४ वैशाख २०८१ मंगलबार
समाज

बाँदर लखेट्न हातहातमा लठ्ठी

बाँदर लखेट्न जुटेका दशरथचन्द नगरपालिकाका स्थानीय । तस्बिरः नागरिक

बैतडी – हातहातमा लठ्ठी, सिटी, भाला, गुलेली लिएर दशरथचन्द नगरपालिका स्थानीय गोठालापानी नजिकैको कलुवाडको मोडमा जम्मा भए। बाँदरले आतंक फैलाएपछि करिब दुई सय स्थानीय चार गुर्प बनाएर अलगअलग गाउँतिर बाँदर लखेट्न थाले। सरोकारवाला निकायसँग पटकपटक बाँदर आतंक रोक्न आग्रह गरे पनि सुनुवाई नभएपछि स्थानीय मिलेर सामूहिक बाँदर लखेट्ने अभियान थालेका हुन्। सदरमुकाम आसपासमा केही वर्षयता बाँदरले बालीनाली, फलपूmल, सागतरकारी खान थालेपछि स्थानीय सास्ती भोग्दै आएका छन्।

दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्रसिंह थापासहित वडाध्यक्षलगायत स्थानीय बाँदर लखेट्न जुटेका हुन्। खेतबारी मात्रै होइन बाँदरले घरभित्रको सामग्रीसमेत नष्ट गर्न थालेपछि बाँदर लखेट्ने अभियान चालेको अभियानकर्ता भुवनबहादुर चन्दले बताए।

दशरथचन्द नगरपालिका ४, ५, ६ र ८ मा बाँदरले बढी आतंक मच्चाएको स्थानीबासीले बताएका छन्। ‘खेतमा लगाएको कुनैबाली भित्राउन पाइँदैन्। खेतमा लगाएको सागसब्जी सबै बाँदरकै पोल्टामा जान्छ। अलिअलि फल्ने अन्नसमेत बाँदरले खाएपछि जहानपरिवार पाल्न समस्या भएको स्थानीय बताउँछन्। ‘उज्यालो हुने बित्तिकै एकजनाले बाँदरको ड्युटीमा खटिनुपर्छ,’ स्थानीय राजेन्द्र भट्टले भने, फौजका फौँज बाँदर आउँदा कसैको केही लाग्दैन्।’

पाँच वर्षयता बैतडी सदरमुकाममा बाँदर आतंक फैलिएको छ। बाँदरका फौंजले बालीनाली नष्ट गर्न थालेपछि कतिपयले बालीसमेत लगाउन छोडेका छन्। सुन्तला, जुनारलगायतका फलपूmल बढी फल्ने सदरमुकाममा बाँदरले सखाप पार्न थालेपछि बाँदर लखेट्न स्थानीय जुटेका हुन्। पछिल्लो समय बालबालिका एक्लै विद्यालय जान पनि डराउन थालेका छन्। बाँदरको आतंकबाट बालबालिका र महिला बढी पीडित छन्। बाँदरले लखेट्न सजिलो भने छैन। ठूल्ठूला रुखका टुप्पोमा गएर बस्न थालेपछि समस्या भइरहेको दशरथचन्द नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद भट्टले बताए।

बाँदरको आतंकले स्थानीय हैरान छन्। उनीहरुलाई लखेट्दै अन्यत्र पु¥याउने अभियान चलाएको वडाध्यक्ष भट्टले बताए। स्वतफूतरुपमा जम्मा भएका यहाँका स्थानीयले जस्तै अन्यत्रका स्थानीयले पनि बाँदर लखेट्न आग्रह गरिएको वडाध्यक्ष भट्टले जानकारी दिए। 

भारतले बाँदरलाई ट्रकमा ल्याएर महाकाली नदीमा छोडेपछि सदरमुकाम आसपासमा बाँदरको आतंक बढेको स्थानीयबासी बताउँछन्। सीमा नदी किनारमा बाँदर छोडेपछि पारीका बाँदर वारी आएका बताइन्छ। बाँदरको व्यवस्थापनका लागि वडा नम्बर ५ ले केही बजेटसमेत विनियोजन गरेको छ।
    
बाँदरले खेतमा लगाएको अन्नदेखि भान्छामा पकाएको खानासमेत खानथालेपछि स्थानीयबासीले नगरपालिकासँग बाँदर व्यवस्थापनको माग गरेका छन्। नगरपालिकाका बाँदर प्रभावित वडाका लागि कार्यक्रम ल्याउनपर्ने स्थानीयले माग गरेका छन्। ‘खेतबारी बाँझो छोडन बाध्य छौं,’ स्थानीय नरेन्द्रबहादुर चन्दले भने, ‘धेरै प्रयास गरे बाली जोगाउन खेतमा गरेको मिहेनत बाँदरको आहारा भएपछि खेत बाँझो छोडन बाध्य छौं।’

जिल्लामा बर्सेनी जंगली जनावरले बालीनाली नष्ट गर्ने गरेको छ। बाँदर, दुम्सी, बदेललगायतका जंगली जनवारले बालीनाली खाने गरेका छन्। जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी कर्णबहादुर चन्दका अनुसार जनावरले २५ देखि ३५ प्रतिशतसम्म बाली क्षति गर्ने गरेको छ। 

प्रकाशित: २६ फाल्गुन २०७४ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App