१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सुन्दर दक्षिणी ललितपुर

रामदेवी महर्जन 
पहारिलो घामसँगै सिरसिरे वतास । वताससँगै डाँडामा अवस्थित टावरको गोलाकार सेतो भाग आफ्नै गतिमा चल्दै थियो । त्यत्तिकैमा हुँइय उड्दै हवाइजहाज आयो । सबैका आँखा आकाशतिर सोझिए । जहाज आफ्नै गतिमा टावर छेउ हुँदै गयो । एकै छिनमा अर्को जहाज आयो । त्यो पनि टावर नजिकैबाट गयो।   

भट्टेडाँडाको सेतो टावर दायाँ बायाँ हुँदै जहाज जान्छन् । यसलाई राडर टावर भनिन्छ । टावरले नेपालभित्र र बाहिरबाट आउने जाने सबै जहाजको रेखदेख गर्छ । टावर मूनि कन्ट्रोल रुममा राखिएका कम्प्यूटरले जहाज आए–गएको हवाई अड्डामा सूचना प्रवाह गर्छ जसले सुरक्षित अवतरण र उडानमा सहयोग पुग्छ। 

टावरले २४ सै घन्टा काम गर्छ । पहिला यहाँ स्यानो टावर मात्र थियो । ०४९ साउन १२ को हवाई दुर्घटना पछि जापानी सरकारको सहयोगमा ठूलो टावर बनाइएको हो।  

भट्टेडाँडा र देवीचौर जस्ता सुन्दर गन्तव्य थुप्रै छन् दक्षिण ललितपुरमा जहाँ तीन सातासम्म घुमफिर गर्न सकिन्छ । 

दक्षिणी ललितपुरको भट्टेडाँडा आफैमा एउटा भ्यूटावर हो । डाँडामा चौर छ । डाँडाबाट चारैतिर सुन्दर दृष्य देखिन्छ । राडार टावरले डाँडाको महत्व बढाएको छ । तर अचम्म ! देशको यति सम्वेदनशील स्थानमा हामीले सुरक्षा निकाय भने देखेनौं। 

यहि भट्टेडाँडा (२,३०० मिटर) मा माघ २७ गते प्रकृतीप्रेमी समूहको १२९ औं नियमित हाइकिङमा पुगेका थियौं हामी । हाम्रो समूहमा २३० जना थियौं । राडार छेउको चौरमा बसेर स्वास्थ्यबर्धक खाजा खायौं हामीले।   
पुसमाघ– चारैतिर छर्लङ हिमाल खुल्ने महिना । हिमाल प्रकृतिको सुन्दर सृष्टि । सबैलाई हिमाल मनपर्छ । अझ हिमालको उज्यालोमा पदयात्रा गर्दा सबैको मन प्रफुल्ल बन्छ । भट्टेडाँडामा पनि हिमाल हेर्दै पदयात्रा गर्न सकिन्छ । काठमाडौं नजिकैको गन्तव्य–भट्टेडाँडा। 

भट्टेडाँडा दक्षिण ललितपुरको पहाडी इलाका । यहाँबाट देखिने हिमालको दृश्य र हरियालीले मन छुन्छ । तीनपाने भञ्ज्याङबाट ३ किमिमा भट्टेडाँडा पुगिन्छ । तीनपाने एउटा स्यानो बजार । पहिला कान्ति राजपथको प्रख्यात बजार थियो । अहिले पनि खाजा पसल छन् । तीनपानेबाट १ घण्टा उकालो चढ्नुपर्छ भट्टेडाँडा पुग्न । 
डाँडासम्मै मोटरबाटो छ । हवाई दुर्घटना पछि यो डाँडा चर्चामा आयो । ०४९ साउन १२ गते यहाँको सातकन्यामा पाकिस्तानी एयरलाइन्सको हवाइजहाज दुर्घटना हुँदा १६७ जनाको ज्यान गएको थियो । त्यहीबेलादेखि भट्टेडाँडा देश÷विदेशमा प्रख्यात भयो। 

