४ वैशाख २०८१ मंगलबार
राजनीति

‘सर’सभामुख

आफ्ना शिष्यहरू उपराष्ट्रपति नन्दबहादुर पुन र निवर्तमान सभामुख ओनसरी घर्तीका साथ कृष्णबहादुर महरा। तस्बिर : नागरिक

दाङ – कम्युनिष्ट सिद्धान्त अनुशरण गरेर पार्टी राजनीतिमा लागेका नेताहरूलाई दिइने उपमा हो ‘कमरेड’। कृष्णबहादुर महरा पनि कम्युनिष्ट सिद्धान्त अनुशरण गरेर निर्णायक राजनीतिमा दख्खल राख्ने नेता हुन् । तर उनलाई कमरेडभन्दा बढी ‘सर’ को उपमा लगाइन्छ । उनको गृह जिल्ला रोल्पालगायत राप्तीका जिल्लामा उनलाई कमरेड हैन, सर भनेर पुकार्ने धेरै छन् । यसको मुल कारण हो, उनी कुनैबेला कुशल शिक्षक थिए । त्यतिबेलाका शिक्षक महराका लागि सर उपमा अहिलेसम्म कायमै  छ । यति मात्रै हैन, उनकै शिष्यहरू एकसेएक हेभिवेट बनेका छन् । अध्यापनकै क्रममा कम्युनिष्ट राजनीतिमा सक्रिय महरा माओवादी केन्द्रको शीर्ष नेतासँगै सरकारको उपप्रधानमन्त्री बनेर भूमिका निर्वाह गरिसकेका छन् । उनै ‘सर’ महरा शुक्रबार प्रतिनिधिसभाका सभामुख पदमा निर्विरोध भएका छन्।    

राजनीतिमा पूर्णरूपमा होमिनुपूर्व १२ वर्षसम्म शिक्षण गरेका महरा पूर्व सभामुख ओनसरी घर्ती र उपराष्ट्रपति नन्दबहादुर पुनका गुरु हुन् । उनीहरूलाई महराले रोल्पाको लिवाङस्थित बालकल्याण माविमा पढाएका थिए । उपराष्ट्रपति पुन र निवर्तमान सभामुख घर्तीका लागि राजनीतिक मियो उनै महरा हुन् । महराकै संगत र राजनीतिक शिक्षाले पुन र घर्ती सक्रिय कम्युनिष्ट राजनीतिमा होमिएका थिए। 

नेपाली राजनीतिमा औंलामा गनिने अन्य नेताहरू जन्माउन सक्नु महराको ‘कम्युनिष्ट शिक्षण’ कौशलताको अर्को उदाहरण हो । कम्युनिष्ट राजनीतिमा नाम चलेका वर्षमान पुन, नेत्रविक्रम चन्द, जयपुरी घर्ती, कुलप्रसाद केसी, झक्कु सुवेदी महराकै राजनीतिक शिक्षाबाट उदाएका नेता हुन्।

उपराष्ट्रपति पुनलाई महराले कक्षा ८ मा पढाएका थिए । मसाल राजनीतिमा चासो देखाउन थालिसकेका पुन महराको नजरमा कम्युनिष्ट आन्दोलनको एक ‘हक्की’ कार्यकर्ता बन्न सक्ने लख उतिबेलै काटिसकेका थिए । सोहीअनुरूप महराले राजनीतिक प्रशिक्षण सुरु गरे । महराको शिक्षाले पुनलाई १० वर्षे माओवादी जनयुद्धमा भूमिगत बन्ने प्रेरणा मिल्यो । तत्कालीन सैन्य कमाण्डर पुन त्यही राजनीतिक शिक्षाका प्रभावले राष्ट्रकै दोस्रो उच्च पदमा पुगे । जिताए उनै महराले । महराले केही समयअघि नागरिकसँग भनेका थिए, ‘योभन्दा ठूलो उपलब्धी म गुरुका लागि अरु के हुन सक्ला?’

निवर्तमान सभामुख ओनसरी घर्ती महराबाट ३ वर्षसम्म औपचारिक शिक्षा लिएकी विद्यार्थी हुन् । रोल्पा माडिचौरकी ओनसरीले ८ कक्षादेखि हाइस्कुलसम्मको अध्ययन महराबाटै पूरा गरेकी हुन् । महरा जति सिकाउँथे घर्ती उत्तिकै कम्युनिष्ट राजनीतिप्रति उत्सुकता जगाउने विद्यार्थी थिइन् । विभिन्न कम्युनिष्ट आन्दोलन सम्बन्धी पुस्तकको अध्ययनमा लिप्त महरा गतिलो राजनीतिक प्रशिक्षण दिन माहिर थिए । महराको यही कौशलताले घर्तीलाई सर्वहारा वर्गको मुुक्तिका लागि भूमिगत बन्ने प्रेरणा मिलेको थियो। 

घर्ती र पुन मात्रै होइनन् । नेपाली राजनीतिमा औंलामा गनिने अन्य नेताहरू जन्माउन सक्नु महराको ‘कम्युनिष्ट शिक्षण’ कौशलताको अर्को उदाहरण हो । कम्युनिष्ट राजनीतिमा नाम चलेका वर्षमान पुन, नेत्रविक्रम चन्द, जयपुरी घर्ती, कुलप्रसाद केसी, झक्कु सुवेदी महराकै राजनीतिक शिक्षाबाट उदाएका नेता हुन् । महराको बुझाइमा आफ्ना सबै शिष्य नेपाली राजनीतिमा क्षमता राख्छन् । महरा पुनलाई ८ देखि १० कक्षासम्म तीन वर्ष, चन्दलाई ८ कक्षामा एक वर्ष, घर्तीलाई १० कक्षामा १ वर्ष, केसीलाई ६ देखि १० कक्षासम्म पढाएका गुरु हुन्। 

