coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तालिमले महिला उद्यमीकाे आत्मविश्वास बढ्यो

तीनदिने तालिम समापनपछि प्रमाणपत्र सहित आयोजकसँग तस्बिर खिचाउँदै सहभागी । तस्बिर : उपेन्द्र

काठमाडौं  – संखुवासभाकी मुना कुलुङले अल्लोको  परम्परागत व्यवसाय  सुरु गरेको  वर्षौं बितिसक्यो।  यो उनको पुस्तैनी पेसा हो । तर  यो  व्यवसायले अझै फराकिलो क्षेत्र बनाउन सकेको छैन।
महिला उद्यमी महासंघ नेपालले महिला तथा बालबालिका विभागको सहयोगमा राजधानीमा सञ्चालन गरेको तीनदिने सीपमूलक तालिम लिएकी उनी अब व्यवसाय अघि बढाउन सहज भएको बताउँछिन् । परम्परागत तरिकाबाट उत्पादन गर्दै आएकी उनलाई प्रशिक्षकले प्याकेजिङ, ब्रान्डिङ, तथा लेबलिङको विषयमा जानकारी दिएपछि उनको आत्मविश्वास बढेको हो। 

‘राम्रो हुँदाहुँदै पनि थुप्रै कुरामा ध्यान दिनुपर्दो रहेछ,’ उनले भनिन्, ‘यो तालिमले हामीमा आत्मविश्वास बढाएको छ ।’  अल्लोबाट उत्पादित सामग्री स्थानीय बजारमा बिक्री गर्दै आएकी उनले चैत ८ गतेदेखि १२ गतेसम्म राजधानीमा हुने महिला व्यापार मेलामा सहभागिता जनाउने योजना सुनाइन्। 

तालिमले उनमा मात्र होइन, मुलुकका विभिन्न भागबाट आएका २६ महिला उद्यमीलाई आत्मविश्वास बढाएको छ । उनीहरुले आफ्नो कथा मात्र सुनाएनन्,  राजधानीमा रहेका सफल महिला उद्यमीको कथा पनि सुने। 

परम्परागत तरिकाबाट उत्पादन गर्दे आएकी महिलाले  नेपाल महिला उद्यमी संघको पहलमा  प्याकेजिङ, ब्रान्डिङ, तथा लेबलिङको विषयमा जानकारी  पाएपछि  आत्मविश्वास बढेको बताए 

‘सुरुका दिनमा सबको कथा–ब्यथा उस्तै हुँदो रहेछ,’ तनहुँबाट आएकी तुलसी शाहले भनिन्, ‘व्यवसायमा आएको समस्या निराकरण गरेर अगाडि बढे लक्ष्यमा पुगिने थाहा पायौं ।’ संसार आर्गनिक अगरबत्ती नामक उद्योग खोलेकी उनले सानो क्षेत्रमा रहेको आफ्नो धुपको बास्ना अव देश–विदेशमा पुर्याउने सुनाइन्। 

शुक्रबारबाट सुरु भएको कार्यक्रममा संखुवासभा, तनहुँ, कास्की, मकवानपुर, काभ्रे ललितपुर लगायत जिल्लाबाट आएका उद्यमीले आफूले उत्पादन गरेका सामग्री समेत ल्याएका थिए ।  उनीहरुले एक अर्कोको सामग्री नियाल्दै त्यसबारे जानकारी समेत लिएका थिए। 

जमघट र अन्तरक्रियाले महिला उद्यमीलाई एकअर्काको उत्पादनबारे जानकारी मात्र नदिएर त्यस क्षेत्रका मानिसका रुचीबारे समेत ज्ञान दिएको सहभागीको बुझाइ छ । यहाँ उनीहरुले आफ्नो व्यवसाय फैलाउने आधार भेटे । महिला  उद्यमी महासंघ नेपालकी अध्यक्ष शारदा रिजालले उद्यमका क्षेत्रमा आफूले बटुलेको अनुभव सहभागीलाई सुनाउँदै उनीहरुको हकहितको लागी लागिपर्ने बताइन्।

उत्पादन राम्रो भए पनि त्यसको मार्केटिङ गर्ने तरिकाले व्यवसाय प्रभावित हुने सहभागीलाई प्रशिक्षकले सिकाए । अचार व्यवसायी तथा महिला उद्यमी महासंघ नेपालकी कोषाध्यक्ष हजुरी विष्टले उत्पादन राम्रो भए पनि प्याकेजिङ र ब्रान्डिङमा ध्यान नदिँदा मौलिक उत्पादन पछि परेको बताइन् । ‘खाद्यवस्तुको गुणस्तरसँगै त्यसको लुकिङ पनि राम्रो हुनुपर्छ,’ उनले भनिन्, ‘त्यसो भयो भने स्वदेश, विदेशमा राम्रो बजार पाउँछ। 

महिला उद्यमी महासंघ नेपालका तृतीय उपाध्यक्ष शोभा ज्ञवालीले  राजधानीका महिला मात्र सक्षम भएर सिंगो देश अगाडि बढ्न नसक्ने औंल्याउँदै गाउँघरका महिला उद्यमीलाई पनि सक्षम बनाउन राज्यले पहल गर्नुपर्ने बताइन्। 

‘उनीहरुले सानैदेखि गरेको व्यवसायलाई अलिकति परिमार्जन र परिस्कृत गर्‍यो भने आम्दानीको राम्रो स्रोत बन्छ,’ उनी भन्छिन्, ‘जसबाट महिलासँगै सिंगो समाजको परिवर्तन हुन्छ ।’  ‘महिलाले गरेको उद्यमले समाज परिवर्तनको आधार तय गर्ने हुँदा’ सरोकारवालाले यसतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ। 

‘मुलुकका दुर्गम ठाउँमा रहेका महिलाका उद्यम तथा सीपलाई देश, विदेशसम्म लैजानु पर्छ,’ उनले भनिन्, ‘यसका लागि महिला उद्यमी महासंघ नेपालले पुलको काम गर्नेछ ।’ उत्पादित सामग्रीबारे  दिइने प्रस्ट जानकारीले खरिदकर्ताको मन जित्ने उनको बुझाइ छ। 

महिला तथा बालबालिका विभागका महानिर्देशक नरेशकुमार चापागाईंले महिलाले उत्पादन गरेका सामग्रीले राम्रो बजार पाउन नसकेको भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताए । ‘महिला सक्षम छन्, उत्पादन राम्रा छन्, तर अझै सोचेजस्तो बजार पाउन सकेको छैन,’ उनले भने, ‘यो तालिम पनि त्यसतर्फ अघि बढ्ने एउटा बाटो हो।’

कार्यक्रममा सहभागीको तर्फबाट गीता देवकोटले चुलाचौकामा सीमित महिलालाई उद्यमको बाटोतर्फ अघि बढाउने काममा हौसला पुर्याएको भन्दै आयोजकलाई धन्यवाद दिइन् । कार्यक्रममा राष्ट्रपति महिला उत्थान कोषको सहयोग रहेको छ। 

प्रकाशित: २८ फाल्गुन २०७४ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App