७ वैशाख २०८१ शुक्रबार
राजनीति

भण्डारी औपचारिक कार्यक्रममा जान नपाउने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचन सम्पन्न नहुँदासम्म कुनै पनि औपचारिक कार्यक्रम तथा अन्तरक्रियामा सहभागी हुन नपाउने भएकी छन् । राष्ट्रपति निर्वाचनमा उम्मेदवार भएकाले निर्वाचन सम्पन्न हुने समयसम्म भण्डारी उम्मेदवारकै भूमिकामा मात्र रहने छिन् । राष्ट्रपतिको निर्वाचन २९ गते हुँदैछ । राष्ट्रपति निर्वाचनमा संघीय संसद् सदस्य र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ। 

राष्ट्रपति भण्डारीले बुधबार राष्ट्रपति उमेदवारको मनोनयन पत्र दर्ता गरकी छन् । राष्ट्रपति स्वयंले राष्ट्रपतिमा उमेदवारी दिए पनि राष्ट्रपति पद भने खाली हुने छैन । निर्वाचन आयोगले बुधबार नै राष्ट्रपति निर्वाचन सम्पन्न हुने समयसम्मका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ ।  ‘राष्ट्रपतिका उमेदवारबाट निर्वाचन आचारसंहिता पूर्ण पालना हुने विश्वास हामीले गरेका छौं,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने।   

निर्वाचन आचारसंहितासँगै राष्ट्रपति भण्डारीले बुधबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला वालबालिका तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागी भइनन् । राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रपतिलाई  प्रमुख आतिथिका रूपमा आमन्त्रण गरिएको थियो।  

अन्तर्राष्ट्रिय महिला दिवसकै अवसरमा काठमाडौंका सामुदायिक विद्यालयका विद्यार्थीसँग राष्ट्रपति कार्यालय शितल निवासमा हुने भनिएको अन्तरक्रिया कार्यक्रम पनि रद्द भएको छ । प्रत्येक वर्षको ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपतिले विद्यार्थीसँग अन्तरक्रिया गर्दै आएकी थिइन्। 

फागुन २६ गते पोखरा लायन्स क्लब इन्टरनेसनलले आयोजना गरेको कार्यक्रममा पनि राष्ट्रपति उपस्थित नहुने भएकी छन् । विभिन्न प्रतिष्ठित व्यक्तिलाई सम्मान गर्ने कार्यक्रममा  प्रमुख आतिथिका रूपमा राष्ट्रपतिलाई त्यहाँ आमन्त्रण गरिएको थियो । 

राष्ट्रपतिको उमेदवारी मनोनयनपत्र दर्तासँगै विभिन्न व्यक्ति तथा निकायमा आचारसंहिता लागू भएको छ । यसमा उम्मेदवार तथा सम्बन्धित व्यक्ति, नेपाल सरकार र नेपाल सरकाका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, स्थानीय तह, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्ध सरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, सार्वजननिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई आचार संहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन आचारसंहिता अनुसार ‘राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिने प्रत्येक उमेदवारले निर्वाचन प्रचार प्रसारको लागि निर्वाचन अधिकृतको अनुमति लिई बढीमा चार वटा चारपाङ्ग्रे हलुका सवारी साधन र बढीमा चारवटा मोटरसाइकल प्रयोग गर्न सक्नेछन्। यसैगरी, टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घन्टामा बढीमा चारपटक र एकपटकमा बढी एक मिनेटसम्म प्रसारण गराउन सक्ने छन् । त्यसैगरी पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ‘सात वाइ सात’ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सक्नेछन्। 

प्रकाशित: २५ फाल्गुन २०७४ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App