केन्द्रीय राजनीतिमा प्रभाव राख्ने मात्रै नभई जिल्ला तहमा समेत उनका शिष्यहरूले विभिन्न पार्टीको नेतृत्व सम्हालेका छन्। ‘मेरा लागि सबै विद्यार्थी बराबर हुनुहुन्छ,’ उनले भनेका थिए, ‘तपाईंले यति बुझ्नुस् उहाँहरू सबै उच्च पदमा जानु हुनेछ।’   

महरा विज्ञान र गणित विषयका शिक्षक थिए । सँगै मुलुक परिवर्तनका लागि ‘अनिवार्य राजनीति’ को पाठ सिकाउन पनि कहिल्यै बिर्सेनन् उनले । महराले कम्युनिष्ट राजनीतिबाट मात्रै समाज सुध्रन्छ भन्ने मानसिकता बोकेका थिए । फलस्वरूप उनको राजनीतिक पाठ कम्युनिष्ट सिद्धान्त केन्द्रित मात्रै हुन्थ्यो । २०३६ देखि औपचारिक शिक्षण पेशामा लागेका महराको अर्को उद्देश्य थियो ‘रोल्पामा कम्युनिष्ट राजनीति स्थापित गर्ने’ । यसर्थ उनको शिक्षण पेशा कम्युनिष्ट राजनीति फैलाउने अभियान पनि बन्यो । उनी सम्झन्छन्, ‘रोल्पाको थवाङ, घोडागाउँलगायतका सीमित स्थानमा मात्रै थोरै कम्युनिष्ट थिए, म यो सञ्जाललाई बृहत पार्नुपर्छ भनेर शैक्षिक अभियानमा लागेँ।’  

त्यसो त, महरा सुरुमा नेपाली कांग्रेसको राजनीतिमा थिए । पञ्चायतविरुद्ध लड्नुपर्छ भन्ने चेतना भरिएका महरालाई पञ्चायतविरुद्धको लडाइँ लड्दा कांग्रेसी हुनुपर्छ भन्ने जानकारी थियो । २०३३ मा एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि नेपालगन्जस्थित क्याम्पसमा भर्ना भएका महरा ६ महिनासम्म नेविसंघको एकाइमा रहेर काम गरे । तर समाजमा विद्यमान ‘अन्तरविरोध’ले उनको कांग्रेसी राजनीतिमा पूर्णविराम लगायो । यो भेदभाव उनको परिवारमाथि नै भयो । कुष्ठरोग लागेको भन्दै उनका बावुलाई समाजमा छुवाछुतको व्यवहार गर्न थालियो । महराले आफ्नो व्यक्तिगत जीवन डायरीमा लखेका छन्, ‘त्यहि अन्तरविरोधले विद्रोही भइयो।’ 

२०३६ मा आइएस्सी पूरा गरेर जिल्ला फर्किएलगत्तै उनले शिक्षकको रोल्पाको लिवाङस्थित  माविमा जागिर पाए। बावुमाथि गरिएको सामाजिक विभेदबाट कम्युनिष्ट राजनीतिको लक्ष पक्डेका महराले शिक्षणकालबाटै कम्युनिष्ट राजनीतिको औपचारिक शिक्षा बाँड्न थाले।  

क्याम्पस अध्ययनकालदेखि कांग्रेसको राजनीति सुरु गरिसकेको भए पनि महरा ०३८ सालदेखि पार्टी सदस्यता लिएर रोल्पाको नेकपा जिल्ला कमिटीमा सामेल भएका थिए । मोहनविक्रम सिंहसँग पार्टी विभाजन भएपछि महरा मोटो मशाल (मोहन वैद्य) तिर सेपिए  । ०४८ सालमा सांसद हुँदा जिल्ला कमिटीको सेक्रेटरी रहेका महरा क्रमशः क्षेत्रीय ब्यूरो समितिमा पुगे । ०५२ सालबाट केन्द्रीय समितिमा र चौंथो विस्तारित बैठकपछि पोलिट्ब्यूरो सदस्यमा निर्वाचित महरा पार्टी प्रवक्ता भएर काम गरे । जनयुद्धपछि उनि भूमिगत भए । लगभग ६ वर्षसम्म राप्तिको इञ्चार्ज भएर काम गरेका उनले प्रवासको जिम्मेवारी सम्हालेपछि केन्द्रीय राजनीतिक भूमिकामा प्रवेश गरेका थिए । राज्यस“ग भएका तीनवटा वार्तामध्ये पहिलोमा संयोजक, दोस्रोमा सदस्य, वार्ताटोली प्रवक्ता अनि तेस्रोमा वार्ताको संयोजक भई राजनीतिमा केन्द्रीय भूमिका निर्वाह गरेका थिए । गृह, सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका महरा पहिलो संविधानसभाको निर्वाचनमा दाङ ३ बाट निर्वाचित भएका थिए भने पछिल्लोपटकको संवधानसभामा रोल्पाबाट निर्वाचित भएका थिए । गत मंसिरमा सम्पन्न प्रतिनीधिसभा सदस्य निर्वाचनमा दाङ २ बाट निर्वाचित भए। 

आफूलाई अन्तरविरोधी मानसिकताको व्यक्ति भन्न चिनाउने महराले यो चिन्तनलाई व्यवहारमा उतार्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘मभित्रको अन्रविरोधलाई व्यवहारमा प्रकट गर्दिन, फलस्वरूप म बाहिर शान्त जस्तो देखिन्छु ।’ यही व्यवहारले महरा नेपाली राजनीतिमा भद्र र शालीन नेताका रूपमा चिनिएका छन्। 

 

प्रकाशित: २७ फाल्गुन २०७४ ०३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App