८ वैशाख २०८१ शनिबार
अन्य

वाह फूल ! खै त सुवास ?

थरीथरी फूल ढकमक्क फुलेको देख्दा कसको पो मन नलोभिएला र ? ती फूलको सुवासमा रमाउन पाउँदा ‘वाह’ नभन्ने को होला र? कंक्रिटको सहर काठमाडौंका केही स्थानमा अचेल ढकमक्क फूल फुलेका छन्। सडक किनाराका यी दृश्य देख्दा धेरैले केही समयका लागि भए पनि काठमाडौंको धुलो र धुवाँ भुल्न पुग्छन्।

वसन्त ऋतु आउनै लागेका बेला उपत्यकाका विभिन्न क्षेत्रमा रातो, सेतो, गुलाबी रङका फूल फुलेको देखिन्छ। फूलका प्रजाति मात्रै नभएर विभिन्न वनस्पति पनि अहिले फुलेका छन्। 

प्रदूषणले गर्दा कतिपय स्थानमा भने फुलेका फूल समेत धुलाम्मे बनेका छन् । फूलका हाँगादेखि कोपिलासम्म धुलाम्मे बनेको देखिन्छ। धुलाम्मे बनेकै कारण हेर्दा मनमोहक देखिए पनि कतिपय फूलको सुवास र सौन्दर्य हराएको छ। उपत्यकाको प्रदूषणका कारण सुगन्ध आउने फूलको समेत सुवास हराएको बताउँछन्, वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ।

‘सबैतिर धुलाम्मे मात्रै छ, भर्खरै कोपिला लागेका फूलमा धुलो टाँसियो,’ उनले भने, ‘मान्छेको के कुरा गर्नु, अहिले उपत्यकामा फूल पनि धुलाम्मे छन्, धुलोका कारण फूलको सुवास हराउन थालेको छ।’ 

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८औँ सम्मेलनका वेला सडकछेउ र पार्कमा रोपिएका फूल भने अहिले सुक्दै छन्, मर्दै छन्। ती फूलको रेखदेख न सरकारले गरिरहेको छ, न त स्थानीयवासीले नै पहल गरेका छन्। 
उपत्यकाका कतिपय स्थानमा भने अझै पनि फूल फक्रिरहेका छन् । फूल फुलेका क्षेत्रमा पैदलयात्रु र उपत्यका घुम्न आउनेले तस्बिर समेत लिइरहेको देखिन्छ । चक्रपथको सिनामंगल क्षेत्र पुग्दा अहिले त्यहाँ राताम्मे फूल फुलेको देखिन्छ। 

अचेल फुलेका प्रायः फूल मौसमी हुन्। उपत्यकाका विभिन्न क्षेत्रमा अहिले मौसमी फूल फुलिरहेको बताउँछन्, कोटेश्वरको पूर्वपट्टि सार्वजनिक जग्गामा मौसमी फूलको स्याहार गर्दै आएका सुन्दर खुलाल।
उनी काठमाडौंका विभिन्न स्थानमा फूल रोप्ने कार्य गर्दै आएका छन्। ‘काठमाडौंका धेरै सडक किनार र बगैँचामा फूल रोप्दै आएको छु,’ उनले भने, ‘यसबापत स्थानीय टोल र सरकारी कार्यालयले केही रकम दिन्छन्।’   

त्यसो त, यो मौसममा उपत्यकाभित्र स्वस्थानी (पहेँलो फूल), गिनी फूल, भ्यागुते फूल, आरूलगायत प्रजाति पनि फुलिरहेका छन्। वनस्पतिविद् श्रेष्ठका अनुसार उपत्यकामा हाल ढकमक्क फुलिरहेका वनस्पतिमा रैथाने प्रजाति मात्रै छैनन्। ‘यहाँका रैथाने प्रजाति भनेका नास्पाती, काँगियो, शिरीष, कपुर, लहरेपीपल लगायत हुन्, यी वनस्पति फुल्ने वेला यही हो,’ उनले भने, ‘पहिले–पहिले कपुर फुल्ने ठाउँमा अहिले टुँडिखेल बनेको छ।’ 

पहिले रैथाने र आगन्तुक वनस्पति फुल्ने स्थानमा अहिले भने घर बनेका छन्। कतिपय स्थानमा सडक बनिसकेका छन्। त्यो देख्दा श्रेष्ठलाई चिन्ता लाग्छ। 

श्रेष्ठका अनुसार आजभन्दा ३० वर्षअघि एक सिजनमा मात्रै फुल्ने फूल पछिल्लो समय दुई सिजन फुल्न थालेका छन्। उपत्यकाको तापक्रम बढ्दै जाँदा त्यसको असर परेर यस्तो भएको हो। श्रेष्ठ फूलसँग मानिसको जीवन जोडिएको बताउँछन्। ‘यसको सुवासले मानिसको जीवनलाई नै सुन्दर बनाएको आभास हुन्छ,’ उनले भने, ‘मानिसको जीवन पनि फूलजस्तै सुगन्धित र सफा हुनुपर्ने तर मन धमिलिँदै छ।’

वसन्त ऋतुमा वनस्पतिले पालुवा फेर्छन्, फूल फुल्छन्। श्रेष्ठका अनुसार उपत्यकामा धुलो र धुवाँ बढी हुँदा त्यसको असर वनस्पतिमा समेत देखिएको बताउँछन्। 

प्रकाशित: २८ फाल्गुन २०७४ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App