७ वैशाख २०८१ शुक्रबार
समाज

शान्ता त फर्किइन् तर धेरै बेखबर

६ वर्ष सम्पर्कविहीन भएर बिहीबार काठमाडौं फर्केकी गोरखा, पालुङटार–५ की शान्ता परियार (बीच) बिहीबार बुवा  र आमाका साथ काठमाडौंमा । तस्बिर : रुद्र

काठमाडौं – ‘कहिले छोरी बेचेको त कहिले हत्याको आरोप ।’ पछिल्लो ६ वर्षदेखि गोरखा, पालुङटार–५ का हस्तबहादुर परियारले सबैभन्दा बढी सुन्नुपरेका शब्दावली हुन् यी।

छोरीलाई न बेच्नु न त हत्या गर्नु । तैपनि हत्या र बेचबिखनका आरोप सुन्दासुन्दा हस्तबहादुर हैरान थिए । नखाएको विष कसरी लाग्ला भन्ने ठान्दाठान्दै उनी पछिल्लो ६ वर्ष अपराधीजस्तो जीवन जिउन बाध्य भए ।  छोरी हराउँदा समाजले हस्तबहादुरलाई अपराधीलाई जस्तो व्यवहार गरिरहेको थियो । त्यस्तो व्यवहारबाट बच्न गाउँलेसँगको सम्पर्क घटाउनुबाहेक उनको विकल्प थिएन।

कुनै अपराधबिना गाउँ, समाजले अनेक आरोप लगाउँदा पनि उनले प्रतिवाद गर्न सकेनन् । किनकि जसको विषयले आरोपप्रत्यारोप भइरहेको थियो, त्यसलाई खण्डन गर्ने प्रमाण उनीसँग थिएन । प्रमाण नभएपछि जसले जे भन्छन् त्यसैलाई सहन उनी बाध्य थिए।

समाजले गलत आरोप त लगाएकै थियो । अर्कोतर्फ वैदेशिक रोजगारीमा गएर जीवन सुधार्ने लक्ष्य बोकेकी छोरी ६ वर्षदेखि सम्पर्कविहीन हुँदा परिवारले भोगेको पीडा वर्णन गर्न नसकिने हस्तबहादुर बताउँछन् । एकातिर समाजको आरोप र अर्कोतर्फ कलकलाउँदो उमेरकी छोरी हराउँदा हस्तबहादुरका लागि दिन पनि रातसरह भए । उनलाई सान्त्वना दिनेसम्म कोही थिएनन्। 

हस्तबहादुरको परिवारमा बिहीबार भने वर्षौंपछि ठूलो खुसी फर्केको छ । गाउँमा रोजगारी नपाएपछि १५ वर्षमै साउदी अरेबिया गएकी शान्ता पछिल्लो ६ वर्षदेखि सम्पर्कविहीन हुँदा घरपरिवारले उनको माया मारिसकेको थियो । ‘६÷६ वर्षसम्म छोरी सम्पर्कमा नआएपछि फर्कने आस मरिसकेको थियो,’  हस्तबहादुर भने । साउदीबाट फर्केकी छोरीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेपछि उनले खुसीका आँसु रोक्न सकेनन् । छोरीलाई देखेर हस्तबहादुर यस्तो कसरी सम्भव भयो भन्दै प्रश्न गरिरहे।

कसरी पुगिन् शान्ता साउदी 
घरको दयनीय आर्थिक अवस्था सुधार्न नसकेपछि बाबु हस्तबहादुर र छोरी शान्ताले सन् २०१० मा वैदेशिक रोजगारीमा जाने निर्णय गरे । तर, त्यतिबेला समस्या आइलाग्यो– शान्ताको उमेर । किनकि शान्ताको उमेर १५ वर्षमात्र भएकाले राहदानी लिन पाइँदैन्थ्यो । राहदानी लिन नपाएपछि दलालले शान्ताको उमेर बढाएर राहदानी निकाल्ने जुक्ति सुझाए । दलालको सोही जुक्तिअनुसार शान्ता २१ वर्ष पुगेको भन्दै हस्तबहादुरले राहदानी निकाले । र, सोही वर्ष छोरीलाई साउदी जाने स्वीकृति दिए उनले। 

राहदानी पाएपछि दलालले शान्तालाई दिल्ली पुर्‍याए भने हस्तबहादुरलाई कुबेत । त्यसको केही दिनमै शान्ता साउदीको अल अहासामा पुगिन् । त्यहाँ उनले घरको काम पाइन् । मासिक सात सय रियाल पाउने सर्तअनुसार सन् २०१२ सम्म शान्ताले त्यही घरमा काम गरिन्। 

