coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भन्सार छलेर करोडौंको सामान आयात

धनगढी – तीन साताअघि धनगढी उपमहानगरपालिका–१ का वडाअध्यक्ष सन्तोष मुढभरीले भन्सार नतिरेर भारतबाट धनगढी भित्रिरहेका १८ थान इन्भर्टरका ब्याट्री समाते।

राज्यका नियामक निकायले मिलेमतोमा छोडेका  ब्याट्री मुढभरीले समाते । अवैध रुपमा सामान कति सहजै भित्रिरहेको छ भनेर पुष्टि गर्न यो उदाहरण काफी छ । ‘मलाई स्थानीयले सधैं अवैध रुपमा सामान आउने गरेको जानकारी दिए, मैले प्रहरी प्रमुख र सिडिओलाई जानकारी गराएँ।

दुई–चार दिन रोकिए जस्तो भएर पुनः आउन थालेपछि सचेत गराउन आफैं समातेको हुँ,’ मुढभरीले भने, ‘संस्थागत रुपमा र सेटिङमा अहिले पनि खुल्लमखुला व्यापक रुपमा समान अवैध रुपमा भित्रिरहेको छ ।’संस्थागत रुपमा व्यापक सामान भित्रिरहेको उनी बताउँछन् । धनगढी–९ को बंगराकटान नाकाबाट भित्रिएर धनगढी आइरहेको बेला धनगढी गाउँमा एउटा टेम्पु र गाडीबाट ती ब्याट्री समातेको उनले बताए।

धनगढी उपमहानगरपालिकामा मात्र वडा नम्बर ३, २, ८, ९, १०, १२, १४, १८ र १९ मा रहेका सब नाकाबाट अवैध रुपमा ठूलो परिमाणमा सामान धनगढी भित्रिरहेको उनी बताउँछन् । ‘संस्थागत र खुल्लमखुला अवैध सामान भित्रिरहेको छ,’ उनले भने, ‘एकजना सर्वसधारणले थाहा पाउने प्रहरीले थाहा नपाउने भन्ने हुन्छ ? यो पूरै सेटिङमा भइरहेको छ।’

भन्सारमा राजस्व तिरेरभन्दा धेरै बढी परिमाणमा सामान अवैध रुपमा कैलाली र कञ्चनपुरका नाकाबाट भित्रिने गरेको खुुलेको छ । प्रत्येक महिना दसौं करोडको सामान भन्सार छलेर भित्रिने गरेको छ । अवैध रुपमा भिœयाएर बिक्री गर्न र प्रयोग गर्न सम्भव नहुने वस्तुमात्र भन्सार भएर आउँछन । अन्य वस्तु थोरै परिमाणमा भन्सारबाट आउने र बाँकी भन्सार छलेर भित्रिने गरेका छन् । लत्ताकपडा, हार्डवेयरका सामग्री, मोटर पार्टस, सिमेन्ट, ब्याट्री, चिनी लगायत सामान भारतबाट अवैध रुपमा बढी भित्रिनेमा पर्छन् ।

‘धनगढीका विभिन्न नाका, टीकापुरको खग्रौला र कञ्चनपुरका नाकाबाट महिनामा ६०–७० करोडभन्दा बढीको सामान भन्सार नतिरेको भित्रिन्छ,’ सीमा प्रहरी चौकीमा काम गरेका एक प्रहरीले भने ।गौरिफन्टाबाट कञ्चनपुरमा पर्ने डोकेबजार हुँदै धनगढी उपमहानगरपालिका–३, बडहराबाट लत्तापकडा बढी भित्रिन्छ भने वडा नम्बर ९ को बंगराकटानवाट हार्डवेयरका सामान बढी भित्रिने गरेका छन्।

धनगढीका विभिन्न नाकाबाट मात्र करिब ३० करोड हाराकारी मूल्यका सामान प्रत्येक महिना अवैध रुपमा धनगढी भित्रिने गरेको उनीहरु बताउँछन् । बडहराबाट हार्डवेयर लगायत सामान अटोरिक्सा, पिकअप जिप, गाडी लगायतमा भित्रिने गरेको छ । भन्सार कार्यालयका एक कर्मचारीको कुरा पनि ती प्रहरीसँग मिल्दो छ।

