coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाको तेस्रो अध्यक्ष बन्दै तिमल्सिना

काठमाडौं – नयाँ संविधान जारी भएपछि गठन भएको राष्ट्रियसभाले १४ वर्षपछि नेकपा एमालेका उम्मेदवार गणेश तिमल्सिनाको नेतृत्व पाउने भएको छ ।
बानेश्वरस्थित संसद् भवनमा राष्ट्रियसभा अध्यक्षका लागि भएको निर्वाचन कार्यक्रममा वाम गठबन्धनका तर्फबाट तिमल्सिनाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध हुने भएका छन् । मंगलबार अपराह्न बस्ने राष्ट्रियसभा बैठकले तिमल्सिनालाई औपचारिक रूपमा निर्वाचित अध्यक्ष घोषणा गर्नेछ।

असोज १८ को शाही कदमपछि राष्ट्रियसभा गठन हुन सकेको थिएन । यसबीचमा एक सदनात्मक (संविधानसभा) अवस्थामा संसद् रह्यो । बहुदलीय व्यवस्था नै ०५६ सालमा मोहम्मद मोहसिन राष्ट्रियसभामा अध्यक्ष भएका उनको कार्याकाल ०५९ सालमा स्वतः सकिएको प्रवक्ता डा. भरतराज गौतमले भने। 

‘लोकतन्त्रको स्थापनापछि राष्ट्रियसभासहितको दुई सदनात्मक व्यवस्था कल्पना गरिएन, संविधानसभा मात्रै रहेको अवस्था भयो,’ गौतमले नागरिकसँग भने, ‘नयाँ संविधानले राष्ट्रियसभा पनि व्यवस्था गरेपछि ०५६ सालपछि आजै पहिलोपटक उम्मेदवारी दर्ता गरिएको हो ।’ उनका अनुसार ०५९ सालसम्म मोहम्मद मोहसिन सभाको अध्यक्षता कायमै रहेको अवस्थामा थिए। 

त्यसभन्दा पहिला नेपाली कांग्रेसका बेनीबहादुर कार्की राष्ट्रियसभाको अध्यक्ष भएका थिए । आइतबार बिहान १० देखि १ बजेसम्म उम्मेदवार दर्ता गराउने कार्यतालिकामा तिमल्सिनाको मात्रै उम्मेदवारी परेपछि राष्ट्रियसभाको अध्यक्ष हुने तेस्रो व्यक्ति हुने भएका छन् । निर्विरोध हुन गइरहेका तिमल्सिनाको प्रस्तावकमा खिमलाल भट्टराई र समर्थकमा सुमनराज प्याकुरेल र दीनानाथ शर्मा रहेका छन्।

यसअघि सत्तारुढ नेकपा एमालेका शीर्ष नेताको बैठकले तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय लिएको थियो । प्रवक्ता डा. गौतमले मंगलबार बस्ने राष्ट्रियसभा बैठकले निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ । ‘उम्मेदवारका प्रस्तावकले निर्वाचित गरियोस् भन्ने धाराणा राखेपछि प्रस्तावकले समर्थन जनाउने छन्,’ प्रवक्ता डा. गौतमले भने, ‘राजनीतिक दलका प्रतिनिधिले धारणा राखिसकेपछि जेष्ठ सदस्यले निर्वाचित भएको घोषणा गर्नुहुनेछ ।’ उनका अनुसार यससँगै राष्ट्रियसभाले ०५९ सालपछि पहिलोपटक निर्वाचित अध्यक्ष पाउनेछ।  

उम्मेदवारी दर्ता गराएपछि तिमल्सिनाले नमूनायोग्य राष्ट्रियसभा बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘कानुन र विधि निमार्ण गर्ने सवालमा सबैको सरसल्लाह र सुझावअनुसार नै काम गर्नेछु,’ तिमल्सिनाले भने, ‘राष्ट्रियसभालाई नमूनायोग्य बनाउने छु ।’ उनले सबै राजनीतिक दललाई समेटेर सहमति र सल्लाहका आधारमा संसद् चलाउने जनाए। 

नेकपा एमालेको नवौं महाधिवेसनबाट पोलिटब्यूरो सदस्यमा निर्वाचित भएका तिमल्सिना पञ्चायतकालदेखि नै राजनीतिमा संक्रिय रहँदै आएका छन् । पर्वत जिल्ला सभापतिमा भइसकेका तिमल्सिनाले २०४२ साल साउनदेखि २०४६ साउनसम्म करिब ४ वर्ष जेल जीवन पनि बिताएका थियो । २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा राम्जा देउराली गाविस अध्यक्ष भएका उनी जिल्ला सभापतिस भएका थिए। 

२०५४ सालमा एमालेको वैकल्पिक केन्द्रीय सदस्य, २०६४ सालको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य र नवौं महाधिवेशनपछि पोलिटब्यूरो सदस्य रहँदै आएका थिए । उनी पार्टीभित्र ओली निकट मानिन्छन्।

प्रदेश नं ४ बाट विजयी तिमिल्सिनाको तुलसीप्रसाद तिमिल्सिना तथा आमा हिरादेवी तिमिल्सिनाको कोखबाट २०१८ साल जेठ १२ गते जन्म भएको हो । राम्जा ठाँटीस्थित पशुपति उच्च माविबाट २०३७ सालमा एसएलसी उत्तीर्ण गरेका तिमल्सिनाले पृथ्वीनारायण क्याम्पस, पोखराबाट व्यवस्थापनमा प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । विद्यार्थीकालमा अखिलबाट राजनीति सुरु गरेका उनी युवा संघको केन्द्रीय सदस्य, मुस्ताङ जिल्ला र बाग्लुङ जिल्लाको सचिवसमेत भएका थिए ।

प्रकाशित: २९ फाल्गुन २०७४ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App