८ वैशाख २०८१ शनिबार
अर्थ

बालुवा प्रशोधनले त्रिशुली सधैं धमिलो

त्रिशूली नदी किनारमा सञ्चालित क्रसर उद्योग । तस्बिर : सरिता/नागरिक

धादिङ– पृथ्वीराजमार्ग छेउछाउ र त्रिशूली नदी आसपासमा मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र (फिरफिरे)लाई प्रशासनले कारबाही थालेको छ।

पहिलो चरणको कारबाही स्वरुप नियम विपरीत सञ्चालनमा आएका उद्योगको विद्युत् लाइन काटिएको छ । जिल्लास्तरीय नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिले दुई क्रसर उद्योग र ४० बालुवा प्रशोधन केन्द्रको विद्युत् लाइन काटेको हो।

पछिल्लो समय त्रिशूली नदीमा मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालनले त्रिशूली नदीलाई नै प्रदूषित बनाएको छ । सफा र स्वच्छ बग्ने त्रिशूली नदी रातो लेदोजस्तै बग्ने भएको छ । मापदण्ड विपरीत सञ्चालित अवैध फिरफिरेको लापरबाहीका कारण त्रिशूली नदीमा प्रदूषण बढेको र स्थानीय तहमा समेत समस्या परेको विषयमा व्यापक गुनासो आउन थालेपछि प्रशासनले अनुगमन गरेको हो । यस्ता क्रसर र बालुवा धुने उद्योग फर्जी र मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ । यस्ता उद्योगको अनुगमन गरी बिजुली समेत काटिएको समितिले जनाएको छ।

विद्युत् ट्रान्सफर्मरको लाइन कटौती पर्नेमा थाक्रे गाउँपालिकास्थित शिवराम रेग्मीसहितका दुईवटा क्रसरमा जडान गरिएको विद्युत्, स्यालटारस्थित केशव अधिकारीको सक्सेस बालुवा प्रशोधन उद्योगको ट्रान्सफर्मर लगायत छन् । यी उद्योगको नाममा जडान भएका ट्रान्सफर्मरबाट अन्य अवैध बालुवा प्रशोधन उद्योगले पनि विद्युत् लाइन प्रयोग गर्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी र जिल्ला समन्वय समिति संयोजक जगन्नाथ नेपालसहितको टोलीले मापदण्डविपरीत उद्योग सञ्चालन र अनियमित तवरले सञ्चालित उद्योग अनुगमनका गरेका थिए।

राजमार्गको धादिङ खण्डमा पर्ने बेल्खु, स्यालटार लगायत क्षेत्रमा बढी क्रसर र बालुवा प्रशोधन केन्द्र छन् । ती मध्ये दुई क्रसर र ४० बालुवा धुने उद्योगले प्रयोगमा ल्याएका आठ विद्युत् ट्रान्सफर्मरको लाइन काटिएको छ । यस्ता उद्योगमा नेपाल विद्युत् प्राधिकरण र उद्योगीको मिलेमतोमै विद्युत् ट्रान्सफर्मर जडान गरिएको छ । अधिकांश बालुवा धुने उद्योगले धान कुट्ने मिल, घट्ट सञ्चालन गर्ने, ब्लक बनाउने उद्योगको नाममा विद्युत् लाइन लिएर बालुवा प्रशोधन केन्द्र समेत चलाइरहेका छन् ।व्यावसायिक रुपमा सञ्चालित धेरैजसो क्रसर कुनै पनि निकायमा दर्ता भएको समेत पाइँदैन । दर्ता भएकाहरुले पनि मापदण्ड मिचेर सञ्चालन गरिरहेका छन्।

अधिकांशले एक स्थानको लालपुर्जा र उद्योग दर्ता प्रमाणपत्र देखाएर त्रिशूली नदीका बगर, राजमार्ग छेउका सार्वजनिक जग्गा मिचेर उद्योग सञ्चालन गरेको पाइएको जिल्ला प्रशासन कार्यालय धादिङका अनुगमन अधिकृत एवं सहायक प्रजिअ ढोलकराज ढकालले बताए । ‘इजाजत पत्रमा उल्लेखित शर्त र मापदण्ड बाहिरका क्रसर र बालुवा प्रशोधन उद्योगको विद्युत् आपूर्ति बन्द गरिएको हो,’ सहायक प्रजिअ ढकालले भने, ‘मापदण्डमा आए पुन जडान हुनेछ ।’ प्रशासनले पटक पटक मापदण्ड पूरा गरेर उद्योग सञ्चालन गर्न आग्रह गरिरहेको छ । सम्बन्धित निकायहरूलाई पत्राचार समेत गरिएको छ।

घरेलु तथा साना उद्योगमा ७३ बालुवा प्रशोधन केन्द्र मात्रै दर्ता छन् । तर त्रिशूली नदी आसपास क्षेत्रमा हाल चार सयभन्दा बढी बालुवा प्रशोधन केन्द्र सञ्चालनमा छन् । ती बालुवा प्रशोधन केन्द्रले न त इजाजत नै लिएका छन् न मापदण्ड नै पूरा गरेका छन् । धादिङको नौवटा खोलामा अनाधिकृत रुपमा यस्तो दोहन भइरहेको महालेखा परीक्षकको प्रतिवेदनले पनि सार्वजनिक गरेको छ । मापदण्डविपरीत सञ्चालित उद्योगलाई बन्द गर्न सरकारलाई निर्देशन समेत दिइसकेको छ।

कुनैबेला सफा र कञ्चन पानीका कारण दक्षिण एसियामै उत्कृष्ट र्‍याफ्टिङ गर्ने नदीको उपमा पाएको त्रिशूली नदी पछिल्लो समयमा धमिलो बग्न थालेपछि स्थानीयले पनि प्रशासनलाई पटक पटक दबाब दिँदै आएका छन् । धादिङको त्रिशूली नदी किनारमा अव्यवस्थित ढंगबाट खोलिएका बालुवा प्रशोधन केन्द्र र ढुंगा तथा बालुवा खानीका कारण नदी प्रदूषित बनिरहेको छ ।

 

प्रकाशित: २७ फाल्गुन २०७४ ०१:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App