coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाइलट अवालेले जहाज उडाउन नपाउने

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ । निर्णयअनुसार उनले उक्त अभियोगमा सफाइ नपाएसम्म जहाज उडाउन पाउने छैनन्।

फौजदारी अभियोग लागेपछि अवालेको स्वास्थ्य अवस्था जाँच गरी प्रतिवेदन बुझाउने जिम्मा पाएको समितिको सिफारिसपछि उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले उनलाई जहाज उडाउन दिन नमिल्ने निर्णय गरेको हो। 

प्राधिकरणका स्वास्थ्य सुपरीवेक्षक डाक्टर खगेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिले महानिर्देशक सञ्जीव गौतमलाई अवालेको ताजा स्वास्थ्य अवस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ। प्राधिकरणले तोकेका चिकित्सकले क्याप्टेन अवालेको स्वास्थ्य तथा मनोवैज्ञानिक परीक्षण गरेका थिए । त्यसपछि उनलाई जहाज उडाउन दिन नमिल्ने निष्कर्षमा समिति पुगेको हो। 
‘फौजदारी अभियोग लागेपछिको अवस्थामा क्याप्टेन सुवर्ण अवाले मानसिक तनाब र दबाबमा हुन सक्ने भएकाले यात्रु र जहाजको सुरक्षा दृष्टिले उडानजस्तो संवेदनशील कार्यमा उनलाई संलग्न गर्न नमिल्ने र उडान गर्न दिन नसकिने’ प्रतिवेदनको ठहर छ । ‘समितिबाट सिफारिसहितको प्रतिवेदन प्राप्त भएपछि क्याप्टेन अवालेलाई जहाज उडान गर्न दिन नमिल्ने निर्णय गरेका छौं,’ प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले आइतबार नागरिकसँग भने, ‘हाम्रो निर्णयसम्बन्धी जानकारी नेपाल वायुसेवा निगमलाई पठाइसकेका छौं । अवालेले अभियोगबाट उन्मुक्ति नपाएसम्म जहाज उडाउन पाउँदैनन्।’

डलर तस्करीका अभियुक्त वरिष्ठ पाइलट सुर्वण अवालेलाई सफाइ नपाएसम्म जहाज उडाउन दिन नमिल्ने प्राधिकरणको औपचारिक निर्णय

२०७३ चैत २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित दुबई उडानमा जान लागेका अवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी डलरसहित पक्राउ परेका थिए । नियमित ड््युटीअनुसार जहाज कमान्ड गरेर दुबई जान लागेका अवालेको ब्याग राति करिब ११ बजे विमानस्थल सुरक्षा गार्ड प्रहरीले खानतलासी गर्दा अबैध डलर बरामद भएको थियो । कानुनअनुसार एकजनाले २ हजार ५ सय डलरसम्म साथमा लिएर विदेश जान पाउँछ । उड्डयन नियमअनुसार चालकदलले आफूले पाउने भत्ताबाहेक एक पैसा पनि साथमा लिएर जहाज उडाउन पाउँदैन।

अवालेलाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको जोडबलमा सरकारले उडान लाइसेन्स अद्यावधिक गर्न तालिममा पठाउने अनुमति दिएपछि उनी गत पुस ७ गते निगमकै जहाजबाट मलेसिया हुँदै सिंगापुर गएका थिए । उनले त्यहाँ करिब दुई साता बिताएका थिए । त्यसअघि भदौ ८ मा पनि अवालेलाई सिंगापुर पठाउने कंसाकारको निर्णयबारे नागरिकमा समाचार छापिएपछि सरकारले रोकेको थियो । राजस्व अनुसन्धान विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल वायुसेवा निगम सञ्चालक समिति र प्राधिकरणले फौजदारी अभियोग लागेका अवालेलाई उडान लाइसेन्स अद्यावधिक गर्न सिंगापुर तालिममा पठाउने अनुमति दिएका थिए। 

