७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

चुनौतीपूर्ण डिम्बासय क्यान्सर

डा. गणेश दंगाल 

डिम्बासयको क्यान्सर चिकित्सा विज्ञानमा एउटा ठूलो चुनौतीको रूपमा रहेको छ । चिकित्सा विज्ञानको अकल्पनीय विकास भए पनि यो रोग अझै रहस्यमय रहनुका साथै चिन्ताको विषय बनेको छ । अति नै फैलिइसकेको अवस्थामा बाहेक प्रायः लक्षणरहित हुने हुनाले रोगको निदान यो रोग लागेको धेरैपछि हुन्छ । त्यसैले यसलाई स्त्रीमा हुने क्यान्सरमा सबैभन्दा खतरनाक मानिन्छ ।

३५ वर्षभन्दा कम उमेरका महिलालाई यो रोग बिरलै लाग्छ । तर, उमेर सँगसँगै यसको प्रकोप पनि बढ्छ । ८० प्रतिशतभन्दा बढी डिम्बासयको क्यान्सर महिनावारी सुकिसकेका महिलामा पाइएको छ।

प्रायः दुईमध्ये एक डिम्बासयमा यो रोग लाग्छ । तर दुवैमा क्यान्सर हुनेको संख्या पनि उल्लेखनीय हुन्छ । यो क्यान्सर विकासोन्मुख वा कम विकसित राष्ट्रका महिलालाई बढी लागेको पाइन्छ । विकसित राष्ट्रका महिलामा स्तन क्यान्सरपछि दोस्रोमा यो क्यान्सर लागेको पाइन्छ । उदाहरणका लागि अमेरिकामा हरेक सय महिलाको जीवन अवधिमा दुई जनालाई यो रोगले समात्छ । विकासोन्मुख राष्ट्रका महिलामा भने स्तन क्यान्सरपछि पाठेघरको मुखको क्यान्सर दोस्रोमा आउँछ।

३५ वर्षभन्दा कम उमेरका महिलालाई यो रोग बिरलै लाग्छ । तर, उमेरसँगसँगै यसको प्रकोप पनि बढ्छ । ८० प्रतिशतभन्दा बढी डिम्बासयको क्यान्सर महिनावारी सुकिसकेका महिलामा पाइएको छ। 

यो रोग धेरैजसो पेटमा भित्रभित्रै फैलिइसकेको अवस्थामा मात्र लागेको थाहा पाइने भएकाले रोगीको बा“च्ने दर पनि कम हुन्छ । त्यसैले सही उपचारपछि पनि समग्रमा सबै अवस्थाका बिरामीमा लगभग २५ प्रतिशत रोगी मात्र पाँच वर्षभन्दा बढी बा“चेको पाइएको छ । तेस्रो वा चौथो अवस्थाका अर्थात् फैलिइसकेका रोगीमध्ये १० प्रतिशत मात्र पाँच वर्षभन्दा बढी बाँच्छन् ।

रोगको कारण

यो रोग लाग्ने कारण किटानीका साथ भन्न सकिँदैन, त्यसैले हालसम्म यो रोग रहस्यमय रहेको छ । हालसम्मका अध्ययनबाट निम्न बमोजिमका कारण पत्ता लागेका छन्। 

लामो प्रजनन अवधि अर्थात् चाँडो (कम उमेरमा) महिनावारी हुने अनि ढिलो महिनावारी सुक्ने महिलामा यो रोग बढी पाइएको छ। 

 बच्चा नजन्माएका, निःसन्तान तथा बाँझोपन उपचार गराउनेमा बढी देखिएको छ। 

वातावरणीय प्रदूषक जस्तै : टल्क पाउडर, एस्वेस्टसको संसर्गमा आएकामा तथा ज्यादा बोसोयुक्त खानेमा यो रोग बढी पाइएको छ।

 यो रोग परिवारका नजिकका सदस्यमा भए अरुलाई पनि हुने खतरा रहन्छ । यस्ता व्यक्तिमा सामान्य महिलालाई भन्दा कम उमेरमै यो रोग देखापर्न सक्छ । परिवारमा एकजना कसैलाई स्तन क्यान्सर भए पनि अन्य सदस्यलाई यो रोग लागेको पाइएको छ।

स्तन क्यान्सर, पाठेघरभित्रको क्यान्सर वा आन्द्राको क्यान्सर भएकालाई यो रोग पनि हुने सम्भावना अरुलाई भन्दा बढी छ। 

रोगका लक्षण

सुरुमा लक्षणरहित रहन सक्छ वा सामान्य खालका विभिन्न लक्षण देखापर्न सक्छन्। 

पेटमा असुविधा हुने वा दुखाइ हुने प्रमुख लक्षण हुन् भने पेट फुल्ने वा पेटमा डल्ला/गाँठा भेटिने अन्य लक्षण हुन् । 

कसैकसैलाई पेटमा भएको डल्लाको दबाबले अपच हुने, छिटो पिसाब लाग्ने वा पेटमा धेरै पानी जम्मा भई श्वासप्रश्वासमा समस्या हुने लक्षण पनि देखिन्छ । 

कब्जियत हुने, यौन सम्पर्क पीडादायक हुने ।

धेरै कमलाई मात्र महिनावारीमा अनियमितता वा महिनावारी सुकिसकेको अवस्थामा पनि पुनः रगत बग्ने समस्या हुन्छ ।