‘गौरिफन्टाबाट लुगाकपडा लगायत समान डोकेबजार भएर मोहना नदी पार गरेर बडहरा हुँदै धनगढी भित्रिन्छ भने हार्डवेयर लगायत सामान बंगराकटान हुँदै धनगढी भित्रिने गरेको छ,’ उनीहरु भन्छन् । ‘रातभर सामान बोक्ने गाडी, मोटरसाइकल गुडिरहन्छन्,’ धनगढी बगराकटानका एक स्थानीयले भने, ‘रातभर सामान बोक्ने गाडीको आवाजले निद्रा नै बिथोलिन्छ।’

यसैगरी, घुइयाघाट, जुगेडा लगायत नाकाबाट पनि भन्सार छलेर सामान भित्रिने गरेको छ । कतिपय सामान मुल नाकाबाटै धनगढी आउने स्थानीय बताउँछन् ।  टीकापुरको खग्रौला नाकाबाट पनि ठूलो परिमाणमा अवैध सामान भित्रिने गरेको ती प्रहरी बताउँछन् । ‘यहाँ ट्रकका ट्रक समान भित्रिने गर्छ । थोरै सामानको भन्सार बनाएर धरै परिमाणमा यो नाकाबाट भित्रिने गर्छ,’ ती प्रहरीले भने । यसैगरी, भजनीको लालबोझी नाकाबाट पनि अवैध रुपमा सामान भित्रिने गरेको छ ।
बजारमा छ्यापछ्याप्ती,भन्सारमा छैन
लुगाकपडा, हार्डवेयर लगायत सामान भन्सारको तथ्यांक हेर्दा नगन्य मात्रामा भारतबाट धनगढी भित्रिएको देखिन्छ । धनगढी बजारमा भने छ्यापछ्याप्ती भारतबाट भित्रिएका सामान देखिन्छ । धनगढी बजारमा मात्र भारतबाट भित्रिएका लुगाकपडा र हार्डवेयरका सामानको परिमाण हेर्ने हो भने त्यसको १० प्रतिशत पनि भन्सारमा आएको तथ्यांक भेटिँदैन ।

भन्सारकै अधिकारी बजारमा देखिएको परिमाणका आधारमा भन्सार तिरेर कम मात्र आउने गरेको स्वीकार्छन्  । ‘बजारमा देखिएको अनुपातमा भन्सारमा कम सामान आएको छ,’ कैलाली भन्सार कार्यालयका सूचना अधिकारी नारायण जोशी भन्छन्, ‘अवैध रुपमा सामान गएको नकार्न सकिँदैन ।’अंकित ट्रेडर्सबाहेक कुनै पनि व्यवसायीले लुगाकपडा भारताबाट लगेको भन्सारको तथ्यांकमा छैन । उक्त कम्पनीले ल्याएको लुगाकपडाको परिमाण पनि उसले कारोबार गर्ने लुगाकपडाको तुलनामा न्यून हो।

धनगढीमा ग्वासी समैजी जनरल स्टोर, सिंह जनरल स्टोर, मिश्रा जनरल स्टोर, एबिआर जनरल स्टोर, रेखा फेन्सी लगायत होलसेल पसलले प्रदेश ७ का सबै बजारका व्यवसायीलाई ठूलो परिमाणमा लुगाकपडा बिक्री गर्ने गरेका छन् । ‘यी सबै पसलमा भारतबाट आएका लुगा ठूलो परिमाणमा हुन्छन् । हामी पनि यिनै पसलमध्येबाट खरिद गर्छौं,’ एक फेन्सी पसलले भने । साडी, लेडिस सुट, बच्चाका कपडा, कट्टु, गन्जी, टी–सर्ट, सुति कपडाका थान, जुत्ता–चप्पल लगायत ठूलो परिमाणमा भारतबाट भित्रिएका सामान यी पसलवाट खरिद गरेर बिक्री गर्ने गरेको उनी बताउँछन्।

