७ वैशाख २०८१ शुक्रबार
समाज

अस्ट्रेलियाले पनि नेपालमा जाँच लिने

काठमाडौं- इन्टरनेसनल इंग्लिस ल्याङ्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस) का विद्यार्थीले सजिलै परीक्षा दिन पाउने भएका छन्। नेपालमा परीक्षाको डेट नपाएर छिमेकी मुलुक भारतका विभिन्न सहर पुग्न बाध्य विद्यार्थीले अब यहीँ परीक्षा दिने पाउनेछन्।

नेपालका आइइएलटिएस विद्यार्थीले धेरै दुःख पाइरहेका थाहा पाएपछि आइडिपी अस्ट्रेलियाले यसै वर्षदेखि नेपालमा आइइएलटिएस परीक्षा सुरु गर्ने भएको छ।

नेपाली विद्यार्थीको अंग्रेजी भाषा परीक्षाको डेट नपाउने समस्या हल गर्न आइडिपी अस्ट्रेलियाले राजधानीको लाजिम्पाटमा रहेको मेट्रो पार्कमा शाखा विस्तार गरेको छ। शुक्रबार नेपालका शैक्षिक परामर्श संस्था इक्यान, आइरिन, फेकन र इइसी प्रतिनिधिको उपस्थितिमा शाखा उद्घाटन गरी सुरु गरिएको हो।

नेपालमा यसअघिसम्म ब्रिटिस काउन्सिलले एकलौटी रुपमा आइइएलटिएस परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा व्यवस्थापन जिम्मेवारी पाएको थियो।

तर विश्वका हरेक विश्वविद्यालय तथा कलेजले विद्यार्थीको अंग्रेजी भाषा परीक्षाको आधारै आइइएलटिएसलाई बनाउँदै आएकाले बर्सेनि यो परीक्षामा विद्यार्थीको आकर्षण बढ्दो छ। ब्रिटिस काउन्सिलको सीमित सिट संख्याले विद्यार्थीलाई बर्सेनि परीक्षाको डेट पाउनै मुस्किल हुने गरेको थियो। नेपालमा बर्सेनि आइइएलटिएस परीक्षा दिने विद्यार्थी संख्या ५० हजार रहेको नेपाल शैक्षिक परामर्श संघ(इक्यान) उपाध्यक्ष विष्णुहरि पाण्डेले बताए।

विद्यार्थीहरु मितिको समस्याका कारण भारत गएर परीक्षा दिनुपर्ने बाध्यता आइडिपी अस्ट्रेलियाले दूर गर्ने उनको भनाइ छ। 'बर्सेनि १५ हजार विद्यार्थीले आइइएलटिएस मिति नपाएकै कारण भारतमा गएर परीक्षा दिनुपर्थ्यो,' उपाध्यक्ष पाण्डेले नागरिकसँग भने, 'अब आइडिपी अस्ट्रेलिया पनि नेपालमा आएपछि विद्यार्थीले पर्याप्त परीक्षा मिति पाउनेछन्।'

विद्यार्थी र तिनका अभिभावकलाई समय नपाएकै कारण भारतमा गएर परीक्षाकै लागि थप रकम खर्चनुपर्ने समस्या आइडिपी अस्ट्रेलियाले दुर गरेको इक्यानकै अर्का उपाध्यक्ष भूपेन्द्र सिटौला(निरज)ले बताए।

'नेपालमा शनिबार आइडिपी अस्ट्रेलियाले पहिलो परीक्षा सञ्चालन गर्दैछ। ९ सय ८० विद्यार्थी सहभागी हुँदैछन्,' सिटौलाले नागरिकसँग भने, 'यसअघि विद्यार्थीले परीक्षामा कम नम्बर ल्याएकै कारण विदेश जानबाट बन्चित हुनुपर्थ्यो। हप्तैपिच्छे सञ्चालन हुने परीक्षा पुनः मिति नपाउँदा सोही परीक्षाका लागि विद्यार्थीले ८ महिनासम्म कुर्नुपर्ने अवस्था अब छैन।'

उनका अनुसार ब्रिटिस काउन्सिलसाथै आइडिडी अस्ट्रेलिया थपिँदा अब ५० हजार विद्यार्थीले नेपालमै आइइएलटिएस परीक्षाको मिति पाउनेछन्। विद्यार्थीले वर्षैभरि जुनसुकै समयमा पनि परीक्षा लिन सक्नेछन्।

बानेश्वरकी सुनिता महर्जनले अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीमा आइटी अध्ययन गर्ने योजना बनाइन्। सबै तयारी पूरा भयो। त्यसका लागि अंग्रेजी भाषा परीक्षा दिनुपर्ने भयो। इन्टरनेसनल इंग्लिस ल्याङ्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस) परीक्षा दिन खोजे पनि नेपालमा उनले डेट पाउन सकिनन्। राजधानीको एक इन्स्टिच्युटमा पाँचहप्ते आइइएलटिएस परीक्षा तयारी कक्षा लिएकी उनको योजना थियो, गत वर्षकै सेप्टेम्बरमा आइइएलटिएस दिने।

त्यतिबेला उनी निराश भइन्, जब उनले उक्त अवधिका लागि परीक्षा दिने सिट संख्या बाँकी नरहेको खबर पाइन्।

'ब्रिटिस काउन्सिलमा बुझ्दा सेप्टेम्बरसम्म प्याक छ भने,' सुनिताले नागरिकसँग दुखेसो गरिन्, 'आइइएलटिएस परीक्षा दिन नपाउँदा पोहोरको वर्ष खेर गयो।' यो वर्ष बल्ल परीक्षा दिएको र अब अक्टोबरमा अध्ययनका लागि विदेश जान लागेको उनले सुनाइन्।

