धादिङ – पृथ्वी राजमार्ग छेउछाउ र त्रिशुली नदी आसपासमा मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योग बालुवा प्रशोधन केन्द्रको विद्युत लाइन काटिएको छ। जिल्ला स्तरीय नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिले दुई क्रसर उद्योग र ४० बालुवा प्रशोधन केन्द्रको विद्युत लाइन काटेको हो।
पछिल्लो समय त्रिशुली नदिमा मापदण्ड विपरित क्रसर उद्योगहरु संचालनले त्रिशुली नदीलाई नै प्रदुषण गरेको छ। सफा र स्वच्छ बग्ने त्रिशुली नदि रातो लेदो जस्तै बग्ने भएको छ। मापदण्ड बाहिर संचालनमा रहेका अवैध बालुवा प्रशोधन केन्द्र (फिरफिरे) को लापरबाहीका कारण त्रिशुली नदीमा प्रदुषण बढेको र स्थानीय तहमा समेत समस्या परेको विषयमा व्यापक गुनासो आउन थालेपछि प्रशासनले अनुगमन गरेको हो। यस्ता क्रसर र बालुवा धुने उद्योग फर्जी र मापदण्डविपरित पाइएको छ। यस्ता उद्योगहरुको अनुगमन गरि विजुली काटिएको समितिले जनाएको छ।
विद्युत ट्रान्सफर्मरको लाइन कटौती पर्नेमा थाक्रे गाउँपालिकास्थित शिवराम रेग्मी सहितका २ वटा क्रसरका विद्युत, स्यालटारस्थित केशव अधिकारीको सक्सेस बालुवा प्रशोधन उद्योगको ट्रान्सफर्मर लगायत छन्। यी उद्योगको नाममा जडान भएका ट्रान्सफर्मरबाट अन्य अवैध वालुवा प्रशोधन उद्योगहरुले पनि विद्युत लाइन उपभोग गर्दै आएका थिए। प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी र जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल सहितको टोलीले मापदण्ड विपरित उद्योग संचालन र अनियमित तवरले संचालन गरेको उद्योगमा अनुगमनका गरेका थिए।
राजमार्गको धादिङ खण्डमा पर्ने वेल्खु, स्यालटार लगायतका क्षेत्रमा रहेका प्रशाधन केन्द्रमा विद्युत जडान गरेका दुई क्रसर र ४० बालुवा धुने उद्योगले प्रयोगमा ल्याएका ८ विद्युत ट्रान्सफर्मरको लाइन काटेको छ। यस्ता उद्योगहरुमा नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुको मिलोमतोमै विद्युत ट्रान्सफर्मर जडान गरिएका छन्। अधिकांश बालुवा धुने उद्योगहरुले धानकुट्ने मिल, घट्ट संचालन गर्ने, व्लक बनाउने उद्योगको नाममा विद्युत लाइन लिएर बालुवा प्रशोधन केन्द्र समेत चलाइरहेका छन्।
व्यवसायका रुपमा खोलिएका धेरैजसो क्रसर कुनै पनि निकायमा दर्ता भएको समेत पाईदैन। दर्ता भएकाहरुले पनि मापदण्ड मिचेर संचालन गरिरहेका छन्। अधिकांशले एक स्थानको लालपुर्जा र उद्योग दर्ता देखाएर त्रिशूली नदीका बगर, राजमार्ग छेउका सार्वजनिक जग्गा मिचेर उद्योग सञ्चालन गरेको पाइएको जिल्ला प्रशासन कार्यलय धादिङका अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी ढोलकराज ढकालले बताए। ‘इजाजत पत्रमा उल्लेखित शर्त र मापदण्डबाहिरका क्रसर र बालुवा प्रशोधन उद्योगका विद्युत आपूर्ति बन्द गरिएको हो’ सहायक प्रजिअ ढकालले भने, ‘मापदण्डमा आए पुन जडान हुनेछ।’ प्रशासनले पटक पटक मापदण्ड पूरा गरेर उद्योग सञ्चालन गर्न आग्रह गरिरहेको छ। सम्बन्धित निकायहरूलाई पत्राचार समेत गरिएको छ।
प्रकाशित: २६ फाल्गुन २०७४ १३:३३ शनिबार