फौजदारी अभियोग लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा पनि बन्देज लागेका अवालेलाई विदेश पठाउने जिम्मेवारी लिएपछि निगम महाप्रबन्धक कंसाकारको त्यसबेला आलोचना भएको थियो । केही सरकारी अधिकारीले गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिलाई विदेश पठाउन जमानी बस्ने कंसाकारलाई सरकारले कारबाही गर्नुपर्ने पनि बताएका थिए ।

अमेरिकी डलर तस्करी अभियोगमा राजस्व अनुसन्धान विभागको हिरासतमा एक महिना बसेर धरौटीमा छुटेका अवालेले त्यही विभागबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ ल्याएपछि निगमले उनलाई उडान लाइसेन्स अद्यावधिक तालिम (सिमुलेटर) मा पठाउन पर्यटन मन्त्रालयसँग अनुमति मागेको थियो । राजस्वले दिएको प्रमाणपत्रमा ‘क्याप्टेन अवालेलाई तारिखमा राखिएको र उनलाई तालिममा विदेश पठाउन आपत्ति छैन’ भन्ने उल्लेख छ । तर, तालिम अवधिभर उनको तारिख राखिएको थिएन। 

राजस्वको पत्रसहित निगमले पर्यटन मन्त्रालयसँग थप अनुमति मागेको थियो । त्यसपछि मन्त्रालयले ‘कडा सर्त’ राखेर तालिममा पठाउन सकिने र थप प्रक्रियाका लागि प्राधिकरण पठाएको थियो। प्राधिकरणले करिब तीन सातापछि ‘ग्रिन सिग्नल’ दिएको थियो। 

पर्यटन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अवालेलाई तालिममा पठाउनुअघि केही कडा सर्त राखिएका थिए । अवालेमाथिको अनुसन्धान प्रभावित हुन नहुने, तालिममा जाँदा लाग्ने खर्च धरौटीबापत रकम अवालेबाटै लिनुपर्ने, निगम सञ्चालक समितिबाट पनि अनुमति लिनुपर्ने, सिंगापुरबाट फर्किएनन् वा भविष्यमा मुद्दा हारे भने त्यसबापतको सबै खर्च निगमका महाप्रबन्धक कंसाकारले तिनुपर्नेलगायत सर्त थिए । सर्तनामामा कंसाकारले हस्ताक्षर गरेका छन्। 

अहिले पनि राजस्व अनुसन्धान विभागले अवालेमाथि अनुसन्धान गरिरहेको छ । धरौटीमा छुटेका अवालेले जहाज उडाउन नपाए पनि नियमित करिब ३ देखि ४ लाख रुपैयाँ तलब बुझिरहेका छन्। उनलाई निगमले निलम्बन भने गरेको छैन । अवालेको तालिममा १४ हजारदेखि १६ हजार अमेरिकी डलर (१४ लाखदेखि १६ लाख रुपैयाँ) खर्च लागेको थियो । त्यसबाहेक उनलाई प्रतिदिन २ सय डलर (२० हजार रुपैयाँ) भत्ता दिइएको थियो। 

प्राधिकरणका एक उच्च अधिकारीका अनुसार हवाई सुरक्षा नियमावलीमा फौजदारी अभियोग लागेकालाई काम गर्न रोक लगाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार अवालेलाई जहाज उडाउन रोक लगाइएको हो । उक्त नियमावलीले त्यस्ता अभियोग लागेका व्यक्तिलाई विमानस्थलभित्र प्रवेश गर्न निषेध पनि गरेको छ। 

करिब ३० वर्षअघि ट्विनअटर जहाज उडाएर निगममा प्रवेश गरेका अवालेले त्यसपछि प्रशिक्षक पाइलट हुँदै ‘बोइङ ७५७’ जहाज उडाउन थालेका थिए । ५६ वर्षीय अवाले पछिल्लो दुई वर्षदेखि ‘एयरबस ३२०’ जहाजमा वरिष्ठ क्याप्टेनका रूपमा कार्यरत थिए। 

प्रकाशित: २८ फाल्गुन २०७४ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App