केही वर्ष अघिदेखि बजारमा सस्तोमा मैनबत्ती पाइन थालेपछि माटोबाट बनेका पालाको व्यापार ह्वात्तै घट्न थाल्यो । मैनबत्तीले बजार पिटेपछि कतिपयले पाला व्यवसाय नै छाडे । तर, भक्तपुर लिवालीका ४४ वर्षीय शमशेर प्रजापतिले भने व्यवधान बनेर आएको मैनबत्तीमै समाधान देखे।
मैनबत्तीले पालाको व्यापार घटाइरहेका वेला उनले पालामै मैन भरेर नयाँखाले पाला उत्पादन गर्न थाले । पहिले मैनबत्तीदेखि अत्तालिएका उनी अहिले भने, त्यसैलाई कच्चा पदार्थका रूपमा प्रयोग गरेर व्यवसाय धानिरहेका छन् ।
‘मैन अहिले मेरो व्यवसायको अवरोध होइन, सहयोगी भएको छ,’ लिवालीस्थित कारखानामा भेटिएका प्रजापतिले भने, ‘यसले मेरो व्यवसायलाई नयाँ उचाइ दिएको छ ।’ प्रतिगोटा एक रुपैयाँमा पुरानाखाले पाला बिक्री गर्दै आएका उनी मैन भरेका पाला भने १४ देखि १५ रुपैयाँ प्रतिगोटामा बेचिरहेका छन्।
मैनबत्तीले पालाको व्यापार घटाइरहेका वेला उनले पालामै मैन भरेर नयाँखाले पाला उत्पादन गर्न थाले । पहिले मैनबत्तीदेखि अत्तालिएका उनी अहिले भने, त्यसैलाई कच्चा पदार्थका रूपमा प्रयोग गरेर व्यवसाय धानिरहेका छन्।
परम्परा र आधुनिकताको फ्युजन गरी पाला बनाउन थालेपछि यसको माग बढेको छ । माग बढेर व्यवसाय फस्टाएपछि अहिले आफ्नै टोलका करिब दुई दर्जन महिलालाई उनले रोजगारी दिइरहेका छन् । ‘अहिले यो काममा १६ महिलाले रोजगारी पाएका छन्,’ उनले भने, ‘तिहारका लागि उत्पादन गर्नुपर्दा भने अझै धेरै कामदार चाहिन्छ ।’ आफूले उत्पादन गरेका मैन–पाला मुलुकका विभिन्न भागमा पुग्ने गरेको उनले बताए।
मुख्यतः पालाको व्यापार तिहारकै वेला हुने गर्छ । तर, मन्दिर, पूजाआजा तथा अन्य समारोहमा समेत पाला बाल्ने चलन छ । त्यसले गर्दा वर्षभर नै यसको व्यापार हुने उनी बताउँछन् । ‘वार्षिक ३५ लाख जतिको कारोबार हुन्छ,’ उनले भने, ‘यसले मेरो र यहाँ काम गर्ने सबैको घर उज्यालो भएको छ।’
माटोका सामग्री बनाउने शमशेरको पुख्र्यौली पेसा हो । उनका बाबुबाजे पनि माटोका परम्परागत भाँडा बनाउने काम गर्थे । माटाका भाँडा बनाउने कामसँगै पढाइलाई पनि अघि बढाएका उनले आफ्नो पेसालाई आधुनिकीकरण गरेको बताउँछन्।
‘पुराना भाँडाकुडाको ठाउँमा सेरामिकका सामान बनाउने सोच आयो,’ उनले भने, ‘त्यसैले सम्राट सेरामिक नामक उद्योग समेत खोलेको छु ।’ सेरामिकका अन्य सामानभन्दा पनि मैन–पालाको व्यापार धेरै फस्टाएको छ । ‘जे चल्यो, त्यसैमा बढी ध्यान दिने हो,’ उनले भने, ‘अहिले मेरो उद्योगमा मैन–पाला बनिरहेको छ।’
प्रजापतिको पाला कारखानामा काम गर्नेहरू पनि आफ्नै टोलमा काम पाएकामा खुसी छन् । मैन–पाला बनाउँदै आएकी पुण्डेश्वरी मारिखु यहाँको कमाइले छोराछोरीको पढाइ खर्च धानिएको बताउँछिन् । ‘नयाँ ढंगले गरेको व्यवसायले सबैको राम्रो भएको छ,’ उनले भनिन्, ‘पालामा मैन भरेर बत्ती बनाउन पाउँदा खुसी लागेको छ ।’
प्रकाशित: २५ फाल्गुन २०७४ ०५:०२ शुक्रबार