चारैतिर हरिया डाँडाले घेरिएको महाभारत श्रृखलामा पर्ने अग्लो डाँडा । यसकै नाउँबाट गाविसको नामाकरण गरिएको थियो । डाँडाबाट आँखाले भ्याएसम्म हरियाली देखिन्छ भने मौसम खुल्दा पश्चिमदेखि उत्तर पूर्वसम्म सेता हिमाल । प्राकृतिक सौन्दर्यको खानी–भट्टेडाँडा । यहाँको विद्युतिय रोप वे एउटा आकर्षण । यसको संरक्षण गर्न सके अध्ययन गर्नेहरुलाई सजिलो हुने थियो । त्यस्तै काठमाडौंलाई हेटौंडासँग जोड्ने कान्ति राजपथ यतैबाट गएको छ । भट्टेडाँडा हाइवेको जक्सन पनि हो।  

भट्टेडाँडा नाउँ रहनुमा थरिथरिका भनाई छन् । विगतमा व्यापक रुपमा घरेलु मदिरा उत्पादन र बिक्रि हुने ठाउँ भएकाले डाँडामा भट्टी थिए । भट्टि भएको ठाउँ भएकाले भट्टी डाँडा भन्दाभन्दै भट्टेडाँडा भनिएको भनाई छ । 
लगनखेलबाट २५ किमि दुरीको डाँडामा पर्यटनको प्रशस्तै संभावना छ ।  सातकन्यामा भ्यू टावर र पिकनिक स्पट बनाउन सके घुमन्तेको भिड लाग्नेथियो । त्यहाँको राडार टावर पनि अध्ययन केन्द्र बन्न सक्छ । मौसम खुल्दा डाँडाबाट १८० डिग्रीमा सेता हिमालको लर्कन देखिन्छ भने तलतल काठमाडौं उपत्यकाको सुन्दर दृश्य । दक्षिणमा महाभारत सृङखलाको हरियालीका साथै तराईका फाँट अवलोकन गर्न सकिन्छ।  

डाँडामा रिसोर्ट र होटल खुलेमा एक रात बसेर सूर्योदय र सूर्यास्तका दृश्यमा भुल्न सकिन्छ । शितल वातावरणमा शरीर र मन चंगा बन्छ । राती काठमाडौंको झिलिमिलि मनमोहक देखिन्छ । 
डाँडाको पूर्वमा दल्चोकी र शंखु पर्छन भने पश्चिममा माल्टा, उत्तरमा घुसेल, देवीचौर र लेले अनि दक्षिणमा इकुडोल । त्यहाँबाट ४ किमिमा दल्चोकी र १० किमिमा माझखण्ड । भट्टेडाँडाबाट दल्चोकी र माझखण्ड पदयात्रा गर्न सकिन्छ । त्यतिमात्र होइन, यहाँका धार्मिक तथा ऐतिहासिक स्थलहरु, कृष्ण मन्दिर, निलेश्वरी महादेव, सतिदेवी, बाघ भैरव र महाँकाली देवीलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गर्न सके आन्तरिक पर्यटक लोभिन्छन् ।   
शितल जंगल क्षेत्र । कोइलीको कुहुकुहु । चैत–बैशाखमा जंगलभरी राताम्मे गुराँस । चराको चिरविर सुन्दै अनि प्रकृतिको सौन्दर्यमा आँखा डुलाउँदै पदयात्रा गर्दा मन रमाउँछ। 

भट्टेडाँडा हाइकिङका लागि मात्र होइन साइक्लिङ र बाइकिङका लागि पनि उत्तम मानिन्छ । साइक्लिङ टीकाभैरबबाटै सुरु गर्नु बेश हुन्छ । त्यहाँबाट कान्ती राजपथको मल्ल होटल हुँदै तीनपाने भन्ज्याङ भएर भट्टेडाँडा पुग्ने।
हाम्रो यात्रामा हामीले भट्टेडाँडामा स्वस्थबद्र्धक समयबजी, दुईथरी हरियो तरकारी र साँधेको आलु खायौं र अन्तिममा सलादस्वरुप स्याउ खायौं । हाम्रो पदयात्रामा जंक फुड र मैदाजन्य खानेकुरा प्रतिवन्धित छ । बीचमा मौसम अनुसारका फलफूल र घन्टा–घन्टामा पानी खुवाउँदै हिँडाउँछौं। 

