coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘नेप्टे’मा खलनायक दयाहाङ

काठमाडौं– अभिनेता दयाहाङ राईले फिल्म ‘अनागरिक’बाट फिल्मी यात्रा सुरु गरे पनि उनी ‘दासढुंगा’ र ‘लुट’बाट चिनिए। त्यस यता सबै फिल्ममा सकारात्मक भूमिकामा देखिँदै आएका दयाहाङ पहिलोपटक खलचरित्रमा देखिने भएका छन्। फिल्म युनिटले सोमबार सार्वजनिक गरेको ‘नेप्टे’ मा ट्रेलरमा दयाहाङलाई खलपात्रमा प्रस्तुत गरिएको छ।

फिल्मका प्रस्तुतकर्ता तथा नायक रोहित रुम्बाले फिल्ममा दयाहाङको चरित्र नकारात्मक रहेको  पुष्टि गरे । ‘हामीले फिल्ममा दयाहाङ राईको अभिनय छ भनेर प्रचार गर्याैं। तर फिल्मका दुई गीतमा उहाँलाई देखाएनौं । धेरैले मलाई फिल्म युनिटले दयाहाङलाई केमियो चरित्र या अन्य विशेष भूमिकामा देखाएको छ कि भन्ने सोचे,’ रोहितले भने, ‘हामी उहाँको भूमिकालाई लुकाउनै चाहन्थ्यौं। ट्रेलरमा मात्र उहाँको भूमिका देखाउने योजना अनुसार काम गरेका हौं । दयाहाङ राई यही फिल्ममार्फत पहिलोपटक भिलेन चरित्रमा देखिँदै हुनुहुन्छ।’

निर्माता रोहितले फिल्मको स्क्रिप्टअनुसार कलाकार छनौट भएकाले फिल्ममा कलाकार बढी देखिएको बताए । ‘हामीले स्क्रिप्टअनुसार नै कलाकार छनौट गरेका हौं,’ रोहितले भने, ‘त्यसैले फिल्ममा कलाकार धेरै देखिएको हुनसक्छ । तर सबैले राम्रो काम गर्नुभएको छ।’

फिल्मकी नायिका छुल्ठिम डोल्मा गुरुङले आफ्ना अघिल्ला फिल्ममा भन्दा ‘नेप्टे’मा फरक भूमिका रहेको दाबी गरिन् । ‘मैले यसअघि फिल्ममा कस्तो भूमिकामा कस्तो अभिनय गरेको थिएँ त्यो दर्शकले हेर्नुभएकै छ,’ उनले भनिन्, ‘तर नेप्टेमा मेरो भूमिका अघिल्ला फिल्मको भन्दा फरक छ।’

कार्यक्रममा फिल्मका निर्देशक देवकुमार श्रेष्ठ र अभिनेता दयाहाङ राई उपस्थित भएनन्। अभिनेता दयाहाङ आफू अभिनित फिल्म ‘कान्छी’को सोका लागि दक्षिण कोरियामा रहेकाले उनी उपस्थित हुन सकेनन्।

आर रोसफी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, कमलेश बराल, अरुणा कार्की, प्रनिशा सिलवाल र जयकिशन बस्नेतको अभिनय छ । चैत्र ३० गतेबाट प्रदर्शनमा आउने फिल्ममा रोहित रुम्बाको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, रोशन श्रेष्ठको द्वन्द्व, तारा थापा किम्भेको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी र हरि घले लामाको छायांकन छ।

प्रकाशित: २९ फाल्गुन २०७४ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App