coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ठूला चामल उद्योग खण्डहर

बन्द अवस्थामा रहेको कर्णाली राइल मिल।  तस्बिर : योगेश

टीकापुर – कुनैबेला कैलालीको पूर्वी क्षेत्रमा रहेका ठूला चामल उद्योगमा उत्पादन भएको चामल देशभित्र नभई विदेशमा समेत निर्यात हुन्थ्यो ।
नारायणपुर र टीकापुरमा चामल उद्योग सञ्चालन भए पनि भण्डारण भारतको तिकुनीयाँमा हुन्थ्यो । त्यहीँबाट भैरहवा नाका हुँदै चामल नेपाल भित्रिन्थ्यो र खपत हुन नसकेको चामल व्यवसायीले भारतमा बिक्री गर्थे।

तत्कालीन समयमा चामल उत्पादनका लागि कैलालीको पूर्वी क्षेत्र निकै चर्चामा थियो । जिल्लाका प्रायः सबै किसानले धान बिक्रीका लागि यस क्षेत्रलाई नै रोज्थे । जिल्लाभर उत्पादित धान खरिद गर्न पाएपछि चामल उद्योग निकै तीव्र गतिमा चलेका थिए। 

कुनैबेला देशभर नाम चलेका यी सबै चामल उद्योग यतिबेला भने खण्डहरमा परिणत भएका छन् । हाल सशस्त्र द्वन्द्व लगायत विभिन्न कारणले सबैजसो चामल उद्योग बन्द हुन पुगेको व्यवसायी बताउँछन्। 

सशस्त्र द्वन्द्व सुरु भएसँगै विस्थापित भएका व्यवसायी फर्केर नआउँदा उद्योगस्थल खण्डहर बन्न पुगेको व्यवसायीको भनाइ 

हिले एउटा मात्रै मौरानिया चामल उद्योग सञ्चालनमा छ । विगत ३५ वर्षअघि आफ्ना बुवाले स्थापना गरेको यो चामल उद्योग छोरा नारायण गोयलले चलाइरहेका छन् । ‘द्वन्द्व सुरु भएसँगै व्यवसायीहरु विस्थापित भएपछि फर्केर आएनन्,’ उनले भने, ‘व्यवसायीको अनुपस्थितिमा उद्योगस्थल खण्डहर बन्न पुगे।’ 

साविक नारायणपुर गाविसमा रहेका मख्खन बाबु भनेर चिनिने बिरबहादुर राईको दुर्गा राइस मिल, गोविन्द श्रेष्ठको ओखरपुर राइस मिल, शान्तिकुमार अग्रवालको शक्ति राइस मिल र टीकापुर अस्नेरीस्थित कर्णाली राइस मिल देशभरमै चिनिने ठूला चामल उद्योगमा पर्थे । एउटा उद्योगमा एक घन्टामा २० क्विन्टल चामल उत्पादन हुने गथ्र्यो। 

२०४६ को राजनीतिक परिवर्तनपछि उत्पन्न घटनाक्रमले चामल उद्योग बन्द हुन थाले । दुर्गा राइस मिल २०४६ कै आसपासमा बन्द भयो । २०५३ को आसपासमा शक्ति र ओखरपुर राइस मिल बन्द भए । त्यही आसपासमा कर्णाली राइस मिल पनि बन्द हुन पुग्यो । उद्योग बन्द भएसँगै सबै व्यवसायी विस्थापित भए । उद्योगस्थल तत्कालीन विद्रोही माओवादीले कब्जा गरे । त्यहाँ रहेका सबै औजार बिक्री पनि गरे । ‘मिलका सबै सामान कवाडीको भाउमा बिक्री गरे । जमिन कब्जा गरेर खेतीपाती गरे,’ एक स्थानीयले भने, ‘माओवादीले कब्जा नगरेको भए व्यवसायी फर्किने थिए कि ?’

चामल उद्योग सञ्चालन हुँदा यहाँको व्यापार व्यवसाय समेत निकै फस्टाएको थियो । सत्ती बजार उतिबेला अहिलेजस्तो सुनसान थिएन । धान बेच्ने र चामल किन्नेको चहलपहल निकै हुन्थ्यो । अन्य सामान किनमेलका लागि समेत धेरैले सत्ती बजार रोज्थे । चामल उद्योगलाई लक्षित गरेर सत्तीमा राष्ट्रिय वाणिज्य बैंक सञ्चालनमा थियो । जुन सशस्त्र द्वन्द्व बढेसँगै विस्थापित भयो । सशस्त्र द्वन्द्वले यस क्षेत्रको भविष्य नै तहसनहस भएको स्थानीय सन्देश श्रेष्ठ बताउँछन् । ‘सशस्त्र द्वन्द्व नभइदिएको भए अहिलेको अवस्था सिर्जना हुँदैन थियो,’ उनले भने, ‘सायद यो क्षेत्रले त्यो विगत कहिल्यै प्राप्त गर्ने छैन।’

चामल उद्योग बन्द हुनुको कारण सशस्त्र द्वन्द्व मात्रै नभएको कतिपयको भनाइ छ । उनीहरु कर्णाली चिसापानीमा पुल बनेपछि नारायणपुर सत्ती यातायात सुविधाबाट टाढा हुन पुगेको बताउँछन् । पुल बनेसँगै व्यापारीक केन्द्र पूर्व–पश्चिम राजमार्गमा केन्द्रित भयो । धान खरिद बिक्री समेत राजमार्ग आसपासमा हुन थाल्यो । धान खरिद बिक्रीमा कमी आएसँगै चामल उद्योग बन्द हुन पुगेको स्थानीय पहल बस्नेतको भनाइ छ । ‘धान खरिद गर्न नपाएपछि चामल उद्योगको अर्थ नै भएन,’ उनले भने, ‘धान नभएका कारण पनि चामल उद्योग बन्द भएका हुन्।’

टीकापुरको पहाडी जिल्लासँग सोझै यातायात सम्बन्ध नहुनु पनि यी चामल उद्योगका लागि दुर्भाग्य बन्न पुग्यो । सबैभन्दा बढी खाद्यान्न माग हुने पहाडी जिल्ला नै हुन् । ती जिल्लामा अन्यत्रबाट खाद्यान्न ढुवानी हुन थाल्यो । यहाँ उत्पादन भएको चामल पहाडी जिल्लासम्म ढुवानी गर्न महंगो हुन थालेपछि माग हुन छाडेको मौरानीया राइस मिलका सञ्चालक गोयल बताउँछन् । ‘हामीसँग पहाड जोड्ने बाटो छैन,’ उनले भने, ‘कि त अत्तरिया हुँदै कि त कोहलपुर हुँदै ढुवानी गर्नुपर्छ।’

करोडौंका चामल उद्योग खण्डहर बनेपछि व्यवसायीहरु समेत आर्थिक रुपमा चुर्लुम्म डुबेका छन् । चामल उद्योगमा वित्तीय संस्थाले पनि लगानी गर्न छाडेका छन् । व्यवसायीले आफ्नै प्रयासले चामल उद्योग पुनः सञ्चालन गर्नसक्ने अवस्था छैन ।

 

प्रकाशित: २९ फाल्गुन २०७४ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App