दहचोकका सीताराम पोखरेल नातिलाई स्कुल पुर्यएर फर्कंदै थिए । सडकमा सवारीसाधन र पैदलयात्रुको चहलपहल बढिसकेको थियो । आफ्नै सुरमा हिँडिरहेका पोखरेलको खुट्टामा केहीले काटेझैँ चसक्क गर्याे। फर्केर हेर्दा देखे, कुकुरले उनलाई टोकिसकेछ।
‘चोकमा सधैँ कुकुर बसिरहेका हुन्छन्,’ गत बिहीबार कुकुरले टोकेपछि एन्टिरेबिज खोप लगाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु आएका उनले भने, ‘त्यसैमध्ये एउटा आएर टोकिहालेछ ।’
बिहीबार बिहानै धुम्बाराहीकी शान्ता श्रेष्ठलाई पनि सडकमा हिँडिरहेका बेला अचानक कुकुरले टोक्यो । ‘बाटोमा हिँड्दै थिएँ, कताबाट आयो कताबाट, टोकेपछि मात्र थाहा पाएँ,’ श्रेष्ठले भनिन्, ‘टोकेपछि रेबिजको सुई लगाउन यहासम्म आइपुग्नुपर्याे।’
कुकुरले टोकेमा एकजनाले कम्तीमा चारपटक एन्टिरेबिज खोप लगाउनुपर्छ । यस आधारमा गत साउनदेखि माघसम्म कुकुर, बिराला, स्याललगायत जनावरले टोकेका कम्तीमा १४ हजार पाँच सय बिरामी टेकु अस्पताल पुगेको देखिन्छ । एन्टिरेबिज खोपका लागि अस्पताल पुग्नेमध्ये कुकुरले टोकेका सबैभन्दा धेरै हुने गर्छन् ।
ललितपुर इमालडोलकी तुलसी मिश्रलाई भने आफ्नै घरमा पालेको कुकुरले टोक्यो । घरपालुवा कुकुरले टोके पनि त्यसको कारण भने सडकमा छाडिएका कुकुर नै हुन् । ‘घर अगाडि भुस्याहा कुकुर आए, तिनलाई पछ्याउँदै हाम्रो कुकुर पनि उतै गयो,’ उनले भनिन्, ‘फर्काउनुप¥यो भनेर तानेकी मात्र के थिएँ, टोकिहाल्यो।’
पोखरेल, श्रेष्ठ र मिश्र मात्र होइनन्, आइतबार बिहान ११ बजे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुग्दा कुकुरले टोकेको घाउ बोकेर आउनेको ताँती नै लागेको थियो । जाँच गर्ने चिकित्सकलाई पनि फुर्सद थिएन ।
‘अचेल कुकुरले टोकेका बिरामी अत्यधिक बढेका छन्,’ अस्पतालकी निर्देशक डा. मनीषा रावलले भनिन्, ‘दैनिक नै कुकुरले टोकेका बिरामी आउँछन् ।’ उनका अनुसार पछिल्लो दुई–चार महिनायता कुकुरले टोकेका बिरामी ह्वात्तै बढेका छन्।
‘कुकुरको टोकाइबाट भ्याक्सिन लगाउन अस्पताल आउनेमध्ये ८० प्रतिशत त उपत्यका र आसपासका जिल्लाकै हुन्छन्,’ उनले भनिन्, ‘अन्यत्रबाट पनि रेफर भएर आउने छन् ।’
कुकुरले टोकेका बिरामीलाई टेकु अस्पतालले मात्र गत साउनदेखि माघसम्म करिब ५७ हजार चार सय ३९ पटक एन्टिरेबिज खोप लगाइदिएको छ।
कुकुरले टोकेमा एक जनाले कम्तीमा चारपटक एन्टिरेबिज खोप लगाउनुपर्छ । यस आधारमा गत साउनदेखि माघसम्म कुकुर, बिराला, स्याललगायत जनावरले टोकेका कम्तीमा १४ हजार पाँच सय बिरामी टेकु अस्पताल पुगेको देखिन्छ । एन्टिरेबिज खोपका लागि अस्पताल पुग्नेमध्ये कुकुरले टोकेका सबैभन्दा धेरै हुने गर्छन् ।
अस्पतालका अनुसार हरेक वर्ष कुकुरले टोकेका बिरामीको संख्या पाँच हजारले बढिरहेको छ । दुई–तीन वर्ष अघिसम्म प्रत्येक वर्ष १८ हजारको हाराहारीलाई कुकुरले टोक्ने गरेकामा यो संख्या बढ्दो छ।
टेकु अस्पतालका अनुसार सबैभन्दा बढी साउनमा नौ हजार दुई सय ९६ पटक एन्टिरेबिज खोप लगाइएको थियो । त्यसपछि भने हरेक महिना सात हजारपटकको हाराहारीमा खोप लगाइएको तथ्यांक अस्पतालसँग छ।
माघमा भने आठ हजार तीन सय २८ पटक एन्टिरेबिज खोप लगाइएको छ । फागुन महिनामा पनि आठ हजार पटकभन्दा बढी खोप लगाइदिएको अस्पतालले जनाएको छ।
अस्पतालले निःशुल्क एन्टिरेबिज भ्याक्सिन लगाइदिने गरेको छ । कुकुरले टोकेको मान्छेले पहिलो दिन, तेस्रो दिन, सातौँ दिन र २८ दिनको फरक पारेर चारपटक खोप लगाउनुपर्छ । यसलाई इन्ट्रा ड्रभल(आइडी) भ्याक्सिन भनिन्छ । गत साउनबाट मात्र यो खोप सुरु गरिएको हो । यसअघि भने इन्ट्रा मस्कुलर भ्याक्सिन लगाइदिने गरिन्थ्यो । यो भने पाँचपटक लगाउनुपथ्र्यो।
अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कुकुरको टोकाइबाट खोप लगाउन आउनेमध्ये धेरै उपत्यकाका हुने गरेको बताए । ‘कुकुरले टोक्ने सबै भ्याक्सिन लगाउन आउँछन् नै भन्ने छैन, कतिपयले भने नजिकैको क्लिनिकतिर पनि भ्याक्सिन लगाउँछन्,’ उनले भने, ‘एउटा भ्याक्सिनको मूल्य मेडिकलमा लगाउँदा ६ देखि ८ सयसम्म पर्छ, यहाँ निःशुल्क हुन्छ।’
उपत्यकामा भुस्याहा कुकुर बढेसँगै बिरामी वृद्धि भएको चिकित्सक बताउँछन् । उपत्यकामा छाडा कुकुर बढ्दा कुकुरको टोकाइका बिरामी बढेको निर्देशक डा. रावल बताउँछिन्।
‘उपत्यकामा छाडा कुकुर कति छन् भनेर साँझ–बिहान घर वरपर नियाल्यौँ भने पनि अनुमान लगाउन सक्छौँ,’ उनले भनिन्, ‘यसरी नै कुकुरको संख्या बढ्दै जाने तर नियन्त्रण नगर्ने हो भने अस्पतालले थेग्नै नसक्ने अवस्था नआउला भन्न सकिन्न।’
उनी रेबिज हुन नदिन छाडा कुकुरको संख्या घटाउनेतर्फ लाग्नुपर्ने सुझाव दिन्छिन् । त्यसका लागि काठमाडौं महानगरपालिका र पशु स्वास्थ्य कार्यालय लाग्नुपर्ने उनले बताइन् । अस्पतालका अनुसार कुकुरले टोकेपछि सम्भव भएसम्म चाँडो अस्पताल पुग्नुपर्छ। ‘धेरैले टिटानासक सुई लगाउँछन्,’ डा. रावलले भनिन्, ‘त्यसले मात्रै ढुक्क हुनुहुँदैन, एन्टिरेबिज भ्याक्सिन लगाउनैपर्छ ।’
कतिपयले भने कुकुरको टोकाइलाई बेवास्ता गर्छन्। बेवास्ता गर्नु भनेको रेबिज निम्त्याउनु हो । रेबिज लागेपछि भने उपचार गर्न असम्भव हुन्छ । कुकुरले टोकेपछि सामान्यतः एकदेखि तीन महिनामा रेबिजको लक्षण देखिन थाल्छ।
युवा बढी पीडित
अस्पतालका अनुसार कुकुरले टोक्नेमा बढी युवा छन्। त्यसपछि बालबालिका रहेको पुन बताउँछन् । उनका अनुसार युवा यताउता हिँडिरहने भएकाले पनि धेरै भएको हुन सक्छ । ‘उपत्यकाका गल्ली–गल्लीमा छाडा कुकुर प्रशस्तै देख्न सकिन्छ,’ उनले भने, ‘साँझ–बिहान युवा आवतजावत गरिरहनुपर्ने भएकाले होला, कुकुरले टोक्यो भन्दै भ्याक्सिन लगाउन आउने युवा नै बढी छन्।’
पैदलयात्री, साइकल तथा मोटरसाइकल यात्रीमा कुकुरको टोकाइ बढी पाइएको छ। काठमाडौंमा कुकुरको टोकाइ बढी छ भने रौतहट, सुर्खेतलगायत जिल्लामा स्यालको टोकाइ धेरै पाइएको छ।
कति छन् भुस्याहा कुकुर ?
काठमाडौं महानगरपालिकाभित्र २१ हजार आठ सय ५६ भुस्याहा कुकुर रहेको तथ्यांक छ । २०७३ सालको आँकडा हो । काठमाडौं महानगरपालिका, ह्युमन सोसाइटी इन्टरनेसनल र द जेन गुडल इन्स्टिच्युटले संयुक्त रूपमा कुकुरको संख्याको अध्ययन गरेका थिए । तथ्यांकअनुसार सात हजार चार सय ३१ पोथी कुकुर छन् । एउटा पोथी कुकरले एक सिजनमा १२ वटासम्म बच्चा जन्माउन सक्छ । त्यसका आधारमा हाल यो तथ्यांक बढेको सहजै अनुमान गर्न सकिन्छ।
व्यवस्थापनमा बेवास्ता
महानगरभित्रका छाडा कुकुर व्यवस्थापनमा महानगरले खासै चासो देखाएको छैन । सिंहदरबारभित्र र महानगरको वडा नम्बर– २० मा कुकुर बन्ध्याकरण थालिएको भए पनि त्यो खासै प्रभावकारी भएको छैन ।
‘छाडा कुकुरको आतंक अत्यधिक रहेको मैले पनि बुझेको छु,’ महानगर जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘यसको बारेमा महानगर मात्रै होइन, उपत्यकाका सबै स्थानीय तह मिलेर जानुपर्ने देखिन्छ ।’ उनले कुकुर व्यवस्थापनका विषयमा छलफल अघि बढाइएको जानकारी दिए ।
कुन महिना कति खोप लगाइयो ?
महिना खोप लगाइएको पटक
साउन ९,२९६
भदौ ७,९६१
असोज ७,७६०
कात्तिक ७,४९९
मंसिर ७,८०२
पुस ७,८७८
माघ ८,३२८
फागुन २८ सम्म ८,०००
प्रकाशित: २८ फाल्गुन २०७४ ०६:०१ सोमबार