चितवन – चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा मंगलबार बिहान भएको कार दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धादिङबाट पोखरा जाँदै गरेको बा १२ च ४६१५ नम्बबरको कार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन मलेखु सडकखण्डको चुम्लिङटारस्थित सडक किनारामा आज बिहान ३ बजे भएको दुर्घटनामा परी कारमा सवार धादिङ जिल्ला थाँक्रेका २४ वर्षीय सरोज सुवेदीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको कलेज अफ मेडिलक साइन्सेज भरतपुरमा उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कार चालक धादिङ जुंगेखोलाका २४ वर्षीय अनुप सिंह, बेनिघाटका २१ वर्षीय महेश श्रेष्ठ र धुनिबेँसीका २४ वर्षीय शरद रोक्का घाइते भएका छन । रोक्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। तीनै जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ। (रासस)
प्रकाशित: २९ फाल्गुन २०७४ ०७:३९ मंगलबार