दमाकस– हिंसा जारी रहेको सिरियाको पूर्वीसहर गुटामा अझै पनि राहत सामग्री पुगेको छैन। मानवीय सहायता कार्यक्रम हिंसाकै कारण रोकिएको हो।
गुटामा जारी द्वन्द्वका कराण त्यहाँ पुग्न नसकिने भएको हुनाले कार्यक्रम नै स्थगित गरिएको रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी (आइसिआरसी)ले जानकारी दिएको छ । युद्ध चलिरेहेको र बमबारी भइरहेको अवस्थामा मानवीय सहयोगको कार्य अघि बढाउन नसकिएकाले कार्यक्रम स्थगित गरिएको आइसिआरसीका प्रवक्ता इन्गी सेदकीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।
यसै साताको सोमबार पनि सिरियाको गुटा क्षेत्रनजिकै पुगेका संयुक्त राष्ट्रसंघीय सहायताकर्मीको एक समूहले सहायता वितरणको आफ्नो कार्यक्रम छोट्याउनु परेको थियो । सो क्षेत्रमा केही सातादेखि हिंसा जारी रहेका कारण मानवीय सहायताको लागि सोमबार गुटाको नजिकैको क्षेत्रमा पुगेर सहायताकर्मीले अत्यावश्यकीय सामान भने सानै मात्रामा भए पनि वितरण गर्न पाएका थिए ।
हिंसाको त्रास नरोकिएको भन्दै उक्त संस्थाले आफ्ना कार्यक्रमलाई छोट्याउन लागेको सोही समयमा नै बताएको थियो । सिरियाको गुटामा अझै पनि सिरियाली सैनिकको हवाई हमला रोकिएको छैन । गएका दुई सातादेखि गुटा सहरमा जारी रहेको द्वन्द्वको कारण साहायताकर्मी पनि पुग्न सकेका छैनन् । युद्धको चेपुवामा करिब चार लाख मानिस परेका छन् र ती पनि खानेकुरा नपाएर मरिरहेका बताइएको छ ।
रुसी र सिरियाली सेनाले गरेको हमलाका कारण चेपुवामा परेका नागरिकलाई कुनै सहायता सामग्री पनि उपलब्ध गराउन नसकिएको जानकारी यसअघि राष्ट्रसंघले दिँदै आएको थियो । गुटामा जारी रहेको हिंसाको पछिल्लो तथ्यांकअुनसार गएको दुई साता भित्र उक्त क्षेत्रमा सात सय ६० जना सर्वसाधारण मारिएका छन् । सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा गुटामा भएको यो हिंसालाई एउटा ठूलो रक्तपातपूर्ण कारबाहीको रूपमा हेरिएको छ ।
प्रकाशित: २५ फाल्गुन २०७४ ०६:४६ शुक्रबार