खाजा खाएर हामीले राडर टावर र त्यहाँबाट देखिएको हिमाललाई पृष्ठभूमि बनाएर सामुहिक फोटा खिच्यौं । फोटोपछि हामी देवीचौरतिर लाग्यौं । हाम्रो पदयात्राको गन्तव्य थियो तीनपानेबाट राडर टावर र त्यहाँबाट देवीचौर हुँदै बुरुङचुली

भट्टेडाँडाबाट देवीचौर ३ किमि पश्चिममा पर्छ । मोटरबाटो देवीचौरसम्मै पुगिसकेको छ ।  
देवीचौरबाट काठमाडौं उपत्यकाको पुरा छवि देखिन्छ । हातैले छुन मिल्ने जस्ता सेता हिमालको लर्कन, निलो आकाशमूनि ठूलो चौर । काठमाडौंबाट मात्र १५ किमि दुरीको देवीचौर (२,००० मिटर)को पूर्वमा लेले, पश्चिममा घुसेल र मकवानपुर, उत्तरमा काठमाडौं र डुकुछाप पर्छन भने दक्षिणमा भट्टेडाँडा छन् । 
तामाङ बाहुल्य देवीचौरमा ब्राम्हण लगायत जातजातिको बसोबास छ । गाउँमा बौद्ध चैत्य छन् । दक्षिणकाली मन्दिर सामुन्नेको देवीचौर काठमाडौं नजिकैको सुन्दर गन्तव्य हो। 

देवीचौर नामाकरण बारेमा किँवदन्ती छन् । उहिल्यै देवीचौरमा गाई चराउने ठूलो चौर थियो । एक दिन गाई चराएर आउँदा गाइले आफैं चौरको शीलामा दूध चढाएको गोठालाले देखे । उनीहरु अचम्मित भए । त्यहाँ देवीको बास रहेछ भनेर गोठाला र गाउँलेहरुले पूज्न थाले । देवीको पूजापाठ गरिने चौर भएकाले देवीचौर भन्न थालियो ।  
हाल देवीको मन्दिर भएको ठाउँमा पहिला गोठ थियो भनिन्छ । श्रीस्वस्थानी ब्रतकथा अनुसार देवीचौरको देउराली भन्ने ठाउँमा सतीदेवीको अँग पतन भएपछि दूधेश्वरी महादेव उत्पन्न भएका । मृत सतिदेवी बोकेर हिँड्नेक्रममा महादेव यहाँ आइपुगेछन्। 

दूधेश्वरीलाई शक्ति पिठ मानेर पूजा गरिन्छ । स्वस्थानी ब्रत बस्ने समयमा माघमा मेला लाग्छ । प्रचारको कमिले देवीचौरमा बाहिरका तिर्थालु कमै आउँछन् । चौर मुनि देवीको स्यानो मन्दिर छ । हाल चौरमा खेल मैदान बनाइएको छ जहाँ युवाहरु फुटबल खेल्छ्न् । चौर वरपर पसल छैन । चौरमा बसेर हिमाल हेर्र्दै खाजा खान सकिन्छ ।  
त्यसैगरी डुकुछाप र देवीचौरको सीमामा पर्ने कटुवाल दहको आफ्नै महत्व छ । दहको पानीले नुहाएमा चर्म रोग निको हुने जनविश्वास । दहमा नयाँ वर्ष वैशाख १ गते मेला लाग्छ । दह नजिकै स्वर्गद्वारी मन्दिर छ । स्वर्गद्वारी, कटुवाल दह र दूधेश्वरीको एकिकृत प्रचार गर्न सके धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ देवीचौर क्षेत्र । साथै पिकनिक स्पट बनाउन सके बिदाका दिनमा गुल्जार हुन सक्छ। 

गाउँमा गुप्तेश्वर गुफा पनि छ । गुफाभित्र विभिन्न आकृति । त्यसको अध्ययन गरी प्रचार गर्नु पर्ने देखिन्छ ।  
सल्लाघारी जंगल बीचको स्वर्गद्वारीसम्मै मोटर बाटो खनिएको छ । देवीचौरको सुन्तोली डाँडाबाट प्याराग्लाइडिङ गराउन सकिन्छ। 