‘अंकित ट्रेडर्स बाहेक कुनै पनि व्यवसायीको लुगाकपडा भन्सार भएर गएको छैन,’ भन्सार अधिकृत तथा सूचना अधिकारी जोशीले भने । कानपुर, दिल्ली लगायत भारतीय बजारबाट सीमावर्ती भारतिय बजार पलियाका व्यवसायीको नाममा बिल बनाएर लुगाकपडा नेपालका व्यवसायीले ल्याउने गर्छन् । यसैगरी, हार्डवेयर लगायतका सामान पनि भिœयाउने गरिएको छ । ठूलो परिमाणमा हार्डवेयरका सामान बिक्री गर्ने पसलमा बालाजी ट्रेडर्स, हरिओम हार्डवेयर, प्रिती इन्जिनियरिङ हार्डवेयर लगायत छन् ।
एजेन्टको हात
धनगढीको त्रिनगर नाका, छेउछाउ, टीकापुरको खग्रौला नाका, भजनीको लालबोझी नाका, कञ्चनपुरका नाका लगायतमा व्यवासायीको सामान अवैध रुपमा भित्र्याउन भारत र नेपाल दुवै देशका एजेन्टले काम गर्ने गरेका छन् । ती एजेन्टले भारतका कस्टम कर्मचारी, एसएसबी र नेपालका प्रहरी, सशस्त्र प्रहरीका एकाइ, भन्सार कार्यालय, राजस्व अनुसन्धान कार्यालय लगायतमा सेटिङ मिलाएर अवैध रुपमा सामान भिœयाउने गरेको स्रोतले बताएको छ ।

‘व्यवसायीबाट सामानको मूल्यको १५ देखि २५ प्रतिशत कमिसनमा ती एजेन्टले सामान भिœयाउने जिम्मा लिन्छन्,’ अवैध सामानसम्बन्धी जानकार एक व्यक्तिले भने, ‘ती एजेन्टले नै भारतका कस्टम कर्मचारी, भारतीय प्रहरी एसएसबी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित एकाइ लगायत सरकारी निकायसम्म सेटिङ मिलाउने गर्छन्।’

कारणवस सामान समातिएमा एजेन्डले नै व्यवसायीलाई त्यो बराबरको रकम तिर्नुपर्ने सम्झौता हुने गरेको स्रोत बताउँछ । धेरै एजेन्ट भए पनि मुख्य रुपमा गौरिफन्टा नाकाबाट समान भित्र्याउन काम गर्ने एजेन्ट गौरव गुप्ता (भारतीय), सन्तोष गुप्ता (भारतीय), सावना गुप्ता (भारतीय), जयनारायण, भीम खड्का लगायतका एजेन्ट छन् भने खग्रौलामा धनसिंह साउँद छन्,’ सिमा प्रहरी चौकीका एक प्रहरीले भने।

धनगढी लगायत प्रदेश ७ मा धेरै खपत हुने र भारतबाट भित्रिएको देखिने हार्डवेयर, लुगाकपडा लगायत वस्तु कैलाली भन्सार कार्यालयमा थोरै राजस्व संकलन हुने वस्तुको सूचीमा छन् । गत साउनदेखि माघ मसान्तसम्म हार्डवेयरमा पाँच करोड ४७ लाख ५६ हजार मूल्यको सामान भन्सार भएर भित्रिएको छ।

यसको राजस्व एक करोड एक लाख ६६ हजार संकलन भएको छ । यो गत वर्षको अनुपातमा कम हो । यसैगरी, कपडा ४८ लाख ३५ हजारको भित्रिएको छ । यसको राजस्व पाँच लाख १० हजार संकलन भएको छ । मोटर पार्टस एक करोड ४१ लाख ५५ हजारको भन्सार भएर भित्रिएको छ । यसको राजस्व १६ लाख ४३ हजार संकलन भएको छ।