रोग फैलिँदै जाँदा छातीमा पानी जम्मा हुने, शरीरका अन्य भागमा गिर्खा देखिने वा दिमागमा असर पर्ने हुन सक्छ । 

 रोग फैलिइसकेको अवस्थामा भोक नलाग्ने, दुब्लाउ“दै जाने, वाकवाकी र बान्ता हुने हुन सक्छ।  

निदान 

यो रोग निदानका लागि रगतको जाँच गर्नुपर्छ।  

पेटको भिडियो एक्सरे गर्नुपर्छ। 

छातीको एक्सरे गर्नुपर्छ।

 पेट/छातीमा भरिएको पानीमा क्यान्सरको कोशिका रहे वा नरहेको जा“च आदि सहायकसिद्ध छन् भने पक्कापक्की डिम्बासयबाट मासुको टुक्रा निकाली बायोप्सी जाँचबाट गरिन्छ। 

 घाँटी या जाँघमा गिर्खा बढेको भए सुइद्वारा कोशिका झिकेर क्यान्सर कोषिका भए/नभएको जाँच गरिन्छ । 

यीबाहेक अन्य विशेष जाँच जस्तै : सिटी स्क्यान वा एमआरआई आदि पनि निदान तथा उपचारका क्रममा गराउनुपर्ने हुन सक्छ ।

 शल्यक्रिया गरी पेट खोलेर पेटभित्र रहेको ट्युमर जाँचबाट पनि यो क्यान्सरको निदानमा सहयोग पुग्दछ ।

 ट्युमर मार्कर जस्तै : सिए– १२५ को जाँच पनि त्यति प्रभावकारी वा सहयोगिसिद्ध छैन । रजस्वला बन्द भइसकेका महिलामा यी मार्कर ज्यादै नै बढी मात्रामा देखापरेमा मात्र क्यान्सरको शंका हुन्छ । 

उपचार

क्यान्सरको उपचार र निदान दुवैका लागि शल्यक्रिया मुख्य पद्धति हो । शल्यक्रियामा पेट खोलेर सबै अंगप्रत्यंगको जाँच गरिसकेपछि आवश्यकता अनुसार ट्युमर/क्यान्सर झिक्ने काम गरिन्छ ।

शल्यक्रिया अघि या पछि किमोथेरापीको प्रयोग गरिन्छ । सामान्यतः किमोथेरापी ६ पटक दिनुपर्छ र यो करिब एकएक महिनाको फरकमा लगाइन्छ । यसले यो रोगलाई नियन्त्रण गर्न मद्दत गर्दछ । सामान्यतः एकपटकमा यसको खर्च पा“च सात हजार पर्दछ । किमोथेरापी शल्यक्रियाको लगत्तै सुरु गर्नुपर्छ । डेढ महिनाभन्दा ढिलो गर्नु राम्रो मानिँदैन । यसमा प्रायः एकभन्दा बढी थरीका औषधि प्रयोग गरिन्छ । यसो गर्दा किमोथेरापीको प्रभावकारिता बढेको पाइएको छ ।

किमोथेरापीमा प्रयोग गरिने औषधि ज्यादै नै कडा हुनाले बिरामीमा विभिन्न खराब असर जस्तै : वाक्वाकी लाग्ने, बान्ता हुने, खानाको रुचि घट्ने, कलेजो वा मिर्गौलामा असर पर्ने, कपाल झर्ने रक्तअल्पता गराउने, आदि देखापर्न सक्छन् । 

उपचारका दृष्टिकोणले यो एकदमै असहज वा अप्ठेरो ट्युमर हो । एकातर्फ यो रोग ढिलो पत्ता लाग्छ भने अर्कोतर्फ यसलाई उपचार गर्ने असरदार उपचार विधि हालसम्म विकसित भइसकेको छैन ।

पूरै ट्युमर झिक्न सकेमा बिरामीको बा“च्ने अवधि बढाउन सकिन्छ र कतिपय अवस्थामा किमोथेरापीले पनि रोगीको आयु लम्ब्याउन मद्दत गर्दछ ।

रोकथाम

डिम्बासय क्यान्सरको पारिवारिक इतिहास भएका महिलामा यो क्यान्सर विकसित हुने अधिक सम्भावना भएको हुँदा उनीहरूले विशेष चिकित्सकीय निगरानीमा रहनुपर्दछ।

 त्यस्ता महिलामा अर्धवार्षिक रूपमा नियमित चिकित्सकीय परीक्षणका साथै योनिमार्गबाट डिम्बासयको विशेष भिडियो एक्स–रे जाँच गराउनुपर्दछ ।

पूर्वपरीक्षणको रूपमा गरिने ट्युमर मार्करको अध्ययन त्यति सहयोगीसिद्ध पाइएको छैन ।

पूर्वपरीक्षणकै रूपमा स्तनको जाँच, ठूलो आन्द्राको जाँच, पाठेघर भित्रको जाँच आदि पनि गर्नुपर्ने हुन सक्छ। 

त्यस्ता महिलामा बच्चा जन्माउने काम पूरा भएपछि वा परिवार संख्या पूर्ण भएपछि प्रतिरक्षात्मक दृष्टिकोणले दुवै डिम्बासय झिक्ने शल्यक्रिया गर्नु पनि जरुरी छ।

प्रकाशित: २६ फाल्गुन २०७४ ०५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App