६ वैशाख २०८१ बिहीबार
अर्थ

तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत ८ देखि

काठमाडौं – महिला उद्यमी महासंघ, नेपालले  ‘उद्यमी बनौं देशलाई सघाऔं, हटेर होइन डटेर लागौं’ नारासाथ तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ । 

महासंघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी यही चैत ८ देखि १२ गतेसम्म ललितपुरको हेरिटेज भेन्यु गार्डेनमा मेला आयोजना गर्ने जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष शारदा रिजालले अन्तर्राष्ट्रिय महिला उद्यमी मेलालाई भव्य र सभ्य बनाउन सबैको साथ र सहयोग चाहिने बताइन्। ‘मेलाले ग्रामीण उद्यमी महिलाको कला, सीप र क्षमताको प्रवद्र्धन गर्नेछ । सार्क राष्ट्रका उद्यमी महिलासमेत सहभागी हुनेछन्,’ उनले भनिन्, ‘यो वर्षको मेला फरक ढंगले गर्दैछौं । महिला उद्यमीको कला कौशल र क्षमता प्रवद्र्धनका लागि मेला प्लेटफर्म हुनेछ।’

महासघंकी प्रथम उपाध्यक्ष रीता सिमाहाले मेला आयोजना गर्नुको उद्देश्य प्रस्ट पारिन् । विगतको मेलाभन्दा यस वर्षको मेलालाई व्यवस्थित गरिएको उनले बताइन्। उनका अनुसार मेलामा एक सय स्टल रहेका छन्। 

महासंघकी तृतीय उपाध्यक्ष शोभा ज्ञवालीले अन्तर्राष्ट्रिय महिला उद्यमी मेलाको उद्देश्य ग्रामीण महिलालाई स्वाबलम्बी बनाउने रहेको बताइन्। ‘महासंघको अहिले ३० जिल्लामा शाखा छन् । तर, हाम्रो अभियान भनेको सातै प्रदेशका महिलालाई आत्मनिर्भर बनाउने हो । स्थानीय महिलाको जीवन पद्धति र उद्यमशीलताको विकास गरी उद्यमी बनाउने हो,’ तृतीय उपाध्यक्ष ज्ञवालीले भनिन्, ‘महासंघले विभिन्न क्षेत्रमा तालिम सञ्चालन गरिरहेको छ। रोल्पा रुकुममा समेत हामी पुगेका छौं । उनीहरुको समृद्धि नै हाम्रो चाहना हो।’ 

ज्ञवालीका अनुसार स्थानीय महिलाको आर्थिक विकासमा मेलाले प्रभावकारी भूमिका खेल्नेछ । मेलामा देशभरका उद्यमी महिला सहभागी हुनेछन्। महिलाहरु उद्यमी बन्न सकेमात्र समग्र देशको विकासमा टेवा पुग्ने उनको भनाइ थियो।  

मेलामा हस्तकलाका सामान, प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरमा बुन्ने सामान, हाते कागजका वस्तु, काठजन्य वस्तु, खानेकुराको परिकार, गरगहना, सजावटका सामग्री राखिनेछन्।

मेलाले आन्तरिक र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्नुका साथै प्रचारप्रसार, महिला उद्यमीकोे श्रम, सीप र लगानीको पहिचान बनाउने आयोजकले जनाएको छ। 

महासंघकी महासचिव दर्शना श्रेष्ठले मेला आयोजनाबाट नेपाली उद्यमी महिला निर्यातकर्ता र विदेशी आयताकर्ताबीच व्यावसायिक सम्बन्धको विकास हुने बताइन् । मेला संयोजक समेत रहेकी श्रेष्ठले नेपाली महिला उद्यमीलाई न्यूनतम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागी हुने अवसर मिलेको बताइन्। 

मेलाले महिला उद्यमी तथा व्यापारीको व्यावसायिक सञ्जाल तथा पहिचान बढाउनुका साथै विस्तारमा टेवा पुग्नेछ। अन्तर्राष्ट्रिय सम्बन्धित विज्ञ तथा नेपाली महिला उद्यमी र व्यापारीबीच बिटुबी मिटिङ समेत हुनेछ। 

मेलाले महिला उद्यमीद्वारा उत्पादित वस्तुको विविधीकरण तथा स्थानान्तरण गर्न समेत सघाउ पुर्याउने महासंघले जनाएको छ। 

मेलामा सार्क, युरोप लगायत देशबाट ५० जनाभन्दा बढी विदेशी आयातकर्ता आउने अपेक्षा राखिएको छ । मेलामा सहभागी हुने देशमा जर्मनी, चीन, भारत, बंगालादेश लगायत छन् । एक सयवटा स्टल रहने मेलामा महासंघमा आबद्ध उद्यमीलाई २० हजार रुपैयाँ र महासंघमा नरहेकालाई २५ हजार रुपैयाँ शुल्क लाग्नेछ । मेला करिब ५० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । 

यस वर्षको मेलामा पाँच करोड रुपैयाँ बराबरको कारोबार हुने उपाध्यक्ष सिमाहाको विश्वास छ। 

महासंघकी सचिव सुनिता वैद्यले आठवटा सेक्टरका स्टल रहने जानकारी दिइन्। व्यापार प्रवद्र्धन केन्द्र, महिला विभाग, आइएलओ जापान, एफसिए, गिताञ्जलि एसपी इभेन्टको सहकार्यमा मेला आयोजना हुन लागेको हो। 

प्रकाशित: २९ फाल्गुन २०७४ ०५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App