै आएका छन्।

त्यसैगरी  अमेरिका लगायत पश्चिमा देशको निरन्तरको प्रतिबन्धका कारण देशको अवस्था झनै खस्किएपछि किमले खाद्यान्न र अन्य सहयोगका लागि वार्ताको रणनीति अगाडि सारिरहेको आंकलन पनि गरिएको छ । उत्तर कोरियाले वार्ताको रणनीति बनाउनुको अर्को कारण उसको नजिकको सहयोगी र छिमेकी चीनको कूटनीतिक दबाबको हात रहेको समेत अनुमान गर्ने गरिएको छ ।

 

 

 

 

प्रकाशित: २४ फाल्गुन २०७४ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App