coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पलाई युरोप र चीनको चेतावनी

चीनको संसदीय अंग नेसनल पिपल्स कंग्रेसको दौरान आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेशमन्त्री वाङ यी । तस्बिर : एजेन्सी

बेइजिङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टिल र आल्मुनियम आयातमा कर (ट्यारिफ) लगाउने योजनालाई लिएर युरोप र चीनले बिहीबार व्यापारिक युद्धको चेतावनी दिएका छन्।

स्टिल र आल्मुनियम आयातमा कर लगाउने अमेरिकी राष्ट्रपतिको पछिल्लो योजना सार्वजनिक भएसँगै विश्वका दुई अर्थतन्त्र चीन र अमेरिकाबीचको सम्बन्धमा तिक्तता उत्पन्न भएको छ ।ब्रसेल्सस्थित एक अधिकारीका अनुसार यदि ट्रम्पले ट्यारिफ लगाएमा युरोपले पनि प्रतिशोधस्वरुप उनको रिपब्लिकन पार्टीले निर्यात गर्ने सामग्रीमा कर लगाउनसमेत सक्नेछ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी समयअनुसार बिहीबार अबेरसम्ममा स्टिल आयातमा २५ प्रतिशत र आल्मुनियम आयातमा १० प्रतिशत कर लगाउने यस अघिको उनको घोषणालाई मूर्त रूप दिनका लागि हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । यद्यपी अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने कानुनी प्रक्रियामार्फत केही कागजपत्र मिलाउन बाँकी रहेकाले हस्ताक्षरको कार्यक्रम शुक्रबारसम्ममा हुने बताएको छ । ब्रसेल्स र बेइजिङ दुवैले व्यापारिक युद्ध नहुनेमा विश्वस्त रहेको समेत बताएका छन् । युरोपेली आयोगले भने ट्रम्पले युरोपेली संघभित्र रहेको २८ वटा मुलुकलाई भने यस्तो खालको करबाट मुक्त गराउने विश्वास व्यक्त गरेको छ ।

यस अघि अमेरिकाले उसको छिमेकी मेक्सिको र क्यानडालाई भने कर छुट दिन सकिने संकेत गरेको थियो।केही राष्ट्रले भने ट्रम्पको अति हतारको योजनाको विरुद्धमा सल्लाह दिएका छन् जसका कारण अमेरिकालगायत विश्वका आर्थिक बजारमा हलचल मच्चिएको छ । यदि अमेरिकाले स्टिल र आल्मुनियममा ट्यारिफ लगाउने निर्णय गर्‍यो भने यसको सबैभन्दा ठूलो मार उसको छिमेकी क्यानडालाई पर्ने बताइएको छ।

‘यदि डोनाल्ड ट्रम्पले अमेरिकी समयअनुसार बिहीबार साँझसम्ममा कर लगाउनेबारेको निर्णयमा हस्ताक्षर गरे भने हामीसँग युरोपेली संघले हामीसँग विभिन्न विकल्प रहेको छ,’ युरोपली आर्थिक मामिलाका आयुक्त पेरेरे मोस्कोभिसीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

अमेरिकाको करविरुद्ध उसको सुन्तला, सूर्तिजन्य पदार्थ र बर्बन आयातमा पनि युरोपभर ट्यारिफ लगाइने मोस्कोभिसीले बताए । ‘यस्तो अवस्था आयो भने दुवै देशको हार हुने वास्तविकतालाई अमेरिकाको संसद्ले बुझोस् भने हामी चाहन्छौं,’ मोस्कोभिसीले बिएफएम टिभीलाई बताए ।

युरोपेली संघ चीनपछि अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । अमेरिकी राष्ट्रपतिले स्टिल र आल्मुनियममा कर लगाउने विषयमा स्वीकृति प्रदान गरे भने दुई महिनापछि लागू हुने बताइएको छ ।अमेरिकाका कलकारखाना र रोजगारीमा विशेषगरी चीनको सस्तो सामानका कारण समस्या आइरहेको भन्दै ट्रम्पले ट्यारिफको योजना बनाएको बताइएको छ।

उता, बेइजिङका विदेशमन्त्री वाङ यीले चीन र संयुक्त राज्य अमेरिका प्रतिद्वन्दी बन्न नहुने बताउँदै इतिहासले व्यापारिक युद्ध समस्या समाधानको उपाय नभएको देखाइसकेको बताएका छन् ।‘विशेषगरी विश्वको अहिलेको विश्वव्यापीकरणका कारण व्यापारिक युद्ध रोज्नु अत्यन्तै ठूलो  गल्ती हुनेछ । यसको नतिजाले विश्वलाई नै हानी पुग्नेछ,’ विदेशमन्त्री वाङले चिनियाँ संसद्को बैठकका क्रममा बताए । यदि अमेरिकाले यो वास्तविकतालाई नजरअन्दाज  गर्दै निर्णय गरेमा त्यसको चीनले न्यायसंगत र आवश्यक प्रतिक्रिया दिने पनि उनले बताए ।

यस अघि बुधबार ट्रम्पले ट्विट गर्दै बेइजिङलाई अमेरिकासँगको उसको एक विलियन डलर बराबरको अतिरिक्त व्यापारलाई घटाउने योजना ल्याउन आग्रह गरेका थिए । चीनको गत वर्ष अमेरिकासँग तीन सय ७५ दशमलव २ विलियन अतिरिक्त व्यापार गरेको रेकर्ड कायम गरेको थियो ।ट्रम्पले सन् २०१७ मा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेदेखि नै विश्वका दुई अर्थतन्त्र अमेरिका र चीनबीचमा व्यापारिक समस्या बढ्दै गएको छ।
क्यानडा र मेक्सिको कर छुट हुनसक्ने
संयुक्त राज्य अमेरिकामा ठूलो मात्रामा स्टिल र आल्मुनियम आपूर्ति गर्ने क्यानडा र मेक्सिकोलाई कर छुट दिन सकिने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।देशको राष्ट्रिय सुरक्षाका आधारमा मेक्सिको र क्यानडालाई स्टिल र आल्मुनियम आयातमा छुट दिन सकिने ह्वाइट हाउसकी प्रवक्ता सेराह स्यान्डर्सले बताएकी छन्।

विभिन्न सञ्चारमाध्यममा आएका विवरणअनुसार यस्तो छुट दीर्घकालीन भने हुने छैन । मेक्सिको र क्यानडाले केवल ३० दिन यस्तो सुविधा प्राप्त गर्नेछन् ।यसैबीच स्टिल र आल्मुनियम आयातमा कर लगाउने योजनाको घोषणा गरेपछि ट्रम्पमाथि उक्त नीतिलाई कार्यान्वयनमा नलैजान तीव्र दबाबमा परेको बताइएको छ । अमेरिकी विदेश र रक्षा मन्त्रालयले ट्यारिफको विषयमा लचिलो हुन अन्तिम समयमा आएर ट्रम्पलाई अपिल गरेका छन् ।
 

 

प्रकाशित: २५ फाल्गुन २०७४ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App