६ वैशाख २०८१ बिहीबार
अर्थ

ठेकेदारको लापरबाहीले सडक धुलाम्मे

निर्माणधीन सडकमा पानी नहाल्दा धुलाम्मे बनेको वीरगन्ज–कलैया–बरियारपुर हुलाकी सडक खण्ड । तस्बिर : नागरिक

बारा – ठेकेदारको लापरवाहीले निर्माणाधिन वीरगन्ज–कलैया–बरियारपुर हुलाकी सडक खण्ड धुलाम्मे बनेको छ। सडक निर्माणका क्रममा बिछ्याइएको माटोमा पानी नहाल्दा उक्त सडक धुलाम्मे भएको हो।

धुलोमय बनेको सडकमा सवारी साधन आवतजावत गर्न नसकिने अवस्थामा पुगेको बारा बस व्यवसायी संघका अध्यक्ष अशोक पौडेलले बताए । सवारी साधनले उडाएको धुलोले चालकलाई सडकको अवस्था देख्न समस्या भइरहेकाले सवारी दुर्घटना समेत हुने गरेको पौडेलले बताए। 

‘मानमत–मटिअर्वा हुलाकी सडक र वीरगन्ज–पथलैयाको ६ लेनको व्यापारिक मार्ग निर्माण भइरहेकोमा ती सडकमा ठेकेदारले पानी हाल्दा धुलो उड्दैन,’ पौडेलले भने, ‘कलैया–वीरगन्ज सडकमा मोटरसाइकल र साइकलमा यात्रा गर्नेले आफैलाई चिन्न नसक्ने अवस्था छ।’

सडकमा धुलो उड्न नदिनका पानी हाल्ने व्यवस्था मिलाइदिन हुलाकी राजमार्ग आयोजना वीरगन्जका प्रमुख अनुठालाल पटेल र स्थानीय प्रहरी प्रशासनलाई पटक पटक भन्दा पनि कुनै सुनुवाइ नभएको पौडेलले बताए। 

हुलाकी राजमार्ग आयोजनाका प्रमुख अनुठालाल पटेलले ठेक्का साकार गरेका ठेकेदार प्रतिनिध सभा सदस्य रहेकाले उनलाई कारवाही गर्ने मेरो अधिकार नरहेको भन्दै पन्छिने गरेको पौडेलले बताए। 
वीरगन्ज उपमहानगरपालिकाको लक्षुमनवा टोल कलैया बजार हुँदै महागढीमाई नगरपालिकाको बरियापुरसम्म २० किलोमिटरसम्मको हुलाकी राजमार्ग निर्माण गर्न सोच्छन्द/पप्पु/हिम सगरमाथा जेभीले ८५ करोड ८५ लाख रुपैयाँमा ठेक्का साकार गरेको आयोजनाका अधिकारीले जानकारी दिएका छन्। 

पप्पु निर्माण कम्पनीका सञ्चालक हरीप्रसाद रौनियार अहिले संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
आयोजना प्रमुख पटेलले बरियारपुर–कलैया–वीरगन्ज हुलाकी राजमार्गका ठेकेदारले सुरुमा सडक निर्माणका क्रममा अपनाउनु पर्ने सर्तहरु नअपनाएको बताए।
उनले ठेकेदार कम्पनीलार्इ सडक निर्माण सम्बन्धि जानकारी दिन ठाउँठाउँमा होर्डिङ बोर्ड नराखेको र खसाइएको माटोमा पानी नहालेकाले कम्पनीलाई थप कारवाही गर्न विभागमा लिखित जानकारी गराउने तयारी गरेको बताए। 

बाराका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धरले निर्माणाधीन कलैया–वीरगन्ज सडकमा पानी नहाल्दा उडेको धुलो नियन्त्रणका लागि दिनहुँ स्थानीयबाट गुनासो आइरहेको बताए।
प्रतिनिधि सभा सदस्य तथा पप्पु निर्माण कम्पनीका सञ्चालक हरिप्रसाद रौनियारले वीरगन्ज–कलैया–बरियारपुर हुलाकी सडकमा धुलो उड्न नदिन सडकमा पानी हाल्न निर्देशन दिएको बताए। अहिले गर्मी समय आएकाले सडकमा पानी हाले पनि छिट्टै सुक्ने गरेको उनले बताए।

प्रकाशित: २९ फाल्गुन २०७४ ०६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App