७ वैशाख २०८१ शुक्रबार
अन्य

नाम मात्रका नगरपालिका

ललितपुरको गोदावरी नगरपालिकामा सडक र खानेपानी मुख्य समस्याका रूपमा छन् । कृषि क्षेत्रका लागि उर्वर मानिने यो नगरपालिकामा अपेक्षित कृषि उत्पादन गर्न भने सकिएको छैन।

जिल्लाभित्रका सहरी इलाकाभित्र शिक्षा र स्वास्थ्य केही रूपमा अगाडि भए पनि ग्रामीण क्षेत्रको स्थिति भने नाजुक नै छ । यी समस्या सरकारले घोषणा गरेको नयाँ स्थानीय तहका हुन् । जसले गर्दा नगरबाट पाउनुपर्ने सामान्य सुविधा समेत नगरवासीले लिन सकेका छैनन् । ‘हामीलाई नगरपालिका भएर कुनै प्रभाव परेको छैन,’ गोदावरी टौखेलका सुमन थापाले भने, ‘नगरपालिका भएपछि बरु समस्या पो थपिदिएका छन्।’

उनका अनुसार नगरपालिकाले फोहोर नउठाउनु, सडक विस्तार नगर्नु, कच्ची सडक कालोपत्रे नगर्नु, नगर क्षेत्रभित्र ढल निकासको व्यवस्था नगर्नु, फुटपाथ व्यवस्थित नगर्नुलगायत अनेकौँ समस्या नगरवासीले बेहोर्दै आएका छन् । नगरपालिका बनेपछि उल्टै करको दायरा र झन्झट मात्र थपिदिएको उनले बताए । आफ्नो गाउँलाई नगरपालिका घोषणापछि ललितपुुरका विकट नगरपालिकावासीको जीवनस्तर जहीँको तहीँ छ । गाविस नगरपालिका भइसकेपछि कुनै सुखको अनुभूति गर्न नपाएको उनीहरूको भनाइ छ।

गोदावरी नपाका विकट अवस्थामै रहेका स्थान हुन्, विशंखुनारायण, बडिखेल, डुकुछाप र लामाटार । यी क्षेत्र पहिले गाविस थिए । नगरपालिका भइसकेपछि पनि स्थानीयले विकासको अनुभूत गर्न पाएका छैनन् ।  
गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले सरकारकै कारण जनप्रतिनिधिहरू बेकामे भएर बस्नुपरेको बताइन्।

‘हामीले भएका काम गर्ने हो, माथिल्लो निकायले संयन्त्र ठीक पार्नुपर्‍यो, हाम्रा काम के के हुन् तोकिदिनुपर्‍यो,’ उनले भनिन्, ‘नत्र जनप्रतिनिधिले काम गरेनन् भनेर मात्रै हुँदैन।’ उनले उपमेयरले गर्ने काम धेरै भए पनि आफू निर्वाचित भएयता दुई–तीनवटा न्याय सम्पादनका काम मात्रै भएको सुनाइन् । ‘एक–दुईवटा घरायसी बेमेलका मुद्दा हेरेकी छु,’ उनले थपिन्, ‘अहिलेलाई कार्यालयमा अन्य काम खासै छैनन् ।’करिब ३६ हजार ६ सय ८३ हजार जनसंख्या भएको गोदावरी नगरपालिका पर्यटनको सम्भावना बोकेको स्थान हो । नगरपालिका भइसकेपछि पनि यस क्षेत्र जुर्मुराउन सकेको छैन।

गोदावरी नगरपालिका मात्रै होइन, जिल्लाका प्रायः नगरपालिका र गाउँपालिका अव्यवस्थित छन् । टहरामा कार्यालय, भद्रगोल पुराना फाइल, डिजिटलाइनेसनको समस्या, जनशक्तिको कमीजस्ता समस्या स्थानीय तहले खेप्नुपरेको छ । दक्षिण ललितपुरमा पर्ने कोञ्जोसोम गाउँपालिकाको अवस्था पनि उस्तै छ । भवन नहुँदा टहरामा कार्यालय सञ्चालन भइरहेको छ । कार्यालय आउने सेवाग्राहीहरू बस्ने र सहज रूपमा सेवा लिन पाउँदैनन् । गाउँपालिकाका प्रमुख गोपीलाल स्यान्ताङले झन्डै ५८ लाख ३८ हजार रुपैयाँ पर्ने गाडी चढ्छन्।

गोदावरी नपाका विकट अवस्थामै रहेका स्थान हुन्, विशंखुनारायण, बडिखेल, डुकुछाप र लामाटार । यी क्षेत्र पहिले गाविस थिए । नगरपालिका भइसकेपछि पनि स्थानीयले विकासको अनुभूत गर्न पाएका छैनन् ।