गाउँलेहरु कृषि उत्पादनमा रमेका छन् । मकै, कोदो, तरकारी, फलफूल फलाइन्छ । पशुपालनमा गाई, भैंसी र बाख्रापालन गरिन्छ । त्यहाँ जडीबुटी खेतीको संभावना पनि छ । 
डाँडामा सुविधायुक्त होटल, रेस्टुँरा र गाउँमा होमस्टे गराउन सके हिल स्टेशनमा बस्न आउनेको भिड लाग्नेछ । जहाँबाट काठमाडौं उपत्यका मात्र होइन, मकवानपुर र तराईसम्मको मनोरम दृश्यावलोकन गर्दै रात विताउन सकिन्छ । देवीचौरमा टावर बनाउने काम हुँदैछ । टावरले पर्यटक बढाउनेछ।   

देवीचौर र भट्टेडाँडाबाट मौसम अनुसारका सागसब्जी र फलफूल कोसेली ल्याउन सकिन्छ । 
देवीचौरबाट ओरालो झरेर बुरुङचुलीसम्म पदयात्रा गर्ने अथवा छम्पीसम्म हिँड्ने । गुचुमुच्च गाउँ, खेतीयोग्य जमिन, ग्रामिण जीवनशैली बुझ्न पाइन्छ यात्रामा । ललितपुर नजिकैको देवीचौर हिमाल र उपत्यका हेर्न प्रख्यात छ । 
त्यसो त राजधानीसंग कुम जोडेर बसेको दक्षिणी ललितपुर प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । । पदयात्रामा ग्रामिण जनजिवन, तामाङ जिवनशैली, हरिया महाभारत श्रृखला, उकाली ओराली, खोलानाला हेर्दै हिँड्न सकिन्छ । तर, यति सुन्दर पर्यटकीय महत्व बोकेको ठाउँमा पर्यटक र सरोकरावालाको दृष्टि पुगेको छैन । पर्यटन बोर्ड, पर्यटनकर्मी र सरोकारवालाको नजर परे सुन्दर पश्चिम जस्तै चम्कन सक्छ दक्षिण ललितपुर। 

दक्षिण ललितपुरमा स्वस्थ पर्यटन प्रबद्र्धन गर्न प्रकृतिप्रेमी समूहले गएको दशै–तिहार  बीचमा पाँच दिने पदयात्रा गराएको थियो । त्यतिबेला हामीले लेलेको टीकाभैरबबाट नल्लु पाथिभरा, गोठ भञ्न्याङ, मनकामना, दलचोकी, शंखु, माझखण्ड, भट्टेडाँडा हुँदै दलचोकीसम्मै ५ दिने पदयात्रा गरेका थियौं। 

आशा छ यहाँ पनि चाँडै पर्यटनको दियो बल्ने छ । बहुदिने पदयात्राका लागि दक्षिण ललितपुर उपयुक्त छ । दक्षिण ललितपुर पुरै घुम्न १५ दिन देखि ३ हप्तासम्म समय छुट्टयाउनु पर्छ।  

हामी त पुग्यौं भट्टेडाँडा र देवीचौरमा । तपाईंहरु पनि हिमाल हेर्दै पदयात्रा गर्न जाने होइन त ?
कसरी पुग्ने ः ललितपुरको लगनखेलबाट सातदोबाटो, सुनाकोठी, चापागाउँ हुँदै तीनपानेसम्म गाडिमा । सार्बजनिक सवारी साधनमा डेढ घन्टा । तीनपानेबाट मोटरेवल उकालो चढेर भट्टेडाँडा पुग्ने । तीनपाने–राडर टावर ३ किमि । डाँडाबाट ओरालो झरेर देवीचौर र देवीचौरबाट बुरुङचुलीसम्म पदयात्रा । भट्टेडाँडा–देवीचौर ३ किमि । देवीचौर–बुरुङचुली ५ किमि । पदयात्रा दुरी ११ किमि । समय ः ५ घन्टा । सबैतिर मोटरबाटो छ । 

प्रकाशित: २६ फाल्गुन २०७४ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App