४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रदेश प्रमुखले भेटे गुरु

आफ्ना गुरु जोर्ज जोनसँगको भेटमा प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवर । तस्बिर : नागरिक

पोखरा – प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुँवरले पोखरामा कहलिएका आफ्ना गुरु जोर्ज जोनसँग बिहीबार भेटघाट गरेका छन्। 

पृथ्वीनारायण क्याम्पसमा आफूलाई अंग्रेजी विषय पढाएका जोर्ज जोनलाई ४० वर्षपछि पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० स्थित उनकै निवास पुगेर प्रमुख कुवँरले भेटघाट गरी करिब ४५ मिनेट भलाकुसारी गरे। 

प्रमुख कुँवर आफ्नो घरमा आउने खबर पाएपछि गेटमै प्रतिक्षा गरेर बसेका जोर्ज जोन र उनकी धर्मपत्नी एलियामा जोनलाई भेट्ने बित्तिकै प्रदेश प्रमुख कुँवरले पाउ लागेर दर्शन गरेका थिए। लगत्तै बैठक कोठामा बसेपछि गुरु–चेलाको संवाद सुरु भयो। चार दशकअघिको सम्झना गर्दै प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवरले भने, ‘गुरु हजुर त जस्ताको तस्तै। मैले त लठ्ठी ठेकेर हिँड्नुहुन्छ होला भनेर कल्पना गरेको थिएँ? निकै पाको भइसक्नुभयो होला भनेको अहिले पनि उस्तै? मलाई बहुत खुसी लाग्यो। यति स्वस्थ रहनुको राज के हो?’

‘म लगभग भेजिटेरियन जस्तै हुँ। कहिलेकाहीँ मात्रै माछामासु चल्छ। बिहान साढे चार बजेतिरै उठेर सक्रिय हुन्छु। अरु त त्यस्तो खास केही छैन’ साह्रै मसिनो स्वरमा बोल्ने ८६ वर्र्ष पुगेका जोर्ज जोनले आफ्नो चेलाको जिज्ञासा पढाउने शैलीमै बुझाए, ‘यो सबै ईश्वरको कृपा र तपाईंहरूजस्तै विद्यार्थीको मायाले हो। अहिलेसम्म स्वस्थ छु।’

त्यसपछि जोर्ज जोनले प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवरलाई घरपरिवारको बारेमा सोधपुछ गरे। बालबच्चा, उनीहरूको पढाइलेखाइबारे जानकारी लिए। आफैले पढाएको विद्यार्थी यो क्षेत्रको प्रमुख भएर आएकोमा साह्रै खुसी लागेको बताउँदै जोर्ज जोनले सधैँ राम्रो गर्न आशीर्वाद समेत दिए। ‘हजारौं विद्यार्थी पढाएँ। धेरैको माया पाएको छु। धेरै विद्यार्थीले आफ्नो ग्राउन्ड रियालिटी बिर्सन्छन्। तर आज एक विद्यार्थी यति ठूलो पदमा पुगेर पनि घरमै भेट्न आएकोमा यो हाम्रो सौभाग्य हो’ आफूलाई भेट्न घरमै पुगेकोमा हर्षित देखिएका जोर्ज जोनले भने, ‘हुन त मैले के दिएको छु र ? मैले त आफूले जानेको कुरा सिकाएको हुँ।’

जोर्ज जोनले आफू ३८ वर्षको हुँदा आमाले घर फर्किन गरेको अनुरोधदेखि विद्यार्थीकै सहयोगले पोखरा बसेको स्मरण गरे। ‘पोखरामा कति कमाउँछस् हामी यहीँ दिन्छौं तँ फर्केर आइजभन्दा पनि म पोखराको मायाले जान सकिनँ,’ जोर्ज जोनले पूराना दिन सम्झिए, ‘विद्यार्थी गणेशबहादुर गुरुङले प्रदर्शनी केन्द्रनजिकै १२ रोपनी जग्गा किनिदिएछन्। पछि त्यो अधिग्रहण भयो। हामी यता आयौं। यो सबै विद्यार्थीको मायाले हो।’ उनले विद्यार्थीहरूबाट पनि आफूले पनि थुप्रै व्यावहारिक गुणहरू सिकेको सुनाए। 

प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवर र जोर्ज जोन भेटघाट सकेर फर्कनै लाग्दा सञ्चारकर्मी पुगेपछि उनीहरूलाई छोटो प्रतिक्रिया दिँदै प्रमुख कुँवरले गुरुकै निवास पुगेर उहाँलाई भेट्दा साक्षात ईश्वर भेटेकोझैं महसुस गरेको बताए। ‘म गुरु, आमाबुवा र पाहुनाको बहुत  सम्मान गर्ने व्यक्ति हुँ’ उनले भने, ‘आज ४० वर्षपछि गुरुलाई भेट्न पाउँदा म असाध्यै खुसी छु । यही खुसी पाउन म गुरुको दर्शन गर्न आएको हुँ।’

जोर्ज जोनले आफूले पढाएको विद्यार्थीले प्रगति गरेर निवासमै आएर भेट्दा त्योभन्दा अर्को ठूलो खुसी केही नभएको सुनाए। ‘मान्छे ठूलो पदमा पुगेपछि उसले तल हेर्दैन। तर आज एउटा विद्यार्थी यसरी आउनुभयो। यो मेरो सौभाग्य हो’ सञ्चारकर्मीले मागेको प्रतिक्रिया दिँदै जोर्ज जोनले हाँस्दै भने, ‘मलाई आफ्नै छोरो फर्केर आएको जस्तो लाग्यो।’

जोर्ज जोन ५९ वर्षदेखि पोखरामा बसिरहेका छन्। उनले पृथ्वीनारायण क्याम्पस पढाउँदा प्रदेश प्रमुख कुँवरले बिएलको पहिलो व्याचका रूपमा यही क्याम्पसमा अध्ययन गरेका थिए। पृथ्वीनारायण क्याम्पस स्थापना गर्नमा जोर्ज जोनको अग्रणी भूमिका छ। उनकै पहलमा यो क्याम्पस खुलेको हो। जोर्ज जोनका एक छोरा र छोरी छन् । छोरो अणु जोन सिंगापुरमा टेनिस प्रशिक्षकको रूपमा कार्यरत छन् भने बुहारी रञ्जना आचार्य डाक्टर हुन्। उनी पनि हाल सिंगापुरमै छिन्। 

प्रकाशित: २४ फाल्गुन २०७४ १५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App