coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भूकम्पले भत्काएको तुर्लुङकालिका मन्दिर पुनर्निर्माण सुरु

लमजुङ – ३४ महिना अघिको विनाशकारी भूकम्पले क्षतिग्रस्त तुर्लुङकोट गढीमा रहेको कालिका मन्दिरमा पुनर्निर्माणको काम थालिएको छ। सुन्दरबजार नगरपालिका ११ तुर्लुङकोट स्थित कालिका मन्दिर भूकम्पका कारण क्षतिग्रस्त भएर ढल्ने अवस्थामा पुगेपछि मन्दिर जगैदेखि भत्काएर पुनर्निर्माणको काम अघि बढाईएको हो।

नेपाल सरकार अन्तर्गत पुरातत्व विभागको पहलमा आउँदो असारभित्रै सक्ने गरि निर्माण कार्य सुरु भएको बताईएको छ। मन्दिर परिसरमा सोमबार भएको एक कार्यक्रमको शुभमुहुर्तमा सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले मन्दिरको शिलान्याश गरेका छन्। सो अवसरमा नगरप्रमुख मिश्र, पुरातत्व विभागका सिनियर डिभिजन इञ्जिनियर सम्पत घिमिरे, इञ्जिनियर कमला प्रजापति, वडाध्यक्ष प्रेम दुरा, दुरासेवा समाजका केन्द्रिय अध्यक्ष पूर्वकर्णेल गोकुल दुरा लगायत स्थानीयबासीको सहभागिता रहेको थियो। 

पुरातत्व विभागका कर्मचारी अनुसार उक्त मन्दिर पुरातात्विक महत्वको सम्पदा भएकाले पुरानै आकार–प्रकार र शैलीमा निर्माण गरिने सो वडाका अध्यक्ष प्रेम दुरा बताउँछन्। उनीहरुले त्यहाँ प्रयोग गरिने ढुंगा, काठ, झ्याल, ढोका, छानो र गजुरमा कुनै परिवर्तन नहुने बताएको दुराले जनाए। उनका अनुसार, गोरखाका निर्माण व्यवसायी दिपेन्द्र बस्नेतले निर्माणको जिम्मा लिएका छन्। मन्दिर निर्माणका लागि आवश्यकता अनुसार श्रमिक, कालिगढ र प्रयोग गरिने सामानहरु समेत काठमाडौं बाट झिकाइने बताइएको छ।  

मन्दिर निर्माणको काम सुरु भएसँगै त्यहाँ रहेका मुर्ति लगायतका अन्य सामाग्रीहरु नजिकैको सानो मन्दिरमा सुरक्षित राखिएको गुठी सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष प्रेम दुरा (ख) बताउँछन्। नित्य पुजाको साथै वडादशैं, चैतेदशैं तथा अन्य विशेष अवसरहरुमा पुजा गरिने सो मन्दिरमा यसवर्षको चैते दशैंमा मन्दिर निर्माण भइनसक्ने भएपछि मूर्ति सुरक्षित गरिएको सानो मन्दिरमा पुजाआज गर्ने तय भएको दुराको भनाई छ। उनका अनुसार मन्दिरमा घरपरिवारमा सुखशान्ति, पशुपंक्षी, खेतीबाली राम्रो होस्, देश–परदेशको यात्रा सुखद् र सफल बनोस, चिताएका अन्य काम सिद्ध होस् भनेर भाकल गर्ने चलन रहेको छ। आफूले आँटे–ताकेको मनोकाँक्ष पुरा हुने भएकाले तुर्लुङकोट, भाँगु, कानेश्वरा, नेटा, थान्सिङ, सिन्दुरे, पुरानकोट, नाल्मा तथा दुराडाँडा क्षेत्रका दर्जनौं वस्तीका स्थानीयले सो मन्दिरमा पुजा गर्ने गर्दछन्। भाकल अनुसार मन्दिरमा कुखुरा, बोकापाठा र पञ्चवलि दिने प्रचलन दिने गरिन्छ। सो मन्दिर कति पुरानो भन्ने एकिन रेकर्ड वा तथ्यांक नभएको तर वि.सं.१९६४ सालमा मन्दिरमा चढाईएको सबैभन्दा पुरानो घण्टा भेटिएको मन्दिरका पुजारी पण्डित लेखनाथ अधिकारी बताउँछन्।

विगतमा चैते दशैंमा मन्दिरमा पुजा गरि एकसातासम्मै नाचगान गर्ने, मेला लगाउने र छेलो हान्ने प्रतियोगिता हुने गरेको गुठी समिति अन्तर्गतका जिम्मल भूमिकर दुराले बताए। पछिल्ला वर्षहरुमा भने पुजाआज गर्नुका साथै फुटवल र छेलो प्रतियोगिता गरिने भएकाले ३ दिनसम्म स्थानीयले मन्दिरमा रमाइलो गर्ने चलन रहेको उनको भनाई छ। स्थानीय कालिका मिलन युवाक्लवले वर्षेनी फुटवल र छेलो प्रतियोगिता गराउँदै आईरहेको क्लवका सदस्य अमिश दुराले बताए। तुर्लुङकोटको धार्मिक, ऐतिहासहिक, पर्यटकीय तथा साँस्कृतिक महत्वको प्रचार–प्रसार र प्रर्वद्धनका लागि संस्थागत रुपमा क्लवले कालिका आमासमुह, बाबा समुह सँग समन्वय गरेर कार्यक्रम गर्दै आएको उनी बताउँछन्। 

प्रकाशित: २४ फाल्गुन २०७४ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App