कैलाली भन्सार कार्यालयका प्रमुख मुक्तिप्रसाद पाण्डेय निजी क्षेत्रले पनि अवैध रुपमा समान भिœयाउने कामलाई निरुत्साहित गर्नुपर्ने बताउँछन् । अबैध रुपमा आउने सामानले राजस्व घट्नेभन्दा बढी उपभोक्तालाई नोक्सान हुने उनी बताउँछन् ।‘ चोरबाटोबाट आएको सामानमा गुणस्तर हुँदैन,’ उनले भने, ‘यो राजस्वभन्दा उपभोक्ताको स्वास्थ्यका लागि बढी खतरनाक छ।

’ बिस्कुट र अन्य अखाद्य पदार्थ पनि चोरीबाट भित्रिने गरेको छ । यो नैतिकतासँग जोडिएको विषय पनि भएकाले पारदर्शी रुपमा भन्सारकै बाटो भएर सामान निजी क्षेत्रले भिœयाउनुपर्ने उनको भनाइ छ ।धनगढी उपनगरपालिकाका प्रमुख नृप वड विभिन्न नाकाबाट अवैध रुपमा सामान आइरहेको बताउँछन् । ‘यसलाई रोक्न वडाअध्यक्षलाई पनि मैले भनेको छु,’ उनले भने, ‘नागारिक समाजले पनि यो रोक्न सहयोग गर्नुपर्छ।’

कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरे कैलालीमा सीमा जोडिएको एक सय एक किलोमिटरमा २३ नाका रहेको र जम्मा पाँच नाकामा प्रहरीको उपस्थिति भएकाले प्रहरीको पहुँच नभएको ठाउँबाट भित्रिन सक्ने बताउँछन् । सशस्त्र प्रहरी, राजस्व कार्यालय, राजस्व अनुसन्धान लगायत धेरै निकाय रहेको उल्लेख गर्दै प्रहरीले मात्र केही गर्न नसक्ने उनले बताए । ‘जनता बर्दीबिनाका प्रहरी हुन्, जनताले पनि आक्षेप लगाउनुभन्दा हामीलाई सूचना दिने लगायत रोक्न सहयोग गर्नुपर्‍यो,’ उनले भने ।
घुमुवाको भीड
विभिन्न नाकामा प्रहरी र सशस्त्र प्रहरीका घुमुवाको भीड लागेको हुन्छ । ‘गौरिफन्टा नाकामा मात्र कहिले काँही १५–१६ जना घुमुवा देखिन्छन्,’ धनगढी–३ का एक युवकले भने ।

विभिन्न प्रहरी अधिकारीले छुट्टाछुट्टै घुमुवा राख्ने गरेका छन् । ती घुमुवाहरु अवैध रुपमा सामान भित्रिने, तस्करी हुने ठाउँमा केन्द्रित हुन्छन् । सामान्यतया दुई वर्षपछि सरुवा हुने भए पनि यस्ता केही घुमुवा कयौं वर्षदेखि सरुवा नभएर एकै ठाउँमा बसिरहेका देखिन्छन् । ‘ती घुमुवालाई सबै कुरा थाहा भएकाले पैसा उठाउन सजिलो हुन्छ भनेर सरुवा गरिँदैन,’ एक प्रहरीले भने, ‘१५ वर्षसम्म सरुवा नभएर घुमुवा बसेका पनि उदाहरण छन् ।’
धनगढी–१ का वडाअध्यक्षले ब्याट्री समातेपछि केही प्रहरीका घुमुवा किन समातेको दाजु भनेर उनीकहाँ पुगेका थिए । ‘घुमुवाहरु सबैतिर नाकामा खटाइएका छन्,’ मुढभरीले भने, ‘मलाई पनि ब्याट्री समातेपछि केही प्रहरी घुमुवा किन समातेको दाइ भन्न आएका थिए।’

प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्री प्रकाशबहादुर शाहले प्रहरीका अधिकारीसँग छलफलमा जनताबाट प्रहरी मिलेर तस्करी भइरहेको कुरा रोक्न कडा निर्देशन दिएको बताएका छन् । प्रदेशको कानुन बनाएर कडाइका साथ यो रोक्ने उनको भनाइ छ ।
 

प्रकाशित: २७ फाल्गुन २०७४ ०१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App