बैतडी– चितुवा प्रभावित क्षेत्र बैतडीको तल्लोस्वराडमा मृत अवस्थामा वयस्क चितुवा फेला परेको छ। मेलौली नगरपालिका–२, नानीगाड खोलाकिनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
चितुवा सडेको अवस्थामा रहेकोले दुई तीनदिन अगाडि नै मरेको हुनसक्ने प्रहरीले जनाएको छ। खोलामा माछा मार्न गएका युवाले मृत चितुवालाई देखेपछि मंगलबार बिहानै प्रहरीलाई खबर गरेका हुन्। प्रहरीले वन कार्यालयलाई खबर गरेको र परीक्षणपश्चात मात्रै चितुवा कसरी मरेको भन्ने थाहा हुने बताइएको छ। चितुवा मृत भेटिएको विषयमा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणबाट धेरैको ज्यान गइसकेको छ भने त्यसै मध्येको चितुवा मरेको हुनसक्ने अनुमान गरिएको छ। चितुवाले २०६८ सालयता २३ जनाको ज्यान लिइसकेको छ। कैयौलाई घाइते बनाएको छ।
प्रकाशित: २९ फाल्गुन २०७४ ०९:३७ मंगलबार