coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीशले गम्भीर गल्ती गरे : पाैडेल

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा न्यायिक समितिका पदाधिकारीका लागि हेटौंडामा आयोजित ३ दिने प्रशिक्षण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी । तस्बिर : अशोकसुजन श्रेष्ठ

मकवानपुर – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानन्यायाधीश गोपाल पराजुलीले देशलाई गम्भीर हानी पुग्ने काम गरिरहेको आरोप लगाएका छन् । प्रधानन्यायाधीशप्रति वितृष्णा बढिरहेको र धेरैले नाम लिन र सुन्न नचाहेको दाबी गर्दै उनले न्याय सम्पादन ठीकसँग नगरी गलत र देश डुबाउने काम गरिरहेको बताए।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा न्यायिक समितिका पदाधिकारीका लागि हेटौंडामा आयोजित ३ दिने प्रशिक्षण कार्यक्रम उद्घाटन गरेपछि उनले न्याय दिन निष्पक्षता हुनैपर्ने जिकिर गरे । ‘न्याय दिने बेलामा कालो–गोह्रो, मेरो–तेरो, राम्रो–नराम्रो भन्नु हुँदैन,’ उनले भने, ‘त्यसरी गरे न्यायकर्ताले न्याय सम्पादन गर्नै नसक्दैन, जनताको विश्वास टुट्छ र विरोध हुन्छ।’

संघीय, प्रदेश र स्थानीय सरकार कार्यसम्पादनमा चुके संघीयता नै धरापमा पर्ने भन्दै सचेत र जिम्मेवार हुन न्यायिक समितिका पदाधिकारीलाई आग्रह गरे । जनताले विकास र समृद्धि तत्काल खोजेकाले परिणाममुखी काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन पनि दिए।

जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र भण्डारी, पूर्व न्यायाधीश फोरमका महासचिव शम्भुप्रसाद खड्का, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललगायतले विवेकको प्रयोग गरी स्थानीय तहमा धर्मराज जस्तो भएर निष्पक्ष र स्वतन्त्रपूर्वक काम गर्नुपर्नेमा जोड दिएका थिए।

बिहीबारै हेटौंडामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले संघीय, प्रदेश र स्थानीय तहका अधिकांश सरकार वाम गठबन्धनको भएकाले राम्रो काम गर्न नसके जनताले तिरस्कार गर्ने बताएका छन् । अखिल नेपाल महिला संघ मकवानपुरद्वारा आयोजित प्रशिक्षण, शुभकामना एवं बधाई कार्यक्रममा उनले अहिलेको सरकारले राम्रो काम गर्न नसके देश, जनता र पार्टीलाई समेत घाटा हुने बताए । ‘तीनै तहमा वाम गठबन्धनको सरकार छ, यो सरकारले केही गर्न सकेन भने भोलि मुख देखाएर हेर्न लायक पनि हुँदैनाैँ, जनताले धिर्काछन्,’ उनले थपे, ‘हामीसँग धेरै चुनौतीसँगै धेरै अवसर पनि छन्, हामीले जिम्मेवारी बहन गर्नुको विकल्प छैन।’

सरकार र मन्त्री मात्र जिम्मेवार भएर समृद्धि नआउने भन्दै उनले सबै मिलेर परिश्रमपूर्वक काम गरे मात्र समृद्धि हासिल गर्न सकिने बताए । ‘समृद्धि आकाशबाट बर्सिने होइन, आफंै आउँदैन, घर बस्दा–बस्दा आउने होइन,’ उनले भने, ‘हामी सबैले मिहेनत गर्नुपर्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको नारा रहेकाले त्यसका लागि सबै नागरिकले रोजगार, खाने लाउने व्यबस्था पाउनुपर्ने बताए। 

महिला आरक्षणप्रति लक्षित गर्दै उनले अबको महिला पुरुषसँग प्रतिष्पर्धा गर्न सक्ने हुनुपर्नेमा जोड दिए । ‘कोटा छुट्याएको भात खानुको सट्टा आफैले कमाएर खानसक्ने हुनुपर्छ,’ उनले भने । महिला हेपिनु, थिचोमिचोमा पर्नुको कारण महिला उत्पादनसँग जोडिन नसक्नु प्रमुख भएको भन्दै उनले पुरुषमा परनिर्भरता घटाउन सके महिला हिंसा पनि घट्ने बताए । कार्यक्रममा राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेशसभा सभासद मुनु सिग्देल, जुनेली श्रेष्ठ, पूर्व सांसद अनन्त पौडेल, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पद्मा पौडेल, जिल्ला अध्यक्ष पार्वती रानालगायतले महिला अधिकारलाई सरकारले पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै महिला पनि अधिकारसँगै कर्तव्यप्रति पनि जिम्मेवार हुनुपर्ने बताए।

प्रकाशित: २५ फाल्गुन २०७४ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App