काउन्सिलले परीक्षा मिति व्यवस्थापन गर्न नसक्दा बर्सेनि १५ हजार विद्यार्थीको भविष्य अन्योलमा पर्दै आएको  डिल्लीबजारस्थित युनिभर्सल ल्यांग्वेज इन्स्टिच्युटका प्रिन्सिपल उत्तम पन्तले बताए। उनका अनुसार आइइएलटिएस परीक्षा मिति नपाउनेहरु सामाजिक, आर्थिक र मानसिक तनावमा  हुन्छन्।

अंग्रेजी भाषा नबोलिने देशबाट अंग्रेजी भाषा बोलिने देशमा उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीका लागि आइइएलटिएस अनिवार्य छ।

विश्वमा अंग्रेजी भाषा परीक्षणको माध्यम आइइएलटिएस, टफेल, सिएई र पिटिई छन्। यी चार टेस्टमध्ये आइइएलटिएस र सिएई बेलायतको क्याम्ब्रिज युनिभर्सिटीको हो भने टफेल अमेरिकी टेस्ट हो। पिटिई पियर्सनले सञ्चालन र व्यवस्थापन गर्छ।

युनिभर्सिटी अफ क्याम्ब्रिज, ब्रिटिस काउन्सिल र अस्ट्रेलियाको आइडिपी तीनै निकायको स्वामित्वमा आइइएलटिएस सञ्चालन हुने आइइएलटिएस साउथ एसिया र साउथ कोरियाका लागि कन्ट्री डाइरेक्टर विशाल गुप्ताले जनाए।

प्रश्नपत्र बनाउने, परीक्षक खटाउने काम मात्रै युनिभर्सिटी अफ क्याम्ब्रिजले गर्छ। विश्वभरिका आइइएलटिएस परीक्षा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी ब्रिटिस काउन्सिल र आइडिपीले पाएका छन्। यो परीक्षा एक महिनामा चारपटक लिइन्छ। संसारभरि एक वर्षमा ४८ वटा परीक्षा हुनेगर्छ।

प्रश्नपत्र निर्माण, उत्तर निकाल्ने र परीक्षाको प्रमाणीकरण क्याम्ब्रिज विश्वविद्यालयले गर्छ। काउन्सिल र आइडिपी  पार्टनर भए पनि दुवै निकायबीच प्रतिस्पर्धा हुने गरेको छ। भारतमा काउन्सिल र आइडिपी दुवै निकायले परीक्षा सञ्चालन गर्छन्।

'नेपालमा आइइएलटिएस परीक्षा दिन चाहने विद्यार्थी संख्या बढ्दैछ,' कन्ट्री डाइरेक्टर गुप्ताले नागरिकसँग भने, 'तर नेपालमा ब्रिटिस काउन्सिल एक्लैले परीक्षा व्यवस्थापन गर्न नसकेका कारण विद्यार्थीको भविष्य अन्योलमा थियो।' विद्यार्थीले नेपालमै परीक्षा दिँदा कम खर्च लाग्छ। भारतमा गएर परीक्षा दिँदा दोब्बर खर्च लाग्छ। हाललाई काठमाडौंमा मात्र शाखा विस्तार गरिए पनि केही महिनाभित्रै उपत्यकाबाहिर पनि विस्तार गरिने योजना गुप्ताले सुनाए।

'२–२ महिनामा विद्यार्थी विदेश अध्ययनका लागि उड्नुपर्छ,' सिभिल मलमा रहेको एजुकेसन पार्कका भूपेन्द्र सिटौलाले भने, 'ब्रिटिस काउन्सिलको एकलौटी परीक्षाले गर्दा पनि समस्या थियो। अब नेपालमा समेत विकल्पका रुपमा आइडिपी आएपछि विद्यार्थी डेट पाउने तनावबाट मुक्त हुन्छन्।'

भारत र नेपालका लागि आइडिपी एजुकेसन कन्ट्री डाइरेक्टर पीयूष कुमारले विश्वका ९ हजारभन्दा बढी संस्थाले अंग्रेजी भाषा परीक्षणको माध्यम आइइएलटिएसलाई बनाएको र विश्वभर बर्सेनि २५ लाख परीक्षा सञ्चालन हुने जनाए।

शिक्षा मन्त्रालयका अनुसार यस वर्ष वैशाखदेखि असारसम्म ११ हजार १ सय २२ विद्यार्थीले विदेशमा उच्च शिक्षा हासिल गर्न 'नो अब्जेक्सन लेटर' लिएका छन्। उपसचिव डिलिश्वर प्रधानका अनुसार यस वर्ष वैशाखदेखि असारसम्म तीन महिनामा सबैभन्दा बढी अस्ट्रेलिया जाने विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन्। अस्ट्रेलियाका लागि मात्र ४ हजार ४ सय २७ ले लिएका छन्। दोस्रो नम्बरमा अमेरिका छ। अमेरिकामा उच्च शिक्षा हासिल गर्न विद्यार्थी २ हजार ४ सय ६६ ले एनओसी लिएका छन्। तेस्रो स्थानमा जापान छ। यो देशका लागि १ हजार ८ सय १७ ले एनओसी लिएका छन्। चौथो स्थानमा पोल्यान्ड छ। यस देशका लागि ३ सय ६१ ले एनओसी लिएका छन्। पाँचौं स्थानमा डेनमार्क, मलेसिया र क्यानडा छन्।

प्रकाशित: ४ भाद्र २०७३ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App