८ वैशाख २०८१ शनिबार
अर्थ

पेट्रोलियम पाइपलाइनको काम शुरु

वीरगञ्ज – नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ। 

सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किमी लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको जिम्मा पाएको भारतीय कम्पनी लिखिया इन्फ्रास्ट्रक्चरका प्राविधिकले पाइप जोड्ने काम शुरु गरेका छन्। १५ महिनाभित्र पाइपलाइन विस्तार गर्ने लक्ष्य लिएको सिमरास्थित पेट्रोलियम पाइपलाइन विस्तार आयोजनाले पाइप जोड्ने काम सकिएपछि जमीनमुनि पुर्ने काम गर्नेछन्। त्यसका लागि खाल्डो खन्ने यन्त्र भारतबाट ल्याउन लागिएको आयोजनाका प्रमुख शरदकुमार पौडेलले बताए। सो पाइपलाइन सिर्सिया नदीमुनिबाट लगिने बताइएको छ। 

भारत सरकारको इण्डियन आयल कर्पोरेशन (आइओसी)को करीव ३५० करोडको लागतमा निर्माण भइरहेको सो पाइपलाइनका लागि सबै पाइप आइसकेकाले जडान गर्ने काम धमाधम भइरहेको छ। नेपालतर्फ रक्सौल–अमलेखगञ्जसम्म ३६.७ किमी र भारत मोतीहारी रक्सौलसम्म ३३.२ किमी गरी ६९.९ किमीको पाइपलाइन निर्माण हुन लागेको आयोजनाले जनाएको छ। 

आयोजना निर्माणको जिम्मा पाएको आइओसीले जनवरीदेखि वीरगञ्जमा पाइप आउन थालेको हो। प्रतिमहिना रु दुई लाख ३० हजारका दरले वीरगञ्जस्थित चिनी कारखानाको दुई बिघा जग्गा भाडामा लिएर भण्डारणस्थलमा सो पाइप भण्डारण गरिएको छ। पाइपलाइन प्रयोगमा आएपछि प्रतिघण्टा दुई लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा खसाल्ने लक्ष्य राखिएको छ। पाइपलाइनले पेट्रोलियम पदार्थको शुद्धता कायम राख्ने र चुहावट नियन्त्रणमा समेत रोकिने विश्वास परियोजनाले लिएको छ। पाइपलाइन सञ्चालन भएपछि नेपाल सरकारले बेहोर्दै आएको रु एक अर्ब ५० करोड छ वर्षसम्म बचत हुने बताइएको छ। यसले पेट्रोलियम ढुवानी लागत सस्तो हुने तथा चोरी, चुहावट, मिसावट तथा ट्राफिक जामजस्ता समस्या हट्नेछन्। 

पाइपलाइनबाट एक पटकमा तीन हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। वीरगञ्जको शंकराचार्यद्वारबाट तीन किमी गण्डक नहरसम्म बाइपास सडकको दायाँ भाग र त्रिभुवन राजपथको गण्डक अमलेखगञ्ज खण्डमा सडकको दायाँबायाँ भागमा पाइप ओछ्याउने योजना छ। भारत महाराष्ट्रको जिन्दल कम्पनीले माटो परीक्षण गरी जडान भइरहेको पाइपको गोलाइ १०.७५ इञ्च तथा मोटाइ ०.२१९ इञ्च छ। रासस 

प्रकाशित: २५ फाल्गुन २०७४ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App