जब शान्ताको भिसा नवीकरण गर्नुपर्ने बेला आयो, सुरुको साहुले अर्कै साहुकहाँ पुर्‍यायो। त्यसपछि शान्ता र बुवाबीचको सम्पर्क टुट्यो । ‘दुई वर्षसम्म छोरीसँग फोनमा सम्पर्क भइरहन्थ्यो,’ हस्तबहादुर भने, ‘जब छोरीलाई अर्को साहुले लिएपछि फोन नम्बर भएन । पहिलाको साहुलाई सोध्दा नयाँ नम्बर पनि दिएन। सम्पर्क टुट्यो।’ 

शान्ता सम्पर्कविहीन भएपछि कुबेतबाट घर फर्केर हस्तबहादुरले उनी हराएको सूचना घरका अन्य सदस्य र आफन्तलाई दिए । त्यसपछि छोरीको खोजीका लागि सक्दो प्रयास गरे । उनले जहाँजहाँ छोरी खोज्ने प्रयास गरे ती सबै असफल भए । ‘छोरी फर्कने आशा मरिसकेको थियो,’ उनले भने । ‘जेठी छोरी सम्पर्कविहीन भएपछि अरु दुई छोरी र एक छोरा हेरेरै मन बुझायौं,’ शान्ताकी आमा अर्चनाले भनिन्। 

हस्तबहादुरले छोरी फर्कने आशा मारिसकेका बेला गत पुसमा शान्ताको भिसा नवीकरण गर्न भन्दै एक साउदी नागरिक नेपाली नियोगमा पुगे । त्यसपछि शान्ता अवैध तरिकाले बस्दै आएको खुल्यो । दूतावासका कर्मचारीले सोधखोज गरेपछि साउदीका ती साहु शान्तालाई घर फर्काउन तयार भए । ‘साहु शान्तालाई घर फर्काउन सहमत भएपछि साउदीस्थित नेपाली दूतावासका राजदूत महेन्द्रप्रसाद सिंह र उपसचिव विजयकुमार राउतले उनको घर र आफन्त खोजिदिन मसँग सहयोग माग्नुभयो,’ शान्तालाई उद्धारमा सघाएकी नेपाली साझा मञ्चकी कार्यवाहक अध्यक्ष शारदा भुसालले भनिन्, ‘खोज्दै जाँदा शान्ताका बुवा सम्पर्कमा आउनुभयो । त्यसपछि हस्तबहादुर गोरखाबाट र शान्ता साउदीबाट काठमाडौं आए।’   

६ वर्षपछि परिवारको सम्पर्कसँगै घरमा आएकी र  वास्तविक उमेर २३ वर्ष भएकी शान्ता अब वैदेशिक रोजगारीमा नजाने बताउँछिन् । उनको अनुभवमा महिलाका लागि वैदेशिक काम सुरक्षित छैन । ‘६ वर्ष जेजस्तो अवस्था बिताए पनि अब घरपरिवारसँगै बस्ने इच्छा छ,’ उनले भनिन् । घरपरिवारसँग सम्पर्कविहीन भएको अवस्थामा काम गरेको १३ हजार ५ सय रियाल (करिब तीन लाख ६५ हजार रुपैयाँ) नेपाली दूतावासमा रहेको उनले बताइन्। 

पछिल्लो समयमा लहलहैमा वैदेशिक रोजगारीमा जाने र उतै सम्पर्कविहीन हुने घटना बढेका छन् भन्ने धेरैको अनुमानमा शान्ताको उदाहरण पर्याप्त मानिन्छ । राहदानी विभागका अनुसार हालसम्म करिब सात लाख महिलाले राहदानी लिएका छन् । तर, वैदेशिक रोजगार विभागले भने एक लाख ८० हजार महिलाले मात्र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको जनाएको छ । राहदानी लिएकामध्ये एक लाखजति विद्यार्थीको रूपमा विदेश गएको हुनसक्ने अनुमान गरिए पनि बाँकी चार लाख महिलाको अवस्था यकिन छैन । ग्रामीण भेगका महिलाले राहदानी लिनुको उद्देश्य वैदेशिक रोजगारीमा जानका लागि भन्ने बुझिन्छ। 

सरकारले साउदीलगायत खाडी मुलुकमा घरेलु कामदारका रूपमा महिलालाई पठाउन रोक लगाए पनि शान्ता भने त्यहाँ थुपै्र महिला रहेको बताउँछिन् । ‘म काम गर्ने साहुको घरनजिकै अरु तीन नेपाली महिला थिए,’ उनले भनिन् । घरेलु कामदारको चरम अभाव झेलिरहेका खाडी मुलुकमा भारतको बाटो हुँदै नेपाली महिलालाई पुर्‍याउने गिरोह सक्रिय छ । महिलालाई खाडी पुर्‍याएबापत दलालले लाखौं रकम हात पार्छन्। 

प्रकाशित: २५ फाल्गुन २०७४ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App