१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जयरामको अग्रता

पोखरा– जयराम श्रेष्ठले बिहीबार हिमालयन गल्फ कोर्समा इभन पार ७० को प्रदर्शन गर्दै सूर्य नेपाल वेस्टर्न ओपनमा चार स्ट्रोकको अग्रता लिएका छन् । दुई दिनको खेल सकिँदा समग्रमा १ ओभर १ सय ४१ स्कोरका साथ उनी निकट प्रतिद्वन्द्वी एमेच्योर खेलाडी अजित बिके र व्यावसायिक खेलाडी धनबहादुर थापाभन्दा चार सटले अगाडि छन्।

जयरामसँगै संयुक्त रूपमा अग्रस्थानमा रहेर दिनको खेल सुरु गरेका अजितले बिहीबार दोस्रो दिन ४ ओभर ७४ खेल्दा धनबहादुरले ३ ओभर ७३ को स्कोर गरे । अजित र धनबहादुर समान ५ ओभर १ सय ४५ स्कोरसहित संयुक्त रूपमा दोस्रो स्थानमा छन्।

नेपाल नम्बर एक शिवराम श्रेष्ठ, भुवन नगरकोटी र भूबहादुर गुरुङ समान ६ ओभर १ सय ४६ स्कोरसहित संयुक्त रूपमा तेस्रो स्थानमा छन् । बिहीबार दोस्रो दिन शिवरामले १ ओभर ७१, भुवनले २ ओभर ७२ तथा भूबहादुरले ४ ओभर ७४ खेलेका थिए । यसै गरी रवि खड्का (७१) ७ ओभर १ सय ४७ स्कोरसाथ सातौं स्थानमा रहँदा प्रदीपकुमार लामा (७१) ९ ओभर १ सय ४९ स्कोरसहित आठौं स्थानमा छन् ।

रामे मगर र सूर्यप्रसाद शर्मा समान १० ओभर १ सय ५० स्कोरका साथ संयुक्त रूपमा नवौं स्थानमा रहँदा यलम्बरसिंह अधिकारी, विकास अधिकारी र सञ्जीवबहादुर नेपाली संयुक्त रूपमा ११औं स्थानमा छन् । २३ ओभर १ सय ६३ सम्मको स्कोर गर्नेलाई शुक्रबारको अन्तिम चरणका लागि छनोट गरिँदा पशुपति शर्मा, कमल तामाङ, दीपक मगर, बलभद्र राई, ध्रुव केसी, वसन्तराज गुरुङ, गोपाल नगरकोटी र राजेन्द्र श्रेष्ठ प्रधानले सफलता हासिल गरे ।

प्रकाशित: २५ फाल्गुन २०७४ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App