कार्यालय व्यवस्थापन भने भद्रगोल अवस्थामा छ । उनले भवनका लागि बजेट नआएकाले टहरामा कार्यालय सञ्चालन गर्नुपरेको सुनाए । ‘हामीले सक्दो सेवा प्रवाह गरिरहेका छौँ,’ उनले भने, ‘सरकारबाट रकम आयो भने मात्रै भवन बन्छ ।’ उनका अनुसार अहिले कार्यालयमा कर्मचारीको पनि अभाव छ ।  १० जनाको भरमा कार्यालय सञ्चालन भइरहेको छ।

गाउँपालिकाले स्थानीयका झिना समस्या समेत नसल्टाएको स्थानीयले गुनासो गरे । ‘पहिले–पहिले गाविसमै गए काम सकिन्थ्यो,’ कोञ्जोसोम गाउँपालिकाका रोजित तामाङले भने, ‘गाउँपालिका आएपछि झन् अलमल हुन्छ, सानातिना काम गर्न पनि तीन दिनभन्दा बढी लाग्छ ।’ उनले गाउँपालिका नहुन्जेल गाविस, जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय धाउने गरेको जानकारी दिए।

उनका अनुसार यी सबै सेवा गाउँपालिकामै उपलब्ध हुने भनिए पनि गाउँपालिकामा जाँदा स्थानीय अलमल पर्छन् ।’ उनले गाउँपालिकामा हरेक दिन प्रमुख नभेटिने र झिनो काममा पनि धेरै समय धाउनुपर्ने बाध्यता रहेको गुनासो गरे।

यो गाउँपालिकामा समेटिएका साविकका सबै गाउँमा कच्ची सडक पुगे पनि नियमित गाडी चल्दैन । बर्खाका बेला स्थानीयहरू गाउँमा उब्जनी भएको कृषि उत्पादन कुहिएर खेर फाल्न बाध्य छन् । ‘अब त गाउँपालिका बन्यो, केही फेरबदल होला भनेको अहिले पनि उस्तै छ,’ वागमती गाउँपालिका बुखेलका स्थानीय सुरेश तिम्लिसिनाले भने, ‘पहिलेको गाविस र गाउँपालिकामा खासै भिन्नता छैन ।’ उनले भूकम्पमा क्षति भएको घर बनाउन गाउँपालिकाले अझै नक्सापास नगरिदिएको गुनासो गरे।

वाग्मती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले गाउँपालिकाको आफ्नै भवन नहुँदा कार्यालय व्यवस्थापन गर्न कठिनाइ परेको बताए । उनका अनुसार भवन नहुँदा वडा कार्यालयहरू सञ्चालनमा पनि अप्ठेरो परेको छ । वडा कार्यालयहरू अरु नै संस्थाका भवन भाडामा लिएर सेवा दिइरहेका छन् । ‘जेनतेन व्यवस्थापन त गरेका छौँ,’ उनले भने, ‘सेवाग्राहीलाई सहजता दिन सकेका छैनौँ ।’ उनले सरकारले भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरे कार्यसम्पादनमा सहज हुने बताए।

यो गाउँपालिका दक्षिण भेगमा पर्छ । गाउँपालिका जोड्ने मुख्य सडकको अवस्था पनि नाजुक छ । सडक विस्तारका लागि भनेर गाउँपालिकाले एक करोडभन्दा बढी छुट्याएको छ । उक्त रकम हालसम्म खर्च भएको छैन । ‘कृषि र सडकलाई हामीले केन्द्रमा राखेका छौँ,’ प्रमुख लोप्चनले भने, ‘शिक्षा र स्वास्थ्यका लागि सरकारले छुट्याइदिएको बजेट थोरै छ।’

यो गाउँपालिकाको मुख्य चुनौती सडक सञ्जाल विस्तार गर्नु र गाउँमा उत्पादन भएको कृषिलाई सहरसम्म पु¥याउनु हो । दक्षिण ललितपुरका कोञ्जोसोम, वाग्मती र महांकाल गाउँपालिकाका अधिकांश बासिन्दा कृषि पेसामा संलग्न छन् । उनीहरूले परम्परागत रूपमै खेती गर्दै आएका छन् । दूध, तरकारी धेरै उत्पादन हुने गरे पनि आधुनिक कृषि प्रविधि गाउँमा पुर्‍याउन मुख्य चुनौती भएको कोञ्जोसोम गाउँपालिका प्रमुख स्यान्ताङले जानकारी दिए।

प्रकाशित: २५ फाल्गुन २०